• ७ वैशाख २०८१, शुक्रबार

लालपुर्जा विहीन हुम्लाको मासपुरवासी

blog

राजन रावत

हुम्ला फागुन ४ गते । जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिका– ३ को मासपुर गाउँमा स्थानीयको हातमा पच्चीस वर्षदेखि लालपुर्जा पर्न सकेको छैन । २०५४ सालमा जग्गाको नापी गरेको भए पनि हालसम्म उक्त गाउँका स्थानीयको हातमा लालपुर्जा नपरेको पाइएको हो ।

मासपुरका स्थानीय केशबहादुर रोकायाले जग्गा नापी भएको २५ वर्षसम्म आफ्नो हातमा लालपुर्जा नपरेको बताउनुभयो । उहाँले जग्गा नापी भए पनि आफ्नो नामको लालपुर्जा मालपोत कार्यालयमा भए नभएको कुनै जानकारी समेत नभएको बताउनुभयो । जग्गा उपभोग गरी रहेको भए पनि आफ्नो हातमा कुनै प्रमाण नभए बताउँदै उहाँले जग्गाको प्रमाण आवश्यक परे देखाउन नसक्ने अवस्थामा रहेको बताउनुभयो । प्रमाण हातमा नभएको कारण व्यवहारिक रूपमा उपभोग गरेको जग्गा आफ्नो भए पनि कानुनी रूपमा त्यो भन्न नमिल्ने  अवस्था छ । 

उक्त गाउँका वडा सदस्य धनबिरे रोकायाले नापी भएको जग्गाको लालपुर्जा मालपोत कार्यालयमा भएको जानकारी आफूलाई आए पनि स्थानीय सिमकोट पुगेर लालपुर्जा लिन सक्ने अवस्थामा नरहेको बताउनुभयो । उहाँले मासपुरबाट सिमकोट आई पुग्न चार दिन पैदल लाग्ने भएको कारण पनि लालपुर्जा लिनका लागि स्थानीयले आनाकानी गरिहेको बताउनुभयो । उहाँले धेरै जसो जग्गा धनी वृद्ध, महिला र अपाङ्ग भएको कारण हालसम्म सदरमुकाम सिमकोट पुगेर लालपुर्जा ल्याउन नसक्ने अवस्था रहेको बताउनुभयो । 

मासपुरवासीले लालपुर्जा लिन शारीरिक कष्टका साथै आर्थिक व्ययभार पनि गर्नुपर्ने अवस्था रहेको छ । गाउँवासी सबै सिमकोट पुगेर लालपुर्जा लिन जान सक्ने अवस्था नरहेको कारण उहाँले मालपोत कार्यालयमा भएको लालपुर्जा गाउँमै वितरण गर्ने व्यवस्था गर्न कार्यालय र गाउँपालिकालाई अनुरोध गर्नुभयो । उहाँले गाउँवासीमध्ये एक जनाको हातमा मात्र लालपुर्जा रहेको बताउँदै अरू गाउँले लालपुर्जा बिनाका जग्गा धनी रहेको बताउनुभयो ।

लालपुर्जा नभएकै कारण मास पुरवासी अनुदानका कार्यक्रमबाट समेत वञ्चित हुँदै आउनुभएको छ । उहाँले एकातिर कुनै विकासे कार्यालयबाट अनुदानका लागि प्रस्तावना खुल्दा जानकारी नहुने र भइहाले पनि लालपुर्जा नभएको कारण प्रस्ताव पेस गर्नै नपाउने बताउनुभयो । अर्को कुरा जग्गाको किनबेच गर्नुपर्ने अवस्था आएपछि व्यवहारिक रूपमै बिक्री गर्ने गरिएको छ । किनेको मानिसले जग्गाको प्रमाण बिनै पनि जग्गा उपभोग गर्नुपरिरहेको छ । 

मालपोत कार्यालयका प्रमुख रवीन्द्र शाहीले मास पुरवासीको कार्यालयको लिखतमा जग्गा नापी भएको देखिए पनि एक जना बाहेक अन्य कुनैले लालपुर्जा नलिएको बताउनुभयो । उहाँले मोठ र स्रेस्ता नापी भएकै बेलाको भए पनि लालपुर्जा लिन कोही नआएको कारण मास पुरवासी जग्गाको प्रमाणविहीन देखिएको बताउनुभयो । उहाँले मासपुरवासी आए जतिखेर पनि लालपुर्जा दिन सकिने भए पनि उहाँहरू कोही पनि नआएको बताउनुभयो ।