• ६ चैत २०८०, मङ्गलबार

हिल्सा नाका सञ्चालनमा ल्याउन माग

blog

हुम्ला समाचारदाता

हुम्ला, फागुन ४ गते । नेपाल र चीनको व्यापारिक नाका हिल्सालाई सञ्चालनमा ल्याउन हुम्लावासीले माग गरेका छन् । व्यापार व्यवसाय गर्न, रोजगारीका लागि जान र पर्यटन प्रवद्र्धन गर्न जिल्लावासीले उक्त नाका सञ्चालनमा ल्याउन माग गरेका हुन् । 

सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले हुम्लावासीका लागि मात्र नभएर कर्णाली प्रदेश र सिङ्गो देशकै लागि महत्व राख्ने नेपाल र चीनको सीमानाका हिल्सालाई दुईतर्फी सञ्चालन गर्न नेपाल सरकारसँग माग गर्नुभयो । 

२०७६ सालमा सुरु भएको हिल्सा नाका कोरोना महामारीपछि बन्द हुँदै आएको छ । उहाँले नाका बन्द हुँदा दुई हजारभन्दा बढी जिल्लावासीले प्रत्येक वर्ष रोजगारी गुमाउँदै आएको, मानसरोवर कैलाशको दर्शन गर्ने धार्मिक पर्यटक आउन छोडेको र व्यापार व्यवसायसमेत ठप्प भएका कारण आउँदो सिजनबाट नाका सञ्चालन हुने गरी पहल गर्न माग गर्नुभयो । 

उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष रामबहादुर भण्डारीले सरकारले हिल्सा नाका तत्काल खुलाउन पहल गर्नुपर्ने बताउनुभयो । अझै पनि उत्तरी हुम्ला राष्ट्रिय सडक सञ्जालसँग नजोडिएका कारण स्थानीयवासी महँगोमा प्रत्येक सामान प्रयोग गर्न बाध्य रहेको बताउँदै उहाँले सो नाका सञ्चालन भए उपभोग्य सामग्री, विकास निर्माणका सामान र इन्धन सुपथ मूल्यमा प्राप्त हुने बताउनुभयो । उहाँले वर्षौंअघिदेखि हुम्लावासीले छ महिनाका लागि रोजगारी गर्न चीनको ताक्लाकोट जाने अवसरबाट वञ्चित हुनु परेको बताउँदै नाका बन्दका कारण जिल्लावासीले घाटा बेहोर्नु परेको बताउनुभयो । 

नाम्खा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुर शाहीले नाम्खावासीको धेरै कुरा हिल्सा नाकासँग जोडिएको चर्चा गर्दै यो नाका बन्दले विकास निर्माण काम र दैनिक उपभोग्य सामान महँगो भएको बताउनुभयो । 

नाम्खा गाउँपालिकाका वडा नं. ३, ४, ५ र ६ का बासिन्दा पूर्ण रूपमा चीनबाट आयात हुने सामानमै भर पर्नु परेको विगत छ । नाका सञ्चालनका लागि पटकपटक नेपाल सरकारसँग पहल गर्न माग गरिएको स्मरण गर्दै उहाँले यसप्रति अहिले चिनियाँ पक्ष केही लचिलो देखिएका कारण त्यसको फाइदा उठाउनुपर्ने बताउनुभयो । 

२०७२ को भूकम्पपछि तातोपानी नाका बन्द हुँदा पाँच वर्षमा ३० हजार भारतीय धार्मिक पर्यटकले हिल्साबाट मानसरोवर कैलाशको दर्शन गरेका थिए । हिल्सामा निर्माण भई सञ्चालनमा आएका एक दर्जन होटल हाल बन्द छन् । तीन वर्षमा छ हजारभन्दा बढी हुम्लावासीले रोजगारीसमेत गुमाउनु परेको छ । यसबाट जिल्लावासीले तीन करोड रुपियाँभन्दा बढीको आम्दानी गुमाउनुपरेको छ । 

गत पुस १३ गतेबाट निश्चित समयका लागि एकतर्फी रूपमा चीनले नाका सञ्चालन गरेपछि दैनिक उपभोग्य सामान र निर्माण सामग्री नेपाल आयात भएको थियो ।