सप्ताहव्यापी नेपाल कलामेला ढाकामा सुरु

artist
गोरखापत्र समाचारदाता-
काठमाडौं । नेपाली कलाकारहरुले बंगलादेशको राजधानी ढाकास्थित सिल्पकला एकेडेमीमा नेपाली कलाकारिता प्रदर्शन गर्दै हुनुहुन्छ ।

नेपाल कलामेला बंगलादेश–२०१८ राजधानी ढाकामा बैशाख २४ गते देखि सुरु भएको हो । मेलामा ६० जना नेपाली कलाकारका चित्रकला, लोककला र हस्तकला विधाका कलाकृतिहरु प्र्रदर्शित छन् ।

पोखराका कलाकार मनोज तामाङले पानी रंगबाट आफ्ना भावना, भक्तपुर निवासी कान्छाकाजी भासिमाले ठिमीको संस्कृतिलाई प्रत्यक्ष रुपमा त्यहाँ कैद गर्दै हुनुहुन्छ ।  

सप्तरीकी मिथिला कलाकार रन्जु यादवले कलाप्रेमीहरुको आग्रहमा स्थलगत कला कोर्दै हुनुहुन्छ । मिथिला कलालाई यसरी प्रस्तुत गर्दै विदेशी माझ चिनाउन पाउनु गौरवको विषय भएको उहाँ बताउनुुहुन्छ ।

ढाकास्थित बंगलादेश शिल्पकला एकेडेमीमा एक सप्ताहसम्म चल्ने मेलाको उद्घाटन बंगलादेशका संस्कृतिमन्त्री असादुजमान नुरले एक समारोहका बीच सोमबार गर्नुभयो ।

एकेडेमीका महानिर्देशक लियाकत अली लक्कीको सभापतित्वमा भएको उद्घाटन समारोहमा विशिष्ट अतिथिका रुपमा नेपाल ललितकला प्रतिष्ठानका कुलपति रागिनी उपाध्याय, बंगलादेश संस्कृति मन्त्रालयका सचिव नासिर उद्दिन अहमद र ढाकास्थित नेपाली दूतावासका प्रतिनिधि धनबहादुर ओलीले सम्बोधन गर्नुभयो ।

नेपाली कला र संस्कृतिको अन्तर्राष्ट्रिय प्रचारप्रसारमा कला मेलाको महत्व र यसले दुई मित्र राष्ट्रबीचको सम्बन्धमा पार्ने सकारात्मक प्रभावबारे वक्ताहरुले धारणा राख्नुभयो ।
   
प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायको नेतृत्वमा नौजना कलाकार ढाका पुगेका हुन् ।   

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds