• १६ चैत २०८०, शुक्रबार

मलङ्गवा बसपार्क सञ्चालन

blog

सर्लाही समाचारदाता

सर्लाही, फागुन ३ गते । सर्लाही सदरमुकाम मलङ्गवामा नवनिर्मित सुविधासम्पन्न बसपार्क सोमबारबाट सञ्चालन भएको छ। मलङ्गवा नगरपालिका–२ स्थित जिल्ला प्रहरी कार्यालय छेउमा निर्माण भएको नयाँ बसपार्कको नगरप्रमुख नागेन्द्रप्रसाद यादव र प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले संयुक्त रूपमा उद्घाटन गर्नुभयो। बस व्यवसायीबीचको आन्तरिक द्वन्द्वका कारण केही समयअघि नै निर्माण भएको यो बसपार्क सञ्चालन हुन सकेको थिएन। 

सङ्घीय आयोजना कार्यान्वयन एकाइ जनकपुरधामले गत माघ ४ गते नगरपालिका कार्यालयलाई बसपार्क हस्तान्तरण गरेको थियो। बस व्यवसायीले मलङ्गवा नगरपालिका–९ स्थित पुरानै बसपार्कबाट बस सञ्चालन गर्ने अडान लिँदै आएका छन्। पुरानो बसपार्क अत्यन्त साँघुरो र अव्यवस्थित हुँदा समस्या हुँदै आएको छ। मलङ्गवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले कार्यविधि बनाएर सोमबारबाट नयाँ बसपार्क सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो। उहाँले सम्पूर्ण बस अनिवार्य रूपमा नयाँ बसपार्कबाटै सञ्चालनमा आउनुपर्ने बताउनुभयो। 

नगरको सौन्दर्य र अन्य कारणले पनि बीच बजारमा बसपार्क राख्नु ठीक नहुने उहाँको भनाइ छ। नयाँ बसपार्कबाटै सम्पूर्ण बस सञ्चालन गर्ने नगरपालिकाको अभियानमा सहयोग गरिदिन उहाँले आग्रह गर्नुभयो। मलङ्गवा नगरपालिकाका प्रमुख नागेन्द्रप्रसाद यादवले केही बस व्यवसायीले नयाँ ठाउँमा नसार्न आग्रह गरे पनि ठूलो लगानी गरेर निर्माण गरिएको बसपार्क सञ्चालन सफल बनाउनु सबैको दायित्व भएको बताउनुभयो। 

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नजिकै जिल्ला प्रहरी कार्यालय र सेनाको युनिट रहेकाले सुरक्षित ठाउँमा रहेको बसपार्कको पूर्ण उपयोग गर्न बस व्यवसायीसँग आग्रह गर्नुभएको छ। उहाँले बसपार्कबाट सञ्चालन नहुने बसलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो। 

रामकविर मठले उपलब्ध गराएको २५ रोपनी जग्गामा कनकाई इन्टरनेसनल बिल्डर्स, सुरुङ्गा, झापाले आठ करोड ३१ लाख रुपियाँ लागतमा बसपार्क निर्माण गरेको हो। साढे दुईतले टर्मिनल भवन, सार्वजनिक शौचालय, खानेपानी, यात्रु प्रतीक्षालय, वर्कसप क्षेत्रलगायतका सुविधा रहेको बसपार्कमा तत्काल ५२ वटा ठूला र २० वटा साना सवारीसाधन पार्किङ गर्न सकिन्छ।