• ६ वैशाख २०८१, बिहिबार

घट्यो वैदेशिक लगानी प्रतिबद्धता

blog

काठमाडौँ, फागुुन ४ गते  । पछिल्लो समयमा विश्वभर देखा परेको आर्थिक सङ्कटका कारण नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता झन्डै आधाले घटेको छ । चालू आर्थिक वर्षको सात महिनामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता ४० प्रतिशतले घटेको हो । 

उद्योग विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको साउनदेखि माघसम्म १८ अर्ब ६३ करोड १० लाख २३ हजार रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ । सात महिनामा १४४ वटा परियोजनाबापत सो लगानी प्रतिबद्धता आएको हो । ती परियोजना सञ्चालन भए आठ हजार ६०५ जनाले रोजगारी पाउने अनुुमान गरिएको छ । गत वर्ष सो अवधिमा ३१ अर्ब १४ करोड दुई लाख रुपियाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । 

सेवा र पर्यटन क्षेत्रमा बढी

विभागका अनुसार सात महिनामा सबभन्दा धेरै सेवामूलक र पर्यटनमूलक परियोजनामा ३३÷३३ प्रतिशत वैदेशिक लगानी प्रतिबद्धता आएको छ । 

यस्तै उत्पादनमूलक परियोजनामा २३ प्रतिशत, यस्तै ऊर्जामा आधारित परियोजनामा २ प्रतिशत, कृषि क्षेत्रका परियोजनामा ५ प्रतिशत, सूूचना प्रविधिमा २ प्रतिशत र पूर्वाधारमा सबभन्दा कम १ प्रतिशत मात्र वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।  

विभागका अनुसार चालू आर्थिक वर्षको साउन महिनामा दुुई अर्ब ६४ करोड नौ लाख रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । 

यस्तै भदौ महिनामा तीन अर्ब ४४ करोड छ लाख रुपियाँ, असोज महिनामा एक अर्ब ८५ करोड चार लाख रुपियाँ, कात्तिक महिनामा तीन अर्ब ६५ करोड रुपियाँ, मङ्सिर महिनामा ८० करोड आठ लाख रुपियाँ, पुुस महिनामा चार अर्ब ८५ करोड दुई लाख र माघ महिनामा घटेर एक अर्ब ३९ करोड रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको विभागको तथ्याङ्क छ । पुुस महिनामा वैदेशिक लगानी प्रतिबद्धता बढे पनि माघमा आएर उल्लेख्य मात्रामा कमी आएको छ । 

आव २०७८÷७९ मा साउन महिनामा पाँच अर्ब ५३ करोड पाँच लाख रुपियाँको वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । यस्तै गत आर्थिक वर्षको भदौ महिनामा छ अर्ब ३२ करोड, असोज महिनामा सबभन्दा धेरै ११ अर्ब ९६ करोड पाँच लाख, कात्तिक महिनामा ९८ करोड रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ । मङ्सिर महिनामा पाँच अर्ब १५ करोड एक लाख रुपियाँ, पुस महिनामा ६१ करोड दुई लाख रुपियाँ र माघ महिनामा ५३ करोड नौ लाख रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको थियो ।

विभागका अनुुुसार हालसम्म विभिन्न देशबाट नेपालमा चार खर्ब ३७ अर्ब नौ करोड ४९ लाख तीन हजार ७०४ रुपियाँको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ । नेपालमा लगानी गर्ने भनेर प्रतिबद्धता गरेको ३० प्रतिशत रकम मात्र लगानी आउने गरेको बताइएको छ ।

विश्व आर्थिक मन्दीको प्रभाव

विभागका वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण शाखा प्रमुख शङ्करसिंह धामीले विश्व बजारमा देखिएको आर्थिक मन्दीका कारण वैदेशिक लगानी प्रतिबद्धतामा कमी आएको जानकारी दिनुुभयो । 

रुस–युक्रेनको युद्धका कारण विश्वभर आर्थिक सङ्कट देखा परेकाले नेपालमा विदेशी लगानी आउन नसकेको उहाँको भनाइ छ । विदेशी नागरिकको व्यावसायिक भिसामा कडाइ गरेका कारण पनि वैदेशिक लगानी प्रतिबद्धतामा कमी आएको उहाँले बताउनुभयो । 

सात महिनामा ९४६ भिसा

नेपालमा लगानी भित्र्याउने भनेर व्यावसायिक भिसा लिने तर लगानी आउन नसकेपछि विभागले भिसामा कडाइ गरेको छ । वैदेशिक लगानी आउने सिजन अप्रिल महिना भएकाले थप बढ्न सक्ने अनुुमान गरिएको उहाँले जानकारी दिनुुभयो । विभागले चालू आर्थिक वर्षको सात महिनामा ९४६ व्यावसायिक भिसा सिफारिस गरेको छ । 

गत मङ्सिर महिनादेखि सरकारले वैदेशिक लगानीको सीमा पाँच करोड रुपियाँबाट घटाएर दुुई करोड रुपियाँमा झारेको थियो ।