• १६ चैत २०८०, शुक्रबार

गोरखापत्रकर्मी दाहालसहित पूर्व जनप्रतिनिधि सम्मानित

blog

गोरखापत्रकर्मी राममणि दाहाललाई हेटौँडा उपमहानगरले ५४ औं हेटौँडा नगर स्थापना दिवसमा सम्मान गरिँदै ।

मकवानपुर समाचारदाता

हेटौँडा, फागुन १ गते । हेटौँडा उपमहानगरले ५४ औँ हेटौँडा नगर स्थापना दिवस मनाएको छ । २०२६ सालमा तत्कालीन हेटौँडा नगर पञ्चायत स्थापना भएको आधार वर्ष मानेर पहिलो पटक हेटौँडा नगर स्थापना दिवस मनाइएको हो । 

नगर स्थापना दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा गोरखापत्रकर्मी राममणि दाहाललाई सम्मानित गरिएको छ । हेटौँडामा रहेर मकवानपुरको पत्रकारितामा महत्त्वपूर्ण योगदान पुर्‍याएबापत गोरखापत्रका मकवानपुर समाचारदाता दाहाललाई बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सम्मानित गर्नुभयो । सो क्रममा यहाँको विकासमा योगदान पुर्‍याउने समाजका अग्रजसहित पूर्व जनप्रतिनिधिलाई सम्मानित गरिएको छ ।

कार्यक्रममा २०२६ मा तत्कालीन नगरपञ्चायतको पहिलो माइनुटमा हस्ताक्षर गर्नेमध्ये जीवित पुष्पहरि जोशी, गोपाल शर्मा, निरशङ्कर श्रेष्ठ, हेटौँडा उपमहानगरका पहिलो नगरप्रमुख हरिबहादुर महत र तत्कालीन हेटौँडा नगरपालिकाका नगरप्रमुख डोरमणि पौडेललाई सम्मानित गरेको छ । 

यस्तै तत्कालीन नगरपञ्चायतका संस्थापक प्रधानपञ्च वासुदेव रिजाललाई मरणोप्रान्त सम्मान प्रदान गरिएको छ । प्रधानपञ्च निरशङ्कर श्रेष्ठ, उपप्रधानपञ्चद्वय शम्भुप्रसाद भट्टराई र तिलकप्रसाद दुलाल तथा नगरपालिकाका पहिलो दलित महिला जनप्रतिनिधि लक्ष्मी नेपालीलाई सम्मानित गरिएको छ ।

तत्कालीन हेटौँडा क्षेत्र पञ्चायतका प्रधानपञ्च बुद्धिलाल राजथलालाई मरणोपरान्त र भीमफेदीमा रहेको जिल्ला सदरमुकामलाई हेटौँडा ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने तत्कालीन मकवानपुर जिल्ला पञ्चायतका सभापति ओमुटेम्पा लामालाई सम्मान गरिएको छ । 

कार्यक्रममा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले हेटौँडाको विकासक्रम सुस्त रहेको भन्दै प्रदेश र सङ्घीय सरकारसँगको समन्वयमा योजनाबद्ध विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा साताव्यापी रूपमा गरिएको खेलकुद प्रतियोगिताका विजेता तथा उपविजेता टिमसँगै खेलाडी र कर्मचारीलाई पनि सम्मान गरिएको छ । कार्यक्रममा नगरप्रमुख मीनाकुमारी लामाले स्वच्छ सृजनशील समृद्ध औद्योगिक नगरको परिकल्पनासहित मुलुककै उत्कृष्ट सहर निर्माणमा सहयोग गर्न आग्रह गर्नुभयो ।