• १६ चैत २०८०, शुक्रबार

डङ्गोलको चित्रकला प्रदर्शनी

blog

काठमाडौँ, फागुन ४ गते । ‘खुर्सानी’लाई विम्बका रूपमा प्रयोग गर्दै कला सिर्जनामा रमाउने कलाकार सरिता डङ्गोल पुनः कलापारखीसमक्ष आउनुभएको छ। 

पाटन, कोबहाल नेवाः छेँमा कलाकार डङ्गोलका अनेक भाव र सन्देशयुक्त चित्रकलाको प्रदर्शनी चलिरहेको छ। प्रदर्शनीमा राखिएका चित्रले कोभिड–१९ ले पारेको असरबारे पनि बयान गर्छ। नेपाललगायत विश्वभर नै कोभिड फैलिएका बेला हरेक घरका ढोका बन्द थिए, बाहिर कोरोना भाइरसका कीटाणु सल्बलाइरहेका थिए। यसले हरेक घरका भान्छा पनि प्रभावित रहेको चित्रमा देख्न सकिन्छ।

चित्रले खुर्सानीका हरियो, पहेँलो, रातो, कालो रङ; सुकाउने विधि, उपयोगिता र महत्वका कथा पनि बोल्छ। कलाकार डङ्गोल भन्नुहुन्छ, “म प्रकृतिप्रेमी पनि हुँ, प्रकृतिका अनेक वरदानमध्ये मैलै खुर्सानीको आकर्षण; तरकारी, अचारलगायतमा यसको उपयोगले बढाउने स्वाद; बढी भए सबैलाई अत्याउने तर नभई पनि नहुने अति संवेदनशील पदार्थका रूपमा पाएँ। यही नै मेरो चित्रकारिताको विषय बन्यो।” प्रदर्शनी फागुन २१ सम्म चल्नेछ।