• १३ वैशाख २०८१, बिहिबार

स्कटल्यान्ड क्रिकेट लिग–२ च्याम्पियन

blog

काठमाडौँ, फागुन ४ गते । प्रारम्भिक ब्याट्सम्यान जर्ज मुन्से विस्फोटक अविजित शतकीय पालि खेलेपछि स्कटल्यान्डले बुधबार नामिबियालाई सजिलै १० विकेटले हराएर आईसीसी विश्वकप क्रिकेट लिग–२ च्याम्पियन बनेको छ।

स्कटल्यान्ड तीन खेलअघि नै च्याम्पियन बनेको हो। आईसीसी विश्वकप क्रिकेट लिग–२ मा एक टिमले ३६ खेल खेल्नुपर्ने प्रावधान छ। स्कटल्यान्डले ३३ खेलमा २३ मा जित र आठमा हारसहित ४८ अङ्क बनायो। अब अन्य छ टिमले पछाडि पार्न नसक्ने स्थिति बनेपछि शीर्ष स्थानमा रहेको स्कटल्यान्डले उपाधि जितेको हो। ३६ खेल खेलेको ओमानले ४४ अङ्क बनाएको छ। तेस्रो स्थानमा रहेको नामिबियाले ३२ खेलमा ३७ अङ्क बनाएको छ। नेपाल २५ खेलमा नौ जित १४ हारसहित २० अङ्कमा छ। सात टिम सम्मिलित विश्वकप क्रिकेट लिग–२ मा नेपाल छैटौँ स्थानमा रहेको छ।

त्रिवि क्रिकेट मैदानमा चालू त्रिदेशीय शृङ्खलामा लगातार दोस्रो पटक टस हारेर पहिले ब्याटिङ गर्न बाध्य नामिबिया ३९.२ ओभरमा १५३ रनमा अलआउट भएको थियो। माइकल लिस्कले चार तथा सफ्यान सरिफ र मार्क वाटले तीन–तीन विकेट लिएपछि नामिबियाको पालि धराशायी भएको हो। प्रारम्भिक ब्याट्सम्यानले सर्वाधिक ५४ रन बनाए पनि अन्य शीर्ष ब्याट्सम्यान असफल भएपछि नामिबिया एक समय ९५ रनमा छ विकेट गुमाएको थियो। पुछारका ब्याट्सम्यान बे्रन्डन स्कल्टले ३० रन बनाएर नामिबियालाई सम्मानजनक स्कोरतर्फ पु-याउनुभएको हो।

स्कटल्यान्डले लक्ष्य २२.१ ओभरमा बिनाविकेट गुमाएर १५७ रनमै हासिल ग-यो। मुन्सेले ६१ बलमा १२ चौका र सात छक्कासहित १०३ रन बनाउनुभयो। मुन्सेले अन्तिम बलमा चौका प्रहार गरेर स्कटल्यान्डलाई जित दिलाउँदै आफ्नो शतक पूरा गर्नुभएको हो। मुन्से नै म्यान अफ दी म्याच घोषित हुनुभयो। अर्का प्रारम्भिक ब्याट्सम्यान काइल कोयत्जर पनि ७२ बलमा ४६ रन बनाएर आउट हुनुभएन। उहाँको पालि सात चौका सामेल थियो।

यस शृङ्खलाअन्तर्गत तेस्रो खेल नेपालले शुक्रबार स्कटल्यान्डविरुद्ध खेल्नेछ।