• १३ वैशाख २०८१, बिहिबार

लुम्बिनी प्रदेशको स्थापना दिवस

राजधानीको जग बस्यो, अब पालो समृद्धिको : मुख्यमन्त्री

blog

प्रदेश स्थापना दिवसमा मन्तव्य राख्नहुँदै मुख्यमन्त्री लिला गिरी

दिवाकर पोख्रेल

देउखुरी, फागुन ३ गते । लुम्बिनी प्रदेशको स्थापना दिवस विविध कार्यक्रमको आयोजना राप्ती उपत्यकाको देउखुरीमा सम्पन्न भएको छ ।

प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले विभिन्न क्षेत्रमा रहेर योगदान दिनुभएका ६१ जनालाई विभिन्न पदकले विभूषित गरेको छ । पुरस्कृत हुनेलाई कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले पुरस्कार प्रदान गर्नुभएको थियो । 

कार्यक्रममा विभिन्न समुदायका संस्कृति झल्कने झाँकीहरू समेत प्रदर्शन गरिएको थियो । प्रतियोगितात्मक झाँकी मध्ये उत्कृष्ट हुने समूहलाई पुरस्कृत गरिएको छ ।


घोराही उप महानगरपालिका दाङको भुम्मा नाच प्रथम, दाङकै राप्ती गाउँपालिकाका मगर सांस्कृतिक सङ्घको नौमती बाजासहितको नृत्य द्वितीय र जागृति सांस्कृतिक समूह तृतीय, नव प्रगतिशील युवा क्लब राप्ती गाउँपालिका र शिव युवा क्लब लमहीले सान्त्वना स्थान प्राप्त गरेका थिए । 

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले भन्नुभयो, “अघिल्लो सरकारले राजधानीको सवालमा महत्त्वपूर्ण निर्णय गरेको छ, वर्तमान सरकारलाई कार्यान्वयन गर्ने चुनौती र असर छ, यसपटक सरकारले जग बलियो बनाउँदै प्रदेशलाई समृद्ध बनाउनेतर्फ अग्रसर हुन्छ ।”

यस्तै, मुख्यमन्त्री गिरीले राजधानीको लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने र प्रदेशमा जनताको आवश्यकता पूरा गर्ने काम मुख्य रहेको समेत बताउनुभयो ।


 लुम्बिनी प्रदेशमा ७२ वटा कानुन बनाएर नेपालमै कानुन बनाउने प्रदेशमा पहिलो प्रदेश रहेको जानकारी दिँदै उहाँले समुन्नत प्रदेश स्थापनामा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । 

प्रदेश स्थापना समारोहमा सभामुख वसन्त घर्ती, लुम्बिनी सरकारका मन्त्री, प्रदेशसभा सदस्यलगायतको उपस्थिति रहेको थियो ।