सिरहा जिल्लाको पतारी पोखरीमा निःसन्तान दम्पतीको मेला

लहान, २ वैशाख । निःसन्तान दम्पतीका लागि चिकित्सा विज्ञानले सन्तान प्राप्ति गर्ने अनेकौँ उपाय र विधिहरु पहिल्याइ दिएको छ ।

तर सन्तान प्राप्तिको चाहना राख्ने दम्पती सन्तान पाउन धार्मिक पूजापाठमा समेत अगाध आस्था राख्छन् भन्ने उदाहरण हो, सिरहा जिल्लाको पतारीमा हरेक वर्ष वैशाख २ गते लाग्ने मेला ।

पूर्व–पश्चिम सडकअन्तर्गत सिरहाको धनगढी बजारबाट करिब १० किलोमिटर दक्षिणमा पर्ने लक्ष्मीपुर पतारी गाविस—३ मा रहेको पतारी पोखरीमा सन्तान पाउने आकाङ्क्षासहित आउने निःसन्तान दम्पतीको भव्य मेला लाग्ने गर्दछ । पतारी पोखरीमा आउने निःसन्तान दम्पतीको बिहानैदेखि ठूलो भीड लागेको छ ।

हरेक वर्ष वैशाख २ गते लाग्ने मेलामा नेपालका विशेषगरी तराई र तराईले छोएका विभिन्न जिल्ला र भारत विहारका पटना, मधुवनी, दरभङ्गा, जयनगरलगायतका ठाउँका निःसन्तान दम्पती मेलामा जान्छन् । विवाह भएको सात वर्षभन्दा लामो समय बितिसक्दा पनि सन्तान नभएपछि पूजा गर्न आएको भारत विहार मोतिहारीका कुमार जैसवालले बताउनुभयो ।

करिब १० बिगाहा क्षेत्रफलमा फैलिएको पोखरीको दक्षिणी किनारमा रहेको गहवरको पूर्वी ढोकामा वैशाख १ गते साँझदेखि निरन्तर १८ घन्टासम्म निराहार बसेर भोलिपल्ट वैशाख २ गते मध्याह्न गहवरभित्र रहने विशेष आराधना (कोकिया गुहाइर) बाट अक्षता लिएर गहवरको उत्तरी गेटबाट सिधै पोखरीमा हाम फाल्नुपर्ने मान्यता रहेको छ । त्यसरी हाम फालेपछि पोखरीमा पहिलो डुबुल्कीमै पानीभित्र कुनै जीव भेटिए सन्तान हुने विश्वास गरिन्छ ।

पानीमा भेटिएको जीव मुठ्ठीमै राखेर दौडिँदै गाउँको सीमा पार गर्नुपर्ने मान्यताअनुरुप पोखरीबाट निस्केका भक्तजनहरुको पछिपछि आउने पतिसहित आफन्तले गाउँको सीमा पार गरेपछि कपडा फेरिदिने गर्दछन् । कपडा फेरेर आफ्नो घर पुगेपछि पानीबाट ल्याएको जीवको बुटी बनाएर व्रत बसेका महिलाले पाखुरा या घाँटीमा माला बनाएर लगाए सन्तान प्राप्त हुने जनविश्वास रहेको छ ।

सलहेश गाथामा उल्लेख गरिएअनुसार पतारी पकडियागढका राजा कुल्हेशरका कान्छा भाइ हरिसिंहदेवको निवासस्थल रहेको मानिन्छ । यो पोखरी राजा सलहेशकै बेला विसं १३२५ तिरदेखि अस्तित्वमा रहेको सलहेश गाथामा उल्लेख छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds