• ८ वैशाख २०८१, शनिबार

पहिरोको असर जलचरमा

blog

नारायणगढ–मुग्लिन सडकमा झरेको पहिरो पन्छाएर त्रिशूली नदीमा फालिँदै ।

वसन्त पराजुली 

नारायणगढ, माघ ४ गते । पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकमाथिबाट हरेक वर्षजसो खस्ने पहिरोले यात्रुलाई प्रायःजसो असहज बनाइरहेकै हुन्छ। यस्तो पहिरो नारायणी नदीमा पुग्दा नदीको सतह बढ्ने र नदी पुरिँदा जलचरको बासस्थानमै असर पर्ने अर्को समस्या पनि देखिएको छ। नारायणी नदीलाई बासस्थान बनाएका माछा, गोहीलगायतका जलचरको पारिस्थितिक प्रणालीमा समेत यसले नकारात्मक प्रभाव पु-याएको विज्ञहरूको भनाइ छ। 

काठमाडौँ विश्वविद्यालय जीवविज्ञान विभागकी उपप्राध्यापक डा. रामदेवी तचामोले त्रिशूली नदीमा नियमितजसो खस्ने पहिरोको प्रत्यक्ष प्रभाव नारायणीमा परेको बताउनुभयो। उहाँले भन्नुभयो, “अहिले नारायणगढ–मुग्लिन सडकखण्डमा झर्ने पहिरोको गेग्रान पनि सिधै त्रिशूलीमा फाल्ने गरिएको छ। यसले जलचरको बासस्थानमै प्रभाव परेको छ।” नारायणीका जलचरको अवस्थाबारे दुई वर्ष अध्ययन गर्नुभएकी तचामोले भन्नुभयो, “पहिरोबाट निस्कने बालुवाका कण नदीको सतहमा गएर नदी पुरिँदा त्यहाँको लेउ नासिने अवस्थामा पुगेको छ।”

उहाँका अनुसार नदीको सतहमा हुने लेउ नै माछालगायतका जलचरको प्रमुख आहारा र बासस्थान हो। लेउ नै बन्न नपाउने अवस्था आएपछि यसले जलचरको खाद्य सुरक्षामा पनि चुनौती थपिएको छ। नेपालमा पाइने १२५ प्रजातिका माछामध्ये धेरैजसो नारायणी नदीमा छन्। विशेषतः बग्ने पानीमा रहने धेरै प्रजातिका माछा नारायणीमा पाइन्छन्। घडियाल गोही, मगर गोही, डल्फिनलगायतका दुर्लभ जीव, पाँच प्रजातिका कछुवा, सहर, ट्याङ्ग्रा, जलकपुरजस्ता विश्वमै दुर्लभ हुँदै गएका माछाको पनि प्रमुख बासस्थान नारायणी हो। जलचरविज्ञ वेद खड्काका अनुसार बासस्थानमा आएको समस्याकै कारण कतिपय गोहीले पानीमै अन्डा पार्ने गरेका छन्। नदीबाहिरको बगरमा पार्नुपर्ने अन्डा पानीमा पार्दा खेर जाने गरेको उहाँको भनाइ छ। 

“गोहीले बालुवामा अन्डा पा-यो भने त्यो निश्चित दिनमा आफैँ कोरलिएर बच्चा बन्छ तर अहिले त पानीमै फुल पार्न थालेपछि त्यो खेर जाने नै भयो,” उहाँले भन्नुभयो। पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकमा कति पहिरोमा, कति माटो र ढुङ्गा खस्छन् भन्ने यकिन तथ्याङ्क कतै छैन। यसमा अझै सडक विस्तारका क्रममा काटिने चट्टान पनि नदीमा फ्याँक्ने गरिन्छ। त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान शाखा केन्द्रीय क्याम्पसका उपप्राध्यापक दीपनारायण शाह अहिले नारायणी नदीमा बस्ने जलचरको स्वस्थ्य परीक्षण आवश्यक भएको बताउनुहुन्छ। 

“माछाको बासस्थानमा परेको प्रभावले यसको जीवनचक्रमै असर परेको हामीले पाएका छौँ,” उहाँले भन्नुभयो। नियमित झरिरहने होस् वा सडक विस्तारका क्रममा निस्कने माटो र चट्टान नदीमा नफालेर बिक्री गरेमा त्यसबाट आम्दानीसमेत गर्न सकिने उहाँको तर्क छ। 

फोहोर पनि समस्या

नदीमा बढ्दै गएको प्रदूषण पनि जलचरका लागि चुनौती बनेको छ। नदी किनारमा गरिने फोहोर विसर्जन, देवघाट क्षेत्रमा शवदाह गर्दा हुने प्रदूषण, नारायणगढमा स्टिमरका कारण बढेको ध्वनि प्रदूषण र कतिपय उद्योगले सिधै नदीमा मिसाएको रसायनयुक्त वस्तुले माछामा गम्भीर प्रभाव पारेको छ। 

“नारायणी नदीको पानीको गुणस्तरको अवस्था अहिले खस्कँदो छ,” डा. तचामोले भन्नुभयो, “देवघाटदेखि त्रिवेणीसम्मको अध्ययनमा पनि कतिपय ठाउँमा माछा नै भेटिएको छैन भने भेटिएका ठाउँमा पनि फोहोरमा बस्न सक्ने माछा मात्रै छन्।” फोहोर र कम अक्सिजनमा बाँच्ने हिले, सौरीजस्ता माछा हुन्। नदीमा फालिने प्लास्टिकजन्य फोहोरले त झनै समस्या पार्ने गरेको छ। 

“केही समयअघि बागमती नदीमा गरिएको अध्ययनमा ८० प्रतिशत माछाको पेटमा प्लास्टिक भेटिएको थियो। नारायणीमा यो अवस्था त छैन तर पनि समस्या छ,” उहाँले भन्नुभयो। भारतमा पनि घडियाल गोहीमा गरिएको अध्ययनमा पेटमा प्लास्टिक भेटिएको खड्काले स्मरण गर्नुभयो। 

उपप्रध्यापक शाह प्रदूषणकै कारण नारायणीको पानीमा हुनुपर्ने अक्सिजनको मात्रा कम हुँदै गएको, अम्लीयपन बढ्दै गएको, रासायनिक मल तथा विषादीको प्रयोगले नाइट्रोजन, फोस्फोरसको मात्रा बढ्दै गएको पनि जानकारी दिनुभयो। पानीमा अक्सिजनको मात्रा प्रतिलिटर ४.५ मिलिग्राम हुनुपर्छ तर अहिले नारायणीको कतिपय ठाउँको पानीमा ३.५ प्रतिशतभन्दा कम भेटिएको छ। पानीमा अम्लीयपन छदेखि आठ प्रतिशत हुनुपर्छ तर त्यो बिस्तारै बढ्दै छ। उहाँले भन्नुभयो, “यही अनुपातमा अक्सिजनको मात्रा घट्ने र अम्लीयपन बढ्ने हो भने नारायणीको पानीको स्वच्छतामै प्रश्न उठ्छ।” 

जलचरविज्ञ खड्का भन्नुहुन्छ, “अब नारायणीका जलचर बचाउने हो भने पानी संरक्षण र शुद्धीकरण गर्ने, नदीजन्य पदार्थ बालुवा, गिट्टी र ढुङ्गा उत्खनन रोक्ने, नदीमा आउने माटो तथा बालुवा रोक्ने, प्लास्टिकजन्य फोहोर नदीमा फाल्न रोक्दै बासस्थान तथा खाद्य आहारा सुरक्षामा ध्यान दिनु जरुरी छ।”