• १३ वैशाख २०८१, बिहिबार

आर्सनललाई हराउँदै सिटी शीर्षस्थानमा

blog

आर्सनलविरुद्ध गोल गर्दै सिटीका ज्याक ग्रेलिस । तस्बिर : एएफपी

काठमाडौं, फागुन ४ गते । चार महिना शीर्षस्थानमा रहेको आर्सनललाई हराउँदै म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ ।

बुधबार राति भएको खेलमा सिटीले आर्सनललाई उसैको मैदानमा ३-१ गोलले हरायो । सिटी नोभेम्बर महिनापछि शीर्षस्थानमा उक्लिएको हो । सिटीको जितमा केभिन डि ब्रुयन, ज्याक ग्रेलिस र अर्लिङ ब्राउट हालान्डले गोल गर्नुभयो । 

आर्सनलका बुकायो साकाले सान्त्वना गोल फर्काउनुभयो । सिटीले २४ओं मिनेटमा ब्रुयनको गोलबाट अग्रता लिएको थियो । उहाँले आर्सनलका रक्षकको गल्तीमा खाली पोस्टमा गोल गर्नुभएको थियो ।

त्यसपछि ४२औं मिनेटमा बुकायो साकाले पेनाल्टीमा गोल गर्दै खेललाई बलाबरीमा ल्याउनुभयो । डिबक्सभित्र सिटीका गोलरक्षक एडर्सन मोराएसले इडवार्ड एनकेइटालाई फल हानेपछि आर्सनलले पेनाल्टीको मौका पाएको थियो । त्यसपछि ग्रेलिसले ७२औं र हालान्डले ८२औं मिनेटमा गोल गर्दै सिटीलाई सजिलै जिताउनुभयो । 

जितसँगै शीर्षस्थान कब्जा गरेको सिटीले २३ खेलबाट ५१ अङ्क बनाएको छ । एक खेल कम खेलेको आर्सनलको पनि ५१ अङ्क छ । आर्सनल गोल अन्तरका आधारमा पछि परेको हो ।  तेस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ४६ अङ्क छ । एजेन्सी