• १३ वैशाख २०८१, बिहिबार

‘रि–रुट’को समस्या अन्त्य

blog

नवराज कट्टेल

विराटनगर, फागुन ४ गते । विराटनगर भन्सार कार्यालयदेखि चार किलोमिटर दक्षिण भारतको मिरगञ्जस्थित परमान नदीको पुल सञ्चालनमा आएको छ । 

डेढ महिनाअघिदेखि भारतबाट आउने मालवाहक सवारीसाधन आवातजावत भइरहे पनि भारतीय पक्षले शुक्रबार औपचारिक निर्णय गरेपछि तेस्रो मुलुकबाट आयात गरिएका मालवस्तु बोकेका सवारी साधनसमेत सो पुलबाट आवातजावत गर्न पाउने भएका हुन् । 

विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी परशुराम दाहालले पुल सञ्चालनमा आएसँगै रि–रुट गरी भन्टाबारी सुनसरी हुँदै भित्रिने मालवाहक सवारीसाधन निर्बाध आउन थालेको जानकारी दिनुभयो । 

भारतीय कस्टम विभागले शुक्रबार एक सूचना जारी गर्दै मिरगञ्जस्थित परमान नदीको पुलबाट मालवस्तु बोकेका सवारीसाधन आवतजावत गरिने जनाएको थियो तर डेढ महिनाअघिदेखि नै अनौपचारिक रूपमा उक्त पुल दुईतर्फी सञ्चालनमा आएको थियो । 

दाहालले अनौपचारिक रूपमा आवतजावत सञ्चालन भएको पुल शुक्रबारदेखि औपचारिक सञ्चालनको बाटो खोलिए पनि अहिलेसम्म कुनै आधिकारिक परिपत्र भने भन्सार कार्यालयमा नआएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सुनसरी भन्टाबारी नाकाको रि–रुट भने पूर्ण रूपमा ‘डाइभर्ट’ आईसीपी भइसकेको छ ।” 

१४ महिनाअघि मिरगञ्ज पुल भत्किएपछि विराटनगरस्थित आईसीपीको दक्षिण चार किलोमिटर दूरीमा आएका मालवाहक सवारीसाधन रि–रुट गरी भन्टाबारी हुँदै ११६ किलोमिटर पार गरेर भन्सार कार्यालय आउने गरेका थिए । 

विराटनगरका उद्योगी व्यवसायीले लामो समयदेखि निर्माण सम्पन्न भएको पुल सञ्चालनका लागि आग्रह गर्दै आएका थिए तर भारतीय पक्षले निर्माण भएको पुल लामो समयसम्म सञ्चालनमा नल्याउँदा भारत तथा तेस्रो मुलुकबाट नेपालमा पैठारी गरिँदै आएको मालवस्तु तथा निकासीका लागि जाने मालवस्तु भन्सार परीक्षण गराउन सुनसरीको बाटो भएर भित्रिने गरेको थियो । निकासी हुनुपर्ने वस्तुसमेत भन्सार जाँचपछि फर्किएर सुनसरी भएर जानुपर्ने बाध्यता थियो । 

भारतको पटनास्थित कस्टम विभागले शुक्रबार सूचना जारी गरी नयाँ मिरगञ्ज पुल सञ्चालनमा आएको र त्यसबाट मालवाहक सवारीसाधन आवतजावत गर्ने अनुमति दिइएको थियो । 

यसअघि भारतको जोगबनीस्थित ल्यान्ड कस्टम र आईसीपीबीचको समन्वयमा आंशिक मात्रै मालवाहक सवारीसाधन आवतजावत हुँदै आएका थिए । मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले लामो अवधिपछि पुल सञ्चालनमा आउँदा केही राहत मिलेको बताउनुभयो । जोगबनी नाकाबाट मालवाहक सवारीसाधन आउजाउ रोकिँदा सुनसरीको भन्टाबारी नाकाबाट रि–रुटका क्रममा एक कन्टेनरको १६ हजार रुपियाँ अतिरिक्त ढुवानी भाडा व्यवसायीले बेहोर्नु परेको अध्यक्ष रिजालको दाबी छ । एक वर्षमा व्यवसायीले ११ करोड ५२ लाख रुपियाँ बराबरको अतिरिक्त ढुवानी भाडा बुझाएको रिजालले बताउनुभयो ।