• १६ चैत २०८०, शुक्रबार

सिद्धरत्ननाथ मठमा पिरफिरे मेला

blog

घोराही समाचारदाता

घोराही, फागुन ४ गते ।  दाङको धार्मिक एवं ऐतिहासिक स्थल गोरक्ष पात्रदेवता–सिद्धरत्ननाथ मठ (मन्दिर) चौघेरामा पिरफिरे मेला यस वर्ष पनि लाग्ने भएको छ । हरेक वर्ष फाल्गुण कृष्णपक्षको एकादशीका दिन मन्दिरमा नयाँ मठाधीश (पिर) फेर्ने दिनको अवसरमा मेला लाग्ने गर्छ । पिरफिरे मेलाका अवसरमा मण्डप तथा स्वागतद्वार निर्माण, मन्दिरमा रङरोगन र सरसफाइलगायतका काम भइरहेका छन् ।   

मठाधीशलाई मठको प्रमुखका रूपमा मान्ने प्रचलन छ । मठाधीश भएपछि मन्दिर परिसरभन्दा बाहिर निस्कन नपाउने र दैनिक पूजाआजामा मात्रै सहभागी हुन पाउने व्यवस्था छ । मठाधीश बन्नका लागि ब्रह्मचारी बसेको, कान चिरेको योगी हुनुपर्ने परम्परा रहेको गोरक्ष पात्रदेवता–सिद्धरत्ननाथ मठ चौघेरा व्यवस्थापन समितिका कार्यालय सचिव हीरानाथ योगीले जानकारी दिनुभएको छ । 

उहाँका अनुसार मठाधीश चयनका लागि मठका सञ्चालक, योगीहरू र भद्रभलादमीहरूले दलिचा बैठक गरी चुन्ने परम्परा छ । विक्रम संवत् ८०९ सालदेखि नै पिर स्थापना र मेलाको आयोजना हुँदै आएको उहाँले बताउनुभयो । 

मठाधीशका लागि योगी भेट्टाउनै गाह्रो मठमा प्रत्येक वर्ष परिवर्तन हुने मठाधीशका लागि इच्छा गरेका योगीले कुनै समय बहुमत जुटाउनु पर्थ्याे । मठाधीशका लागि चौघेरा मन्दिरसहित सल्यान, रोल्पा र प्युठानलगायतका विभिन्न स्थानबाट रहेका योगी चौघेरा आउने गर्थे ।

तर पछिल्लो समय मठको मठाधीश बन्नका लागि ब्रह्मचारी बसेको, कान चिरेको योगी (जोगी) भेट्टाउनै समस्या हुने गरेको मन्दिर व्यवस्थापन समितिका सदस्य सचिव हीरानाथ योगी बताउनुहुन्छ । 

“कुनै समय मठाधीश बन्नका लागि प्रतिस्पर्धा हुने गर्दथ्यो । इच्छा गरेको व्यक्तिले समर्थन जुटाउनुपर्ने अवस्था थियो,” उहाँले भन्नुभयो, “पछिल्लो समय नाथ समुदायमा पनि सन्न्यासी बस्ने र कान चिर्नेको कमी हुँदै गयो जसले गर्दा अहिले मठाधीशका लागि नयाँ सन्न्यासी जोगी भेट्टाउनै मुस्किल छ ।” 

विगतमा भइसकेका मठाधीशहरूलाई नै पुनः दोहो-याउने गरेको उहाँले बताउनुभयो । मठाधीशसँगै पुजारी, भण्डारी, सिराने र धुनी योगी बर्सेेनि परिवर्तन गर्ने परम्परा रहिआएको छ । अहिले मठमा १२ जना सन्न्यासी योगी छन् ।