• ८ वैशाख २०८१, शनिबार

प्रेमगीतका समकालीन आयामहरू

blog

नेपाली गीतमा प्रेमका अनेक स्वरूपहरू पाइन्छन् । प्रेम अत्यन्त तरल भाव हो । यसको विशालता शब्द र व्यवहार दुवैका माध्यमबाट प्रकट हुन्छ । यो जति वैयक्तिक छ, त्यति नै सार्वजनीन पनि छ । प्रकृतिमा प्रेमका अनेक आयामहरू छन्, रतिरागात्मक भावमा जागृत हुने प्रणय प्रेमलाई मानव समाजले विशिष्टीकृत गरेको छ, यसलाई सृष्टिको सबैभन्दा उच्च प्रेम मानिन्छ । यस्तो प्रेम जो अत्यन्त जिम्मेवार र कमजोर पनि छ, विश्वास, त्याग र समर्पणसहितको निस्वार्थ व्यवहारमा परिणत भए यस प्रेमको शक्ति अनन्त छ, अपार छ । यसैले सृष्टिको पर्यायका रूपमा उच्चता प्राप्त गरेको प्रेम यही प्रणय प्रेम नै हो । नेपाली गीतमा प्रेमको यस अभिव्यञ्जनाले सङ्ख्यात्मक र गुणात्मक दुवै आधारमा सार्वकालीन सौन्दर्य प्रकट गरेको छ । प्रेमानुभूतिको यस गहिराइबाट अलिक फर्किएर समतलबाट नियाल्ने हो भने प्रेमका अनेक हाँगाहरू भेटिन्छन्, ती हाँगामा देश प्रेम, प्रकृति प्रेम, जाति र संस्कृति प्रेम, वर्ग प्रेम, जीवन प्रेम, सार्वभौम मानव प्रेम, नेतृत्व प्रेम, ईश्वर प्रेम जस्ता विविध प्रेमका पातहरू सर्सराइरहेका हुन्छन् । प्रेमको सागरबाट छुट्टिएर अनेक नदीहरू बगेका छन् । गीत ती प्रेम–नदीका शीतल प्रवाह हुन् । हृदयको भाषाले गीत बन्छ । शब्द र अर्थका तहमा सुकोमल संरचना भएकाले प्रेमको सबैभन्दा बोधगम्य, स्पश्र्य र स्थायी भाषा नै गीतलाई मान्ने गरिन्छ । 

 सङ्गीत गीतका रसराग र अनुभूतिका अनेक तरहलाई हृदय–तरङ्गसँग जोड्ने प्रविधि हो, गीतको विधागत सौन्दर्य यही तरल अनुभूति र साङ्गीतिकतासँग आबद्ध रहेको हुन्छ । त्यसैले प्रेम र गीतको एकीकृत कोमलता सङ्गीतका माध्यमबाट एकाकार भएको हुन्छ । संसारको पहिलो गीत प्रेमकै विषयमा लेखियो होला भन्ने अनुमान गरिने आधार पनि यही हो । मानव मनमा विभिन्न भावहरू स्थायी भावका रूपमा रहेका हुन्छन् । तीमध्ये माया–प्रेम सर्वथा माथि रहन्छ । प्रेम मानव र अझै प्राणी मात्रकै जीवनका निरन्तरताको एक लयसूत्र वा शक्ति भएकाले यो कुनै न कुनै रूपमा हृदयमा सुषुप्त किसिमले बसेकै हुन्छ । शृङ्गारिक सौन्दर्यका नाममा होस् अथवा जन्मभूमि, देश, प्रकृति, जाति, वर्ग, जीवन, ईश्वरीय आस्था वा मानवता जस्ता विषयका बीजमा प्रेमले भावाङ्कुरणको काम गरेको हुन्छ । समसामयिक नेपाली गीतमा पनि प्रेमका यिनै विविध अनुभूतिहरू समायोजन भएका छन् । प्रस्तुत सङ्क्षिप्त लेखमा समकालीन नेपाली गीतमा प्रकट भएका प्रेमका केही बान्कीहरूलाई आधार लिएर पे्रमगीतका विस्तारित आयामतिर सङ्केत मात्र गरिएको छ ।

रतिरागात्मकता

यति चोखो यति मीठो दिउँला तिमीलाई माया

बिर्सनेछन् साराले पुराना प्रेमका कथा

गोपालयोञ्जन र नारायणगोपालको युग प्रेमगीतका निम्ति अविजेय साबित भयो । मित्रतामा झाँगिएको प्रेमिल गीत रचना र गायनको अनुक्रमले मूलतः रतिरागात्मक प्रेम र यसपछि देश र संस्कृति प्रेमलाई समेत मिठागरी स्पर्श ग¥यो । यसअघि नै शिवशङ्कर, नातिकाजीको गीति चेतनाले नेपाली हृदय पगालिसकेको थियो । यिनै हस्तीहरूका समकालीन भएर रत्नशमशेर र ईश्वर बल्लभहरूले प्रेमलाई जीवन्त बनाए । राजेन्द्र थापा र दिनेश अधिकारीका गीतहरू गुञ्जिए । दीपक जङ्गमले नेपाली गीतलाई विस्तृति दिए भने अरुणा लामा, तारादेवी हुँदै राजेश पायल राई, लासमित राई, रामकृष्ण ढकाल, शिव परियार, अञ्जु पन्त, माण्डवी त्रिपाठी, मीना निरौला हुँदै नयाँ पुस्ताका राजनराज शिवाकोटी, मिलन नेवालगायतका कलासाधकहरू यसैमा समाहित भइआएका छन् । नेपाली गीतले प्रेमका आधुनिक र यसभित्रका विशिष्ट लयहरू पक्रिए, शब्दहरू जीवित भए । गीतले जीवनलाई पारदर्शी बनायो र प्रेमका गीतहरू गुन्गुनाएर नै प्रेमका तृष्णा मेटिने समयले यस धर्तीमा बास बस्यो । अर्कोतिर नेपाली लोकगीतले बोकेको स्थानीयता र सांस्कृतिक प्रेमको जिम्मेवारी निकै गहकिलो छ । यसका निम्ति छुट्टै अध्ययन र विश्लेषणको अनिवार्यता रहेको छ ।

आजका प्रेमगीतहरू प्रेमको आदर्श अनुभूतिभन्दा भोगाइ सापेक्ष संरचित भएका छन् । तिनमा मानवीय रतिरागात्मक प्रेमको अभिव्यञ्जना हुँदाहुँदै पनि व्यावहारिक पक्षसहितको संरचनाले पहिलो स्थान लिएको छ । संयोगान्त र वियोगान्त दुवै अनुभूतिमा प्रेमगीतहरू जीवन्त भएका छन् । संयोग शृङ्गार र विप्रलम्भ शृङ्गारभावका गीतहरूमध्ये आजको समय विप्रलम्भ शृङ्गारको हो भन्न सकिन्छ । यसमा विपरीत लिङ्गीय आकर्षण र रतिप्रेमको गहिरो मर्म हुँदाहुँदै पनि प्रेमगीतहरू प्रेमिल भइरहेका छैनन् । पहिले प्रेमका निम्ति समाज मात्र एउटा समस्या थियो तर वर्तमानमा समाजका जातीय र वर्गीय मान्यताहरू केही खुकुलो हुँदै गएका भए पनि पितृसत्ता, पुँजीवाद र विश्वबजारका अघोषित साम्राज्यवादले प्रेमलाई निरीह बनाइरहेको छ । यस्ता भावहरू प्रेमसङ्घर्षका रूपमा प्रकट भइरहेका छन् । 

प्रेमको प्रकटीकरणमा मनपक्षको प्रबलता र मस्तिष्कपक्षको गौण भूमिका रहन्छ । चाहे संयोग वा मिलनका आह्लाद र रोमाञ्चका अवस्थामा होस् अथवा वियोगका पर्खाइ, विप्रलम्भ व्यथा, पीडा, जलन, तपन र छटपटीका रूपमा होस्, कहिले हर्षजडित भाव त कहिले अश्रुसिक्त अनुभूति हुँदै त्यो पोखिन्छ । यस भावको प्रस्फुटन सबैभन्दा बढी यही गीति मार्गबाट हुन्छ । वर्तमानमा प्रेम समर्पणका साक्ष्य र दृष्टान्तहरू पनि बदलिँदै गएका छन् । तिम्रा लागि ज्यान दिन्छु भन्ने अतिस्विकारोक्ति आजको प्रेमगीतका मसला हुन छाडेका छन् । समकालीन नेपाली प्रेमभावमा रचित गीतका केही प्रस्तुति यस्ता छन् :

मुटु माग्यौ तिमीले मैले बाँच्नुपर्छ 

मै मरी गए तिमीलाई कसले माया गर्छ

दिउँ कि भनी खोजी हेरेँ पाइँन मुटु दुइटा

तिमीलाई माया गर्ने मै त छु नि एउटा

गायक दीपक लिम्बूको स्वरमा रेडियो नेपालबाट ।

प्रेमका सन्दर्भमा मुटु धेरै प्रयोगमा आउने शब्द हो । जीवनमा मुटुको जुन अपरिहार्यता छ, प्रेम जोडीका निम्ति एकअर्काको स्थान त्यस्तै हुने प्रसङ्गमा प्रेमजोडीले ‘मेरो मुटु’ भनेर आपस्तमा सम्बोधन साटेको पनि सुनिन्छ । यस गीतमा मुटु र मायालुको एकार्थ ध्वनित छ । प्रेममा एक ज्यान एक प्राण भन्ने गरिन्छ । यहाँ उपस्थित दुई पक्षमध्ये मुटु माग्ने एक पक्ष स्वार्थी देखिएको छ र वक्ताले आफू ‘तिमी’का निम्ति कति महìवपूर्ण छु भन्ने बताउन ‘ज्यान रहे प्रेम’ भन्ने व्यावहारिक दर्शन प्रकट भएको छ । यसरी नै तिम्रो जस्तो मुटु मेरो पनि..., छातीभित्र मुटुहुन्छ मुटुभित्र घाउ... लगायतका गीतहरूले प्रेममा दोहोरो जिम्मेवारीको अपेक्षालाई प्रकट गरेको छ । सकारात्मक अनुभूति र समर्पण भावसहितको एउटा गीत चाँदनी शाहको रचनामा रहेको ‘एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा, एउटा साथीको साथले कति फरक पर्दछ जिउनुमा...’ बोलमा रहेको यस गीतले प्रणय पात्रको अत्युच्च स्वरूप प्रस्तुत गरेको छ । जीवनमा प्रेमी हुनुले पर्ने फरकपनलाई स्पष्टसँग अभिव्यक्त गरिएको यस गीतमा पुरुष वा महिला नभनीकन एउटा मान्छेको माया र एउटा साथीको साथ भनी सम्बन्धभित्र उदारचरित्रको अपेक्षा गरिएको छ । यहाँ महिलाले सिर्जना गरेका कतिपय रचनालाई महिला समस्या र संवेदनामा मात्र विश्लेषण गर्ने परिपाटी रहँदै आएको देखिन्छ । वास्तवमा यहाँ रचनाकारको कुनै लिङ्ग र जात हुँदैन भन्ने कुरा प्रतिपादित छ । एउटा मान्छेको विशिष्टीकृत रूप भनेको यहाँ प्रेमी वा पति अर्थात् प्रेमिका वा पत्नी नै हुन् । ती प्रेमी मान्छे जब साथी भइदिन्छन्, जीवनका अधिकांश समस्याहरू स्वतः समाधान भइजान्छन् । जीवनजस्तो जिन्दगीको बचाइका निम्ति महिला र पुरुषबीचको सम्बन्धको गहिराइ बोध गरिएका यस्ता गीतहरू सबै उमेर तहका स्रोताका सम्पत्ति भएका छन् । प्रेम सङ्घर्षको चोट सहँदै प्रेममा सरिक भइरहनुको विकल्प नपाएका प्रेमी आवाज पनि आजका प्रेमगीतका विशेषण हुन् । गीतकार दिनेश अधिकारीको ‘हराएर आफूलाई तिमीलाई खोजिरा’छु, तिम्रो लागि मर्न पनि सधैँसधैँ राजी भा’छु÷यस्तो हुने जान्या भए छायाँ पनि हेर्दिनथेँ, यत्ति दुःख हुँदो रै’छ माया गर्दै गर्दिनथेँ...’ जस्ता एकखालका अनुभूतिले आजको प्रेमबजारको विवशता प्रकट गरेका छन् । प्रेम र बासनाका विपरीत कामनाहरूले आजका सम्बन्धहरूलाई यसरी प्रेमविहीन बनाइदिएका छन्, मानौँ जीवनमा प्रेमसम्बन्धभित्र रहनुभनेको दुःखको चक्रमा रुमलिनु हो । यो वर्तमान पुस्ताको प्रेमसम्बन्धमा ज्यादा अनुभूत भइआएको विषय पनि हो । 

आजका प्रेमगीतमा पर्खाइ र अन्योलको प्रस्तुति अर्को पक्ष हो । यस्ता गीतहरूमा अतीतका यादहरूले दिने छटपट्टी र आगतको चिन्ता ज्यादा प्रकट भइरहेका हुन्छन् । गीतकार दीर्घसिंह बमको विप्रलम्भ शृङ्गारको यस गीतले धेरैवटा परिवेशलाई समेटेको छ ः

विरही माया अधुरो रह्यो बिर्सनु कसरी

तड्पाइदिन्छ, जलाइदिन्छ, याद आउँछ बेसरी

तप्किन खोज्छन् आँसुका थोपा गोधूलि साँझमा

डुबाई गयौ, यो जिन्दगानी सागर माझमा

किनारा छैन, सहारा छैन मन थामूँ कसरी

तड्पाइदिन्छ, जलाइदिन्छ, याद आउँछ बेसरी

चलचित्र चोटका निम्ति नारायणगोपालले आवाज दिएका यस गीतमा वियोगान्तको आलो अनुभूति छ, यस्तो अनुभूति कालातीत अनुभूति हो । समयले निको पारिसकेको घाउलाई पनि बल्झाइदिनसक्ने अर्थगत कोमलता बोकेका यस्ता गीतले अधुरो प्रेमको जलनलाई विभिन्न कोणबाट प्रकट गरेको छ । गोधूलि साँझले निर्विकल्प परिस्थितिलाई सङ्केत गरेको छ । यसले मृत्यु र धोका दुवैका सम्भाव्य चोटलाई एकसाथ सम्प्रेषण गरेको छ । कतिपय 

सिमलको फूलसँग जीवन साटेर आएँ

सुखैमा छु भनेर उसलाई ढाँटेर आएँ

यो कथा भयो अहिले, जो हाम्रो जीवन थियो

म केशझैँ छरिन्थेँ, ऊ, भुवासरि छोइन्थ्यो

पुगेथेँ बाटो काटेर आएँ

सुखैमा छु भनेर उसलाई ढाँटेर आएँ

प्रेमका अनेक भाव व्यक्त गरिएका गीतहरूमा मूलतः प्रतीक्षा, रिसानी, धोका, निरासा एकातिर देखिन्छ भने संयोगान्ततिर रूपको वर्णन, प्राप्तिको गौरव र सानन्द मनको सुखद अवस्थाको चित्रण देखिन्छ । 

प्रकृतिप्रेम

नेपाली गीतमा धेरै युवाहरूले सामूहिक योगदान दिँदै आएका छन् । युवाहरूको युगीन चेतना र प्रेमको अनुभूति यस्ता प्रस्तुतिमा सानदार किसिमले प्रकट भइरहेका छन् । ‘पहेँलो बत्तिमुनि’ ब्यान्डको एउटा गीतमा प्रकृति, प्रेम र जीवनदर्शनको उच्च अनुभूति प्रकट भएको छ ः

मसँगै उडन गौँथली

टाढा नजिक जाँ भए पनि

एकैछिन गर न चिरिबिरी 

के होला तिम्रो त्यो मनभरि

यो घर न तिम्रो न मेरो

बाटो लाग्नै प-यो...

गौँथली एउटा प्रतीक हो, प्रकृति हो । जीवनबोधका निम्ति यो घरेलु पन्छी अत्यन्त सार्थक विम्ब पनि हो । जीवनभर घरका निम्ति सङ्घर्ष गर्ने पन्छीका जीवनमा प्रेम कहिल्यै छुट्दैन । खासमा तिनको सङ्घर्ष नै प्रेमका निम्ति, प्रेमको संरक्षणका निम्ति हुने गर्छ । यस्तो प्रेमको दिव्य अनुभूति, खोज र निरन्तरतामा उँडेका गौँथलीका माध्यमबाट जीवनको क्षणभङ्गुरता बुझाउने सरल र गहन प्रेमगीतहरू आजको नयाँ पुस्ताले प्रयोगमा ल्याइरहेका छन् । यो गम्भीर विषय स्वतस्फूर्त आएका सूक्तिमय छन् ।

फत्तेमान राजभण्डारीको स्वरमा रहेको गीत ‘प्रकृतिको काखमाथि बालापनको झल्को, याद सधैँ आइरहने उमेर भने ढल्क्यो÷सङ्गिनीको साथसाथै वनपाखा घुमी, बित्यो बालापन पनि यौवनले चुमी, काफल टिप्दै थाकी वनमा पानी पिउँथ्यौँ मूलको, याद सधैँ आइरहने उमेर भने ढल्क्यो...’ले जीवन र प्रकृतिको सान्निध्यलाई एकसाथ प्रकट गरेको छ र फत्तेमान राजभण्डारीले सत्तरी वर्षको उमेरमा गाएको यस गीतभित्रको समय प्रेम, अतीत प्रेमको खास सुगन्ध यहाँको प्रकृतिबाट प्रकट भएको छ । बाल्यकालदेखि बुढ्यौलीसम्मका अन्तरालभित्रका कथा यस गीतभित्र प्रकृतिको बास्नाजस्तो गरी प्रवाहित भएको छ । बाल्यकालमा फल, युवावयमा फूल (भेलेन्टाइन र विवाहोत्सवका सन्दर्भमा) र वृद्धावस्थामा पुनः फलतिरको आकर्षण जीवनका प्राकृतिक पक्षहरू हुन् । गीतले गहिरोगरी छोएको दर्शन यही नै हो ।

देश र संस्कृति प्रेम

समकालीन गीतमा राष्ट्रियता, देशप्रेम र जागरण तथा जाति प्रेमको अभिव्यञ्जना अर्को विशेषताका रूपमा आएको देखिन्छ । यस समयावधिमा लेखिएका र प्रसारणमा आएका गीतका सङ्ख्यात्मक एवम् अनुभूतिमूलक गुणात्मक वैशिष्ट्यका दृष्टिले देशप्रेम, राष्ट्रियता र जागरणका भावहरू उत्कृष्ट रहेका छन् । यस समयका गीतमा युगीन यथार्थका जीवन्त विम्बहरू, विशुद्ध राष्ट्रप्रेमका साथै राष्ट्रिय प्रकृति प्रेमको सहप्रस्तुति पनि भएको पाइन्छ । जातीय प्रेममा इतिहासको वर्तमानमा निरन्तरता र भविष्यको आशासमेत अविच्छिन्न रहोस् भन्ने भावना प्रकट भएको पाइन्छ । ऐतिहासिक महìवका र राष्ट्रिय गौरव बोकेका व्यक्तित्व र विषयमा आबद्ध गीतहरूले जनजनमा उत्साह भर्ने शक्ति बोकेको देखिन्छ । देशको माटो छोएर त्यहीँको प्रकृति र भाषा संस्कृतिको शीतल हम्केर बाँच्न पाउनुको महìव कति छ भन्ने भाव प्रकट गर्ने थुप्रै गीतहरू लेखिएका छन् ः 

 जून–तारा पग्लिएर आफैँ भेट्न आउँछन्

 जाई, जूही फुलेसरि शिरमाथि छाउँछन्

 रक्त–नाताभन्दा गाढा उसको हाम्रो नाता

 हाँसिरहोस् सधैँभरि हाम्रो सगरमाथा

 थुँगा : वनफूलका गीत सङ्ग्रहभित्र रहेको यस गीतमा प्रकृति र देशको सूक्ष्म सम्बन्ध प्रकट भएको छ । देश भन्नु भूगोल र भाव दुवै हो भन्ने सन्देश यस गीतमा अनुभूत हुन्छ । निश्चित यथार्थ र निश्छल कामनासहितको इच्छार्थले यस गीतलाई घनिभूत बनाएको छ । रगतको नाताभन्दा माथि पनि सम्बन्धको विस्तार हुने भावले यस गीतलाई औधी सामान्यीकरण गरिदिएको छ र यो सामान्यीकरणमा व्यक्तिगत अहम्हरू पगाल्ने शक्ति संवेग रहेको छ ।

गीतकार टीका चामलिङले देशको मायालाई हृदयको सन्देश बनाएका छन् । समयको रङ गीत सङ्ग्रहमा प्रस्तुत ‘धेरैपछि खबर पाएँ, सोचेँ माटो आयो, दूरदेखि घर फर्कने खुला बाटो आयो...’ बोलको गीतमा माटो भन्नु जीवनको आधार हो र त्यही आधारमा घरको जग बसेको कुरा मीठो गरी प्रकट गरेका छन् । परदेशीको मनको आहट अनुभूत हुने यी पङ्क्तिमा देश र नागरिकको भावनात्मक सम्बन्ध, खुलापन र सार्वभौम अधिकारको कवित्वमय भाव प्रकट भएको छ । 

नेपाली गीतमा ‘बाटो’ शब्द निकै प्रयोग भएको पाइन्छ । गीतकार मञ्जुलले पनि यस शब्दको प्रयोग निकै गरेका छन् । उनले ‘कहाँ होला यो संसारमा बाटो जस्तो साथी, जसले टेक्न दिन्छ कठै ! आफ्नै छातीमाथि...’ जस्ता बाटोका माध्यमबाट धर्तीप्रति, आफू उभिएको जमिनप्रतिको कृतज्ञतापूर्ण प्रेमभाव प्रकट गरेका छन् भने यसरी नै ‘अनकन्टार बाटो हुँ म बत्ति बाटो छैन, घातैघात छन् छातीभरि भन्न पा’को छैन...’ जस्ता गीतमा देशको विकासमा बाधक परिस्थितिलाई बाटोका माध्यमबाट अभिव्यक्त गरेका छन् । बाटाकै सन्दर्भमा प्रयुक्त एउटा गीत ‘जन्मैदेखि माटोसँग गाँसिएर आएँ, पहिरो जाँदा बाटोसँगै भासिएर आएँ...’मा प्रयुक्त माटो र बाटोले जीवनको यति र गतिलाई सम्बोधन गरेको छ । पहिरो नियति हो भने माटो र बाटोले नियतिसँग लड्न शक्ति प्रदान गरेका हुन्छन् । 

यस गीतमा जीवन र संस्कृतिको गहिरो सम्बन्ध माटोको सन्दर्भबाट प्रकट गरिएको छ । समकालीन गीतमा देश र संस्कृति प्रेमका माक्र्सवादी चिन्तनका साथ प्रकट भएका गीतका प्रतिध्वनिहरू प्रशस्त छन् । देशमा परिवर्तन र विकासका सबैजसो आन्दोलनलाई देशप्रेमका निम्ति बलिदानी गीतहरूले शक्ति प्रदान गरेका छन् । त्यसैले सन्तुलन र समानतामुखी वर्तमान समाजका निम्ति जुन क्रान्तिको आवश्यकता छ, त्यो क्रान्ति प्रेमका सन्दर्भमा पनि प्रकट भएको पाइन्छ । यो नेपाली गीतको नवीन शैली हो ।  

वात्सल्य                              

मातृ वात्सल्य र मातृऋण तिर्न नसक्दा आमाका दुःखले पोलेको भाव नेपाली गीतमा प्रशस्त प्रकट भएको पाइन्छ । पछिल्लो समय पितृवात्सल्यका गीतहरू पनि केही रचिन थालेका छन् । मातृप्रेमका रूपमा गीतकार नवराज लम्सालले रचना गरेको ‘मकै भुट्ने बूढी आमा सडक किनारामा, भाग्य हो कि पसिना हो तिम्रो निधारमा...’ गीतमा आमाको वर्गीय अवस्थालाई चित्रण गर्ने मार्मिक अभिव्यक्ति रहेको छ । 

यसरी नै ‘तिमी मुस्कुराउँछ्यौ दुःखका कलेँटी, तिमी काख दिन्छ्यौ पीडाका पलेँटी, न अड्कल न अभ्यास त्यो दर्द अलिखित, फेरि सन्ततीकै सुखमा समर्पित...’ बोलको गीतमा आमाका वात्सल्यप्रतिको सुकोमल र सूक्ष्म संवेदना प्रकट भएको पाइन्छ । 

समकालीन प्रेमका विविध आयामका गीतहरू अतीतकै निरन्तरतामा आएका नौला अनुभूति हुन् । परिवेश सापेक्ष भए पनि तिनमा प्रेमका नैसर्गिक मूल्य र मान्यता यथावत् छन् । प्रेमले भौतिक प्रलोभन चाहँदैन, प्रेमले आनन्द चाहन्छ, प्रेमले साथ चाहन्छ, विनाश चाहँदैन । ग्रामीण जीवन र प्राकृतिक निकटताको निश्छलताको खोजी पनि समकालीन गीतका विशेषता हुन् । यस्तै एउटा मानवतावादी गीत साठीको दशकमा गायक प्रेमध्वज प्रधानको आवाजमा प्रसारणमा आएको छ ः

सुनैसुनको लङ्का होइन मनभरि शङ्का होइन

झुपडीको हाँसखेल, सातैजुनी उस्तै मेल

आकाशको पानीजस्तो मन  

चाहिँदैन ज्यानै लिने सहरको मन बराल्ने धन । 

प्रेम विषयक गीतका दृष्टान्तहरू जीवन जत्तिकै विस्तृत छन् । व्यक्ति प्रेम हुँदै मानवतामा परिणत भएका यस्ता गीतहरू मानव समाजका सर्वोत्तम प्राप्ति हुन् । प्रेम विषयका गीतले संयोगान्त र वियोगान्त दुवै प्रवृत्तिमा एउटै भाव प्रकट गरेको हुन्छ, त्यो हो मानवताको पूजा र जीवनवादी भावनाको समर्थन । 

त्यसैले प्रेम जीवन र मृत्यु दुवै अवस्थामा जीवित रहने विषय भएकाले समसामयिक जीवनका विसङ्गतिबीच पनि प्रेम विषयका गीतहरू सदैव सङ्गतिका लागि उत्तरदायी भएर लेखिइरहेका छन् ।