• ८ वैशाख २०८१, शनिबार

बचत फिर्ता दिन नसकेपछि सहकारी बन्द

blog

विष्णुप्रसाद पोखरेल

दमक, फागुन ४ गते । तुलसी बहुमुखी सहकारी संस्थाले झापाको दमकमा सञ्चालन गरेको सेवा केन्द्र र डिपार्टमेन्ट स्टोर बन्द गरेको छ । 

मोरङको विराटनगरमा मुख्य कार्यालय रहेको सो सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि सेवा बन्द गरेको जनाइएको छ । अन्य सहकारी संस्थाले दिएकोभन्दा उच्च ब्याज दिएर दमकबाट सङ्कलन गरेको ठूलो रकम अहिले जोखिममा परेको छ । 

कतिपय बचतकर्तालाई रकम फिर्ता लिन बोलाएको भए पनि बिहानै सूचना टाँस गरेर कर्मचारी हिँडेपछि बचतकर्ता अन्योलमा परेका छन् । सहकारीको डिपार्टमेन्टल स्टोर तथा सेवा केन्द्र अगाडि भेला भएका बचतकर्ताले आफ्नो चेक देखाउँदै आफूहरूलाई बोलाएको बताए । सो सहकारी संस्थाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि संस्थाबाट प्रदान गरिने सेवा प्रदान गर्न नसक्ने जनाएको छ । 

सो सहकारी संस्थाले चारदेखि पाँच वर्षसम्ममा दोब्बर रकम दिने भनेर बचतकर्ताबाट रकम लिएको थियो । “पाँच वर्षमा दोब्बर दिन्छौँ भनेका थिए र पाँच वर्ष भएपछि लिन आउँदा आज आयो भोलि भन्छन्, भोलि आयो पर्सि भन्छन् तर आज त कार्यालय नै बन्द गरेर हिँडेछन्,” एक महिलाले भन्नुभयो । आफूले मुद्दती खातामा रकम राखेको पाँच वर्ष पुगेपछि मात्र आफू बचत फिर्ता माग्न आएको उहाँले बताउनुभयो ।

दुई वर्षअघिदेखि सो सहकारी संस्थाले आफ्नै भवनमा डिपार्टमेन्ट स्टोर र सेवा केन्द्र चलाउँदै आएको थियो । सो सहकारी संस्थाले दमक आसपासमा जग्गा खरिद तथा उद्योग सञ्चालन गर्दै आएको पनि पीडितको दाबी छ ।

दमक नगरपालिकाको सहकारी शाखाका प्रमुख इच्छाराम चम्लागाईंका अनुसार तुलसी सहकारी संस्थाको जग्गा रोक्का गर्न एउटा निवेदन आएको र सो निवेदनलाई न्यायिक समितिमा पठाइएको छ । उहाँले नगरपालिकाको अधिकार क्षेत्रभित्र नपर्ने पनि बताउनुभयो ।