• १३ वैशाख २०८१, बिहिबार

विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने

blog

विराटनगर समाचारदाता

विराटनगर, फागुन २ गते  । विराटनगर विमानस्थलमा अन्तर्राष्ट्रियस्तरको नयाँ र आधुनिक टर्मिनल भवन बन्ने भएको छ । तीन वर्षभित्र निर्माण गरिसक्ने गरी भवनको ठेक्का लागेपछि सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले टर्मिनल भवनको शिलान्यास गर्नुभयो । 

पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलकै स्तरमा दुई अर्ब ४२ करोड रुपियाँ लगानीमा टर्मिनल भवन निर्माण हुने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिनुभयो । नयाँ टर्मिनल १६ हजार २७७ वर्गमिटरको हुने र यो त्रिभुवन विमानस्थलको आन्तरिकतर्फको टर्मिनल भवनपछि दोस्रो ठूलो हुने अधिकारीले बताउनुभयो । 

अधिकारीका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन १४ हजार वर्गमिटरको छ भने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको टर्मिनल भवन १५ हजार वर्गमिटरको छ । नयाँ टर्मिनल भवनसँगै विराटनगर विमानस्थलको धावन मार्ग पनि २७० मिटर विस्तार गरिनेछ । अहिले एक हजार पाँच सय मिटर धावन मार्ग विस्तारपछि एक हजार ७७० मिटर हुने शिलान्यास कार्यक्रममा जानकारी दिइयो । 

विमानस्थलको टर्मिनल भवन तीन वर्षभित्र निर्माण सक्ने गरी केसी–डाँफे जेभीले ठेक्का लिएको छ । २०२५ सालमा निर्माण भएको विमानस्थलको टर्भिनल भवनबाट सेवा प्रवाहमा समस्या हुन थालेपछि सरकारले नयाँ भवन निर्माण गर्न लागेको हो । नयाँ भवन अहिले भएको टर्मिनल भवनबाट करिब ५० मिटर उत्तरतर्फ निर्माण गरिनेछ । नयाँ टर्मिनल भवन एक हजार आठ सय यात्रु क्षमताको हुने बताइएको छ । 

नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक हंशराज पाण्डेका अनुसार नयाँ बन्ने टर्मिनल भवनमा १७ वटा टिकट काउन्टर, २४ वटा पसल, चारवटा रेस्टुरेन्ट, पत्रकार सम्मेलन कक्ष, तीनवटा भीआईपी कक्ष, बालबालिका खेल्ने ठाउँ, प्रार्थना कक्ष, स्तनपान कक्ष, चारवटा प्राइभेट कक्ष, हललगायतका आधुनिक सुविधा रहनेछन् । 

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री किराँतीले सो टर्मिनल भवन प्रदेश १ को विकासमा कोसेढुङ्गा बन्ने बताउनुभयो । मन्त्री किराँतीले समयमै गुणस्तरसहित निर्माण सम्पन्न गरी सरकारलाई पुरस्कृत गर्ने मौका दिन निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो । 

विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको विमानस्थलमा स्तरोन्नति गर्न यसअघि सरकारले अगाडि बढाएको प्रक्रिया अवरुद्ध भएपछि नयाँ टर्मिनल भवन निर्माणको काम थालिएको हो । विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहण गर्ने प्रक्रिया अगाडि बढिसकेपछि सरकार पछि हट्दै रोक्का गरेको जग्गा फुकुवा गरेको थियो । 

विराटनगर विमानस्थलबाट हाल बुद्ध एयरलाइन्सका सात, यती एयरलाइन्सका चार, सौर्यका दुई र श्री एयरलाइन्सका तीन गरी दैनिक १६ वटा उडान भइरहेको छ ।