• १३ वैशाख २०८१, बिहिबार

टर्की भूकम्पबाट पाँच सय आणविक बमको शक्ति निष्कासित

blog

टर्कीका राष्ट्रपति तैयेप एर्दोगान

अङ्कारा, फागुन ३ गते । टर्कीका राष्ट्रपति तैयेप एर्दोगानले आफ्नो देशको दक्षिणी प्रान्तमा गत माघ २३ को भूकम्पबाट भएको क्षतिप्रति ऐक्यबद्धता जनाउँदै खोज तथा उद्धारका साथै मानवीय सहायता सामग्री उपलब्ध गराएकामा अन्तर्राष्ट्रिय समुदायप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ ।

संयुक्त अरब इमिरेट्सले मङ्गलबार आयोजना गरेको शासनप्रणालीसम्बन्धी विश्व सम्मेलनलाई यहाँबाट अप्रत्यक्षरूपमा सम्बोधन गर्दै राष्ट्रपति एर्दोगानले कठिन परिस्थितिमा विश्व समुदायले प्रकट गरेको ऐक्यबद्धता, उपलब्ध गराएको सहयोग र प्रदर्शन गरेको मैत्रीलाई आफ्नो देशले कहिल्यै नभुल्ने बताउनुभयो ।

विश्वका एक सय राष्ट्रबाट आफूलाई ऐक्यबद्धताका सन्देश प्राप्त भएका जानकारी दिँदै उहाँले दुई करोड टर्कीका नागरिक भूकम्पबाट प्रभावित भएका बताउनुभयो । भूकम्पबाट एक करोड ३५ लाख जनसङ्ख्या भएका देशका १० प्रान्तमा सर्वाधिक क्षति भएको बताउँदै उहाँले राहत सामग्री सङ्कलनमा अहोरात्र खटेका मित्र राष्ट्र र तिनका नागरिकप्रति आभार व्यक्त गर्नुभयो ।

टर्कीको कहरामनमारसलाई केन्द्रबिन्दु बनाएर सात दशमलव आठ म्याग्निच्युडको भूकम्प र त्यसको केही क्षणपछिको भएको त्यति नै शक्तिशाली अर्को परकम्पमा परी टर्की र सिरियामा ४१ हजारभन्दा बढीको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् । दुवै देशमा हजारौँ घरबारविहीन भएका छन् ।

वैज्ञानिकहरूका अनुसार उक्त भूकम्पबाट पाँच सय वटा आणविक बमले निष्कासन गर्ने ऊर्जा जत्तिकै ऊर्जा निष्कासन भएको थियो । रासस/सिन्ह्वा