• ६ वैशाख २०८१, बिहिबार

फेरिँदै घटालथानको स्वरूप

blog

घटालथानमा निर्माणाधीन भौतिक पूर्वाधार । तस्बिर : पुष्कर भण्डारी

अमरगढी समाचारदाता 

डडेल्धुरा, फागुन ३ गते । प्रसिद्ध धार्मिक पीठ घटालथानको स्वरूप परिवर्तन हुँदै गएको छ। डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिका–३, गैरीडोटीमा अवस्थित घटालथानमा भौतिक पूर्वाधारका संरचना निर्माण हुन थालेपछि स्वरूप परिवर्तन हुन थालेको हो। 

डोटी खोलामा रहेको घटालथानमा अहिले घटोत्कच बाबाको मूर्ति वरपर पर्खाल लगाई थानको निर्माण, थान क्षेत्रबाहिर पर्खाल, प्रदेशद्वार, खोला किनारमा प्याराफिट, खोला आउजाउ गर्न पुल, सिँढीको बाटो, तलाउ निर्माणका लागि ड्याम, शवदाह स्थल, पीसीसी बाटो निर्माण गरिएसँगै घटालथानको स्वरूप नै परिवर्तन भएको छ। घटालथानमा हालसम्म अढाई करोड रकम खर्च गरिएको छ। एक करोड ४२ लाख रुपियाँको ठेक्का सम्झौता र बाँकी उपभोक्ता समितिमार्फत भौतिक पूर्वाधार निर्माणको काम भएको अमरगढी नगरपालिकाले जनाएको छ। 

ठेक्का सम्झौतामार्फत पहिलो पटक आर्थिक वर्ष २०७५/७६ मा एक करोड ४२ लाखको काम गरिएको थियो। हाल पनि दुई करोड चार लाख रुपियाँ लागतमा ठेक्का सम्झौतामार्फत भौतिक पूर्वाधार निर्माणको काम भइरहेको छ। चालू आर्थिक वर्षको असार महिनामा काम पूरा गर्ने गरेर माया निर्माण सेवाले ड्याम, प्याराफिट निर्माण गर्ने काम गरिरहेको अमरगढी नगरपालिका प्रमुख डिल्लीराज जोशीले बताउनुभयो।

उहाँका अनुसार विश्व बैङ्कको सहरी पूर्वाधार विकास कार्यक्रमअन्तर्गतको रकमले घटालथानमा भौतिक पूर्वाधारको काम भइरहेको छ। बूढीघटालका नामले पनि प्रसिद्ध ‘घटालथान’ पर्यटकीय दृष्टिकोणले पनि सम्भावना बोकेको क्षेत्र हो। ‘घटालथान’को अवलोकन गर्ने पर्यटकको सङ्ख्यामा पछिल्लो समय वृद्धि भएको घटाल क्षेत्र विकास समाजका अध्यक्ष कृष्णराज बोहराले बताउनुभयो।

घटालको महिमा

किंवदन्तीअनुसार डोट्याली राजा नागी मल्लकी पुत्रविहीन रानीले भारतको गढवालबाट घटाल देउता दाइजोमा ल्याएको तर देउतालाई अहिले मन्दिर रहेको स्थानबाट दरबारसम्म लैजान नसकिएपछि त्यहीँ नै घटालबाबा स्थापना गरिएको बताइन्छ। पश्चिमी क्षेत्रमा आस्तिकहरूमाझ घटालबाबाले मनोकामना पूरा गरिदिने जनविश्वास रहेको पाइन्छ। खडेरी परेको वर्ष स्थानीयवासीले ‘पानी देऊ’ भनी मागसहित खोलाको पानी लगेर घटालशिलाको प्वालमा पानी हाल्छन् र वर्षाको कामना गर्दछन्।

घटाल देवताको उत्पत्ति कहिले र कुन अवस्थामा भयो भन्ने कुरामा एक मत नभए पनि महाभारतमा वर्णित भीमपुत्र घटोत्कच, यहाँ जुन देवताका रूपमा पूजित छन्, तीनको स्थान पहिले हालको घटाल भन्ने ठाउँमा थियो भन्ने किंवदन्ती रहेको छ। घटाल मसानमा बस्ने हुँदा त्यस ठाउँमा सधैँ शव जलाउने गरिन्छ। बूढीघटाल नजिक हटगाउँमा धेरै पहिले एउटी वृद्धा ब्राह्मणी बस्नु हुन्थ्यो। उहाँ सधैँ डोटीखोलामा नुहाई देवताको पूजापाठ गरी नित्य मध्याह्नमा भोजन गर्ने गर्नु हुन्थ्यो। प्रत्येक दिन त्यस ठाउँमा शव जलाउने गरेको समयमा पूजापाठ र भोजन गर्ने कुरामा बाधा पर्न गएको रहेछ। एक दिन उहाँले घटाल देवतालाई सराप दिनुहुन्छ– ‘नइ म मद्दो न घटाल सद्दो’ अर्थात् न म मर्छु, न त घटाल सर्छ।

घटाल देवताले उहाँलाई परेको असुविधालाई महसुस गरी त्यहाँबाट सरेर पथ्थरकोट भन्ने स्थानमा पुगेको र फेरि त्यहाँबाट सरेर हाल रहेको ठाउँ एकान्त स्थल हुँदा त्यहीँ बसोबास गरेका जानकार बताउँछन्।

त्यहीँ बगेर आएको घट्टको चक्कामा पूजा गर्ने र बलि दिने प्रचलन रहिआएको छ। घटाल देवताले साक्षात् शक्ति देखाएका थुप्रै उदाहरण छन्। यिनलाई भीमसेन पुत्र घटोत्कच तथा कसैले शिवका रूपमा लिनुहुन्छ। जे भए पनि यी मसानवासी ठूला देउता हुन् भन्ने कुरामा यहाँका भक्तजनहरू विश्वस्त छन्। घटाल बाबालाई अनिकाल, रोगव्याधी र प्राकृतिक प्रकोपबाट जोगाउने देउताका रूपमा पनि लिइन्छ। विगतमा जब जब खडेरी परेर अनिकालको अवस्था आयो, त्यति बेला पानी माग्न खलङ्गासमेत विभिन्न गाउँबस्तीका किसान यही घटालथानमा भेला हुने गर्थे भन्ने जनविश्वास रहेको छ।

“घटालका धामी कमाएर पानी माग्ने गरिन्थ्यो, घटाल प्रसन्न भएर पानी दिन्थे अर्थात् खेतीपातीलाई पुग्ने वर्षा हुन्थ्यो। यो चलन अझै पनि कायमै रहेको घटालका पुजारी दुर्गादत्त भट्टले बताउनुभयो।

धार्मिक ग्रन्थमा घटाल

द्वापरयुगमा कुरु क्षेत्रमा भएको कौरव र पाण्डवबीचको धर्मयुद्धमा भीमपुत्र घटोत्कचले ठूलो पराक्रम प्रदर्शन गरेका थिए। उहाँले कौरव सेनामाथि धावा बोलेर ठूलो क्षति पु-याएको धार्मिक ग्रन्थमा उल्लेख छ। लडाइँको मैदानमै वीरगति प्राप्त गरेका घटोत्कचको पराक्रम देखेका श्रीकृष्णले उहाँलाई कलीयुगमा ख्यातिप्राप्त भगवान्का रूपमा मान्यता पाउने वरदान दिएको भनाइ रहेको छ।

सदियौँदेखि त्यही मान्यताअनुरूप घटाल बाबालाई यस क्षेत्रका बासिन्दाले ठूलो धार्मिक आस्था र सम्मानका साथ पुज्ने गरेको घटालका पुजारी भट्टले जानकारी दिनुभयो।

सूर्य ग्रहणका दिन उपयुक्त तिथि र अनुकूल समय मिलाएर घटाल बाबाको स्नान गर्ने समारोह आयोजना हुने गरेको छ। स्नान कार्यक्रम डडेल्धुराको भित्री मधेस क्षेत्रमा पर्ने महाकाली किनारको परशुराम धाममा हुने गरेको छ। स्नान गर्न जाँदा घटाल बाबाले भित्री मधेसमा सात सुप्पा बालुङ्गो खाएकाले हाल त्यस ठाउँको नाम नै सात सुप्पे राखिएको छ।

“घटालका सम्पूर्ण सुनचाँदीबाट बनाइएका विभिन्न वस्तु र गहना तथा भक्तजनले चढाएका बहुमूल्य वस्तुहरू घटालथान नजिकै चम्सालमा रहेको देवघरमा राखिएको छ,” पुजारी भट्टले भन्नुभयो, “स्नानका बेला ती सबै वस्तुसहित स्थानीयवासी, धामीहरूको लर्काेसहित पैदलै चुरे पहाड पार गरी परशुरामधाम पुगेर स्नानपछि फर्किने गरिन्छ।” यो स्नान यात्रा करिब एक साताको हुन्छ। हाल पनि घटाल बाबाले नयाँ वर्ष वैशाख २ गते विसु मेला जाँतका दिन र स्नान गर्न जाँदा बालुङ्गो खाने गर्छन्। 

हरेक वर्ष वैशाख २, बडादशैँ र कात्तिक शुक्ल चतुर्दशीमा यहाँ मेला लाग्ने गर्छ। यी मेला वैशाख, असोज र कात्तिक महिनामा लाग्छन्। यी जाँतमध्ये वैशाख १ गते घटालको सम्पत्ति देउरो असिग्राम मन्दिरमा लगेर पूजा गर्ने, वैशाख २ मा देउरोलाई घटालथानमा लगेपछि भव्य मेला लाग्छ।