• ७ वैशाख २०८१, शुक्रबार

पोखरामै छैनन् आधुनिक दमकल

blog

रमेश पौडेल 

पोखरा, फागुन ४ गते । १० दिनअगाडि मुस्ताङको थासाङ गाउँपालिका–३, लेते कालोपानीमा आगो लागेपछि नियन्त्रण लिन हम्मेहम्मे प-यो। आगो निभाउने दमकल जान सक्ने मार्ग नहुँदा आगो नियन्त्रण लिन समस्या भएको भनाइ अग्नि नियन्त्रकहरूको छ। 

त्यसको पाँच दिनपछि प्रदेश राजधानी पोखराको ‘लेकसाइड प्वाइन्ट सेल्वेज बिल्डिङ’मा दिउँसो आगो लाग्यो। सो आगो नियन्त्रणमा लिन दुई घण्टा लाग्यो।  आगोलागी भएको १० मिनेटमै प्रहरी पुग्यो, दमकल नआउने बेलासम्म कुरेरै बस्नु प-यो। नेपाली सेना र नेपाल प्रहरीमा प्रकोप नियन्त्रण गर्न फायर फाइटर (अग्नि नियन्त्रक)को पनि व्यवस्थापन गरिएको छ। 

तर, समयसापेक्ष आधुनिक उपकरण नहुँदा आशा गरेअनुरूप सफलता भने हात नलाग्ने गरेको अग्नि नियन्त्रक सुरक्षाकर्मी बताउँछन्। सो व्यावसायिक भवनभित्र झन्डै डेढ दर्जनभन्दा बढी व्यवसायी रहेका थिए।  भवनमा क्षति कम भए पनि व्यवसायीका सामान नष्ट हुँदा कतिपय व्यवसायी विक्षिप्त छन्। आगलागीबाट १० देखि १२ करोड रुपियाँको क्षति भएको अनुमान गरिएको छ। 

कोरोनाबाट तङ्ग्रिएर नयाँ पर्यटकीय यामको पर्खाइमा बस्नुभएका नासा ट्रेकिङ सपका अग्नि कँडेलको मात्र तीन करोडभन्दा बढीको क्षति भएको छ। त्यसैगरी सेल्वेज, मसलाबिच, जसरी क्याफेलगायतका सञ्चालकले पनि एक करोडभन्दा बढी क्षति भएको दाबी गरेका छन्। 

स्थानीय प्रहरी, सेना र महानगरको टोलीलगायतले आफ्नो क्षमताअनुरूप काम गरे, यसलाई दोष दिने ठाउँ छैन तर उपयुक्त र समयसापेक्षका सामान भएकाले क्षति धेरै भएको अनुमान गरिएको छ। 

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी “व्यवसायीको आर्थिक क्षति हुँदा आँखाले देखे पनि प्रत्यक्ष रूपमा क्षतिपूर्ति दिन नसकिने कानुनी व्यवस्था रहेको” बताउनुहुन्छ। 

बढ्दो सहरीकरण र पोखराको जनघनत्वअनुसार आगो नियन्त्रणका लागि आधुनिक दमकल ल्याउनुपर्ने पश्चिम पृतनाका पृतनापति दीपककुमार बानियाँ बताउनुहुन्छ।

पोखरामा महानगरपालिकाले १० तलाभन्दा बढीका अपार्टमेन्ट निर्माणका लागि स्वीकृति दियो र निर्माणसमेत भइरहेका छन् तर यस्तो भवनमा आगलागी भयो भने पोखरा महानगरपालिकासँग पुरानो प्रविधिबाहेकको विकल्प छैन।

पोखरा महानगरका दमकल सहायक प्रमुख रामजी केसी भन्नुहुन्छ, फोमसहितको हाइड्रोलिक भ-याङयुक्त आधुनिक दमकल आवश्यक पर्छ। महानगरमा प्रवक्ता मोतीराम तिमिल्सिनाले यसबारेमा महानगरको सोच भए तापनि प्रक्रिया अझै अघि नबढेको बताउनुभयो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा महानगरसँग भएकोभन्दा आधुनिक दमकल छन् तर अग्ला भवनमैत्री छैनन्। एयरपोर्टबाट बाहिर निकाल्दा प्रक्रिया झन्झटिलो पनि छ। विमानस्थलका प्रमुख विक्रमराज गौतमले भन्नुभयो, पानी, फोम र धुलोसहित प्रयोग गर्ने प्रविधिको दमकल रहेकाले हवाईजहाजबाहेक अन्यमा प्रयोग गर्न उपयुक्त छैनन्।  नेपालको हरेक सहरमा आगलागीका घटनाहरू दिन प्रतिदिन हुने गरेका छन्। तर, आगो नियन्त्रण गर्ने उपकरणहरू व्यवस्थापन भएको छैन। पोखरामा सहरीकरण बढ्दो छ, बस्ती बाक्लिएका छन्, सडक साँघुरा बन्दै गएका छन्, एम्बुलेन्स र दमकललाई समेत बाटो अभाव भएको प्रहरी अधिकारीको भनाइ छ।