• १६ चैत २०८०, शुक्रबार

नेपालगञ्जको पुँजीगत खर्च दस प्रतिशत

blog

बाँके समाचारदाता

बाँके, फागुन ३ गते । चालू आर्थिक वर्ष २०७९/८० को सात महिना पूरा हुँदासमेत नेपालगञ्ज उप–महानगरपालिकाको पुँजीगत खर्च एकदमै न्यून रहेको छ । नगर उपप्रमुख कमरुद्दिन राईले १२औँ नगर सभामा प्रस्तुत गर्नुभएको विवरणअनुसार नेपालगञ्जको पुँजीगत खर्च १० प्रतिशतभन्दा पनि न्यून रहेको छ । उपमहानगरपालिकाका अनुसार पुँजीगततर्फ ९.४४ मात्रै खर्च भएको छ ।  

समीक्षा अवधिसम्म उप–महानगरपालिकाले कुल विनियोजनको २५.१ प्रतिशत रकम खर्च गरेको छ । जसअन्तर्गत चालूतर्फ ३४.६८ र वित्तीय व्यवस्थातर्फ ३९.३४ प्रतिशत खर्च भएको छ । 

नगरप्रमुख प्रशान्त विष्टले लामो बिदा, निर्वाचनलगायतका प्रक्रियागत कामले गर्दा अहिले पुँजीगत खर्च न्यून भए पनि अब खर्च बढ्ने दाबी गर्नुभयो ।

 उपमहानगरपालिकाका अनुसार पुस मसान्तसम्म एक अर्ब नौ करोड ६७ लाख ८५ हजार रुपियाँ गरी करिब ५५ प्रतिशत आम्दानी भएको छ । यस्तै आन्तरिक आयमा करिब ५८ प्रतिशत प्रगति भएको छ ।