• ४ वैशाख २०८१, मङ्गलबार

भवन बनेपछि प्रहरीलाई सेवा प्रवाहमा सहज

blog

तनहुँ समाचारदाता

तनहुँ, फागुन ४ गते । जिल्ला प्रहरी कार्यालय तनहुँको तीनवटा सुविधासम्पन्न भवन बनेपछि सेवा प्रवाहमा सहजता भएको छ। पुरानो र जीर्ण भवनबाट सेवा प्रवाह हुँदै आएकोमा अब सुविधासम्पन्न नयाँ भवनबाट प्रहरीको कामकारबाही सञ्चालन हुने जनाइएको छ।

प्रहरी कर्मचारीका लागि ब्यारेक, मेस र हिरासतका छुट्टाछुट्टै तीनवटा भवन बनेसँगै आमनागरिकको शान्तिसुरक्षा प्रदान गर्न सहज भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अवदेश विष्टले जानकारी दिनुभयो। 

सरकारको सहयोगमा तीनवटा भवन तीन करोड ४६ लाख पाँच हजार १६५ रुपियाँको लागत सम्पन्न भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। नवनिर्मित तीनवटै भवनको प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंहले उक्त भवनको उद्घाटन गर्नुभयो। प्रहरी सेवालाई चुस्त दुरुस्त आधुनिक र प्रभावकारी बनाउन प्रहरी प्रधान कार्यालय लागि परेको उहाँले बताउनुभयो।

नागरिक सुरक्षित भए मात्रै प्रहरीका लागि गौरवको विषय हुने भएकाले सेवा चुस्त दुरुस्त बन्नुपर्नेमा उहाँले जोड दिनुभयो। गुणस्तरीय प्रहरी सेवा प्रदान गर्नका लागि प्रहरीको भौतिक संरचना विस्तार गर्दै लैजानुपर्ने आवश्यकता रहेको छ। 

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जिल्ला प्रहरी कार्यालय परिसरमा यातायात मजदुरले ठूलो लगानी गरेर बनाएको चालक थुनुवा गृह नयाँ भवन बनाउने क्रममा भत्किएकाले पुर्ननिर्माण गरिनुपर्ने बताउनुभयो। नगरप्रमुख न्यौपानेले सशस्त्र प्रहरीगण २० किलो मिटर टाढा भएकाले गणको एक युनिटनजिक राख्न आवश्यक रहेको बताउनुभयो। 

गण्डकी प्रदेश पोखराका प्रहरी नायब महानिरीक्षक बुद्धिराज गुरुङले नेपाल प्रहरीको भौतिक संरचना जे–जस्तो भए पनि नेपाल र नेपाली जनताको शान्ति सुरक्षामा कटिबद्ध भएर लागेको बताउनुभयो ।