• ८ वैशाख २०८१, शनिबार

मुद्रास्फीति अपेक्षा सर्वेक्षण सार्वजनिक

blog

काठमाडौँ, फागुन ४ गते । अधिकांश उपभोक्ताले आगामी एक वर्ष मूल्य वृद्धि हुने अनुमान गरेको पाइएको छ । नेपाल राष्ट्र बैङ्कले गरेको मुद्रास्फीति अपेक्षा सर्वेक्षणअनुसार ९२ दशमलव ३० प्रतिशतले आगामी एक वर्ष मूल्य वृद्धि हुने अपेक्षा गरेको जनाएका हुन् । 

त्यस्तै सर्वेक्षणमा समेटिएका ८४.३ प्रतिशत उपभोक्ताले भने आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा रहेको प्रतिक्रिया दिएका हुन् । 

सर्वेक्षणअनुसार आगामी तीन महिना र एक वर्षमा मूल्य वृद्धि हुने अपेक्षा गरेका उपभोक्ताको हिस्सा गत असोजको तुलनामा भने केही घटेको छ । यद्यपि सर्वेक्षणमा भाग लिएको ठूलो सङ्ख्या भने मूल्य वृद्धि हुने मान्यता राख्छ । 

खाद्य तथा यसअन्तर्गतका उपसमूहमा पर्ने माछा, मासु, दूध, घिउ र तेल तथा रेस्टुरेन्टबाहेक सबै उपसमूहमा अबको तीन महिनामा मूल्य वृद्धि हुने धेरैको अपेक्षा छ । 

यस्तो सङ्ख्या गत असोजको तुलनामा बढेको छ । एक वर्षभित्र यो समूहको मूल्य वृद्धि हुने अपेक्षा गर्नेको सङ्ख्या भने असोजको तुलनामा केही घटेको छ । गैरखाद्य वस्तु तथा सेवा र घरजग्गा समूहमा अबको तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्नेको सङ्ख्या पनि असोजको तुलनामा घटेको छ ।   

तुलनात्मक रूपमा तीन महिनापछि र एक वर्षपछि मूल्य वृद्धि हुन सक्ने अपेक्षा गर्नेको मध्यक भने करिब समान रहेको छ । यद्यपि तीन महिनापछिको औसत र एक वर्षपछिको औसत मूल्य वृद्धि अपेक्षा गर्नेको सङ्ख्या भने घटेको सर्वेक्षणले देखाएको छ ।

राष्ट्र बैङ्कले गत पुस २४ देखि पुस ३० गतेसम्म यस्तो सर्वेक्षण गरेको थियो । सर्वेक्षणमा ६० वटा बजार क्षेत्रका दुई हजार १० व्यक्तिसँग अन्तर्वार्ता गरिएको थियो ।