• १२ वैशाख २०८१, बुधबार

संवैधानिक नियुक्तिविरुद्ध रिटमा आज सुनुवाइ हुँदै

blog

काठमाडौं, फागुन ३ गते । सर्वोच्च अदालतमा बुधबार संवैधानिक नियुक्तिविरुद्ध रिटमा सुनुवाइ हुँदैछ । संवैधानिक नियुक्तिविरुद्ध अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, समृत खरेल र कीर्तिनाथ शर्मा पौडेलले दायर गर्नुभएको रिटमा आज सुनुवाइ हुन लागेको हो ।

उक्त रिटमा सुनुवाइका लागि बुधबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की,  न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलास गठन गरिएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशका आधारमा संवैधानिक परिषद्को बैठक सञ्चालनसम्बन्धी कार्याविधि परिवर्तन गरी विभिन्न संवैधानिक नियुक्ति गरेको थियो । उक्त नियुक्ति दिइएको भन्दै २०७७ मङ्सिर १ गते अधिवक्ता ओमप्रकाश अर्याल र मङ्सिर २ गते वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

अध्यादेशबाट ल्याइएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसकै आधारमा भएको नियुक्ति बदर गर्न माग गर्दै उहाँहरुले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।