• ७ वैशाख २०८१, शुक्रबार

रारा आउन छाडे पाहुना चरा

blog

मुगु समाचारदाता

मुगु, फागुन ४ गते । रारातालमा हरेक वर्ष आउने साइबेरियन चरा पछिल्लो समय घट्दै गएको छ। जलवायु परिवर्तनका कारणले रारातालमा साइबेरियन चरा आउन छाडेको जानकारहरू बताउँछन्। रारा राष्ट्रिय निकुञ्ज कार्यालय रारा हुटुका अनुसार पानीमा खेल्ने ४९ प्रजातिका साइबेरियन अन्डिया जातका चरा हिउँदको समयमा बसाइँसराइ गर्थे। 

रारा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख विश्वबाबु श्रेष्ठले रारातालमा पछिल्लो समयमा साइबेरियन अन्डिया जातका पानीमा खेल्ने ती प्रजातिका चराको कमी आउन थालेको बताउनुभयो। रारामा जलवायु परिवर्तनको तामक्रमको असरले यहाँ साइबेरियाको कमी आएको उहाँको दाबी छ। 

छायानाथ रारा नगरपालिका–९ मुर्मागाउँका स्थानीय नन्दसिं रोकायाले हिउँदको समयमा रारातालको पानीमा खेल्ने हाँस प्रजातिका चरा देख्न पाइने भए पनि पछिल्लो समयमा ती प्रजातिका चरा देखिन छाडेको बताउनुभयो। बसाइँसराइ गर्ने प्रजातिका चरामा किन कमी आउन थालेको हो भनेर  रारा राष्ट्रिय निकुञ्जको कार्यालयले अध्ययन गर्नुपर्ने उहाँले बताउनुभयो।

राराताललाई सिमसार क्षेत्र घोषणा गरेको वर्षौँ बितिसक्दा पनि रारातालमा अहिलेसम्म कति प्रकारका चरा छन् भन्ने जानकारी नै छैन। निकुञ्जको कार्यालयले अहिलेसम्म चरा गणना हुन नसक्दा जिल्लाभित्र र जिल्लाबाहिरबाट भ्रमण गर्न आउने अवलोकनकर्ताले चराको यकिन जानकारी पाउन सकेका छैनन्।