द्विदेशीय सम्बन्धमा नवीन आयाम (सम्पादकीय)


प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने भ्रमणबारे आइतबार संसद्मा जानकारी गराउनुभयो । वैशाख २८ र २९ गते भएको भारतीय प्रधानमन्त्रीको भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको, नयाँ दिशा र आयाम थपेको उहाँले बताउनुभयो । राष्ट्रिय हित र स्वार्थलाई सर्वाेपरि ठानेर वार्ता र सहमति भएको जानकारी दिँदै प्रधानमन्त्री ओलीले यो भ्रमणले तीन वर्षअघिको अविश्वास र नाकाबन्दीको अवस्थामा रहेको सम्बन्धमा सुधार भएर आपसी विश्वास र सहयोगमा रूपान्तरण भएको पनि बताउनुभयो । 

चार वर्षअघि प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि मोदीको यो तेस्रो नेपाल भ्रमण हो । २०७१ मङ्सिर अन्तिम साता सार्क सम्मेलनका लागि भारतीय प्रधानमन्त्री नेपाल आउनुभएको थियो । त्यसबेलासम्म नेपाल भारतबीचको सम्बन्ध निकै सुमधुर रहँदै आएको थियो तर लगत्तै संविधानको विषयमा चिसिएको सम्बन्ध नाकाबन्दीको अवस्थासम्म पुग्यो । नाकाबन्दीले सरकार–सरकारबीचको सम्बन्ध मात्रै चिसिएन, नेपाली जनतामा गहिरो खिल नै बनेर बस्यो । त्यसपछि दुवै पक्षबाट सम्बन्ध सुधारको प्रयास भयो । गत चैत २३ देखि २५ गतेसम्म प्रधानमन्त्री केपी ओलीले गर्नुभएको भारतको औपचारिक भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ दिशा र आयामबाट अगाडि बढाउने प्रयास सुरु गरेको थियो । त्यही प्रयासलाई भारतीय प्रधानमन्त्रीको यो भ्रमणले थप उचाइमा पु¥याएको छ । दुवै सरकारले सम्बन्ध सुधार र आपसी सहयोगको अपरिहार्यतालाई गम्भीर रूपमा लिएको देखिन्छ । मोदीको भ्रमणका क्रममा भएका वार्ता र सहमतिले यिनै कुरालाई पुष्टि गरेका छन् । मोदीको नेपाल भ्रमणका क्रममा नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास र रामायण परिपथ (सर्किट) तथा जनकपुर–अयोध्या सिधा बस सेवाको सुरुआत भयो भने रक्सौल–काठमाडौँ रेलमार्ग निर्माणमा सहमति भएको छ । लामो समयदेखि गति लिन नसकेको पश्चेश्वर परियोजना, महेन्द्रनगरमा नेपाल–भारत जोड्ने सडक र पुल निर्माण, जलविद्युत् विकास, खरिदबिक्री र प्रसारण लाइन निर्माण, हुलाकी राजमार्ग निर्माण, व्यापार घाटा, भैरहवामा एकीकृत चेकपोष्ट निर्माण, हवाई रुट, कृषिको आधुनिकीकरण, अलैँची, अदुवा, चिया, जुट निकासी, नेपाली ग्यास बुलेटलाई अनुमति दिने, प्रतिबन्धित भारतीय रुपियाँ सटही, सीमा अतिक्रमण र डुवान जस्ता विविध समस्यामा दुई देशका प्रधानमन्त्रीबीच खुला छलफल भएको छ । यीमध्ये केही तत्काल समाधान गर्ने दिशामा अगाडि बढिसकेका छन् भने केही थप छलफल गर्ने प्रतिबद्धता भारतीय पक्षबाट आएको छ । पुराना सहमतिलाई अगाडि बढाउन असोजसम्मको समयसीमा निर्धारण गरेरै काम अगाडि बढाउने सहमति लगायत धेरैजसो विषय १६ बुँदे संयुक्त विज्ञप्तिमा उल्लेख भएका छन् । यो सकारात्मक कदम हो ।
भारतीय प्रधानमन्त्रीको यो भ्रमणले धेरै अनिश्चितता र आशङ्का मेटाउँदै आपसी विश्वासको वातावरण बनाउन सहयोग गरेको छ । दुई देशबीच जति निकट सम्बन्ध छन्, त्यति नै धेरै समस्या पनि छन् । यी समस्या एकपटकमा समाधान हुन्छन् भन्ने होइन तर उच्चस्तरका भ्रमणले विश्वासको वातावरण बनाउन सहयोग गर्छ । नेपालले नयाँ सम्झौता गर्नुको सट्टा स्पष्ट रूपमा पुराना सहमति र प्रतिबद्धतालाई कार्यान्वयन गर्न जोड दिएर नैतिक दबाब दिन सफल भएको छ । विगतमा भारतीय पक्षको व्यवहार र नेपाली नेतृत्वको दूरदर्शीपनाको अभावले सम्बन्ध मधुर हुन सकेको थिएन । वर्तमान सरकारले अहिलेसम्मको अवधिमा जनभावनालाई सम्मान गरेको देखिएको छ । विश्वमञ्चमै शक्तिशाली बन्दै गएका दुई छिमेकी राष्ट्रबाट मुलुकले अधिकतम लाभ लिने वातावरण कसरी बन्छ, त्यो भने हेर्न बाँकी छ । वर्तमान सरकारले सन्तुलित परराष्ट्र नीतिलाई महìव दिँदै आएको सन्दर्भमा छिमेकी चीन र भारतलाई समान रूपमा नजिक तुल्याउँदै जाने विश्वास गर्न सकिन्छ । यसबाट नै नेपाली राष्ट्रियताको संरक्षण, सम्बद्र्धन तथा आर्थिक समृद्धि हासिल हुने कुरामा शङ्का रहँदैन ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds