• ८ वैशाख २०८१, शनिबार

सरकारको नेतृत्व चुनौतीपूर्ण अवसर : प्रधानमन्त्री प्रचण्ड

blog

नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बाेधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : केशव गुरुङ

काठमाडौं, फागुन १ गते । जनयुद्धको २८ औं वार्षिकोत्सवको सन्दर्भमा नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय, पेरिसडाँडामा जनयुद्ध दिवस मनाइएको छ । पार्टीले आयोजित कार्यक्रमलाई प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बाेधन गर्नुभएको छ । 

प्रधानमन्त्री प्रचण्डले जनयुद्ध दिवसको अवसुरमा पेरिसडाँडामा रहेको शहीद स्तम्भमा माल्यार्पण गर्नुभएको छ । उहाँले सरकारको नेतृत्वलाई आफूले चुनौतीपूर्ण अवसरका रुपमा लिएको उल्लेख गर्दै असफल हुने छुट नरहेको बताउनुभयो ।


प्रधानमन्त्री प्रचण्डले परिवर्तन ल्याउने प्रमुख आन्दोलन र त्यसको नेतृत्वले जनयुद्ध दिवसको औचित्य सिद्ध गर्दै ऐतिहासिक आवश्यकतालाई मनन गरेर नै नेपाल सरकारको तर्फबाट जनयुद्ध दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिएको बताउनुभयो । 


उहाँले आफूले यस पटकको सरकारको नेतृत्वलाई चुनौतीपूर्ण अवसरको रुपमा लिएको उल्लेख गर्दै असफल हुने छुट नरहेको उल्लेख गर्नुभयो । उहाँले  सामाजिक न्याय, सुशासन र आर्थिक विकासको क्षेत्रमा फड्को मार्नुको विकल्प नरहेको पनि बताउनु भयो । प्रधानमन्त्री दाहालले केही समयदेखि सङ्घीय, लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमा कैयौं कोणबाट प्रश्न उठाउने कोसिस भइरहेको उल्लेख गर्दै जनयुद्धको औचित्य पुष्टि गर्नु अपरिहार्य भएको बताउनुभयो । 


उहाँले फेरि एक पटक नयाँ सङ्कल्पसहित अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै सबै माओवादी आन्दोलनका विभिन्न धाराका समूहलाई एकताबद्ध भएर सामाजिक न्याय र रुपान्तरणका निम्ति अघि बढ्न अपिल गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले कम्युनिष्ट र समाजवादी आन्दोलनका शक्तिसँग पनि समाजवादी मोर्चा बनाएर जाने सैद्धान्तिक सहमति भइसकेको उल्लेख गर्दै छिटै पार्टी एकताको अर्को एउटा प्रक्रिया अघि बढ्ने बताउनुभयो । 


उहाँले भन्नुभयो, ‘‘सरकारको नेतृत्व गर्नुलाई मैले चुनौतीपूर्ण अवसरको रुपमा लिएको छु । हामीलाई असफल हुने बिल्कुलै छुट छैन । हामीले सामाजिक न्याय, सुशासन र आर्थिक विकासको क्षेत्रमा फड्को मार्नु नै पर्नेछ। यसरी मात्रै हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्म र भावनालाई ठीक ढङ्गले कार्यान्वयन गर्न सकिन्छ । केही समयदेखि सङ्घीय, लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमा कैयौं कोणबाट प्रश्न उठाउने कोसिस भइरहेका छन् ।


यस्तो बेलामा यो परिवर्तन ल्याउने प्रमुख आन्दोलन र त्यसको नेतृत्वले यसको औचित्य सिद्ध गर्न दृढताका साथ अघि बढ्नुको कुनै विकल्प छैन । मैले त्यही ऐतिहासिक आवश्यकता लाई मनन गरेर नै नेपाल सरकारका तर्फबाट हिजो मन्त्रिपरिषदबाट यो निर्णय गरेको हो । अब यो माओवादीको मात्रै भएन नेपाल राष्ट्रकै सम्पत्ति भयो । आम नेपाली जनताकै सम्पत्ति बन्नपुग्यो । यसलाई ठीक ढङ्गले निर्वाह गर्ने जिम्मेवारी हाम्रै हो । यसै प्रक्रियाबाट सुशासन र विकासको नयाँ अभियानतिर लैजाने आवश्यकता छ । हामीले अब फेरि एक पटक नयाँ सङ्कल्पसहित अघि जानु छ ।’’


उहाँले भन्नुभयो, ‘‘म यस ऐतिहासिक दिनमा र नेपाल सरकारबाट भएको निर्णयका सन्दर्भमा पनि सबै माओवादी आन्दोलनका विभिन्न धाराका समूहलाई पनि अब एकताबद्ध भएर सामाजिक न्याय र रुपान्तरणका निम्ति अघि बढ्न अपिल गर्न चाहन्छु । केही समयदेखि आन्दोलनलाई एकताबद्ध गर्ने प्रक्रिया अघि बढिसकेका छन् । मैले पनि धेरै समूहसँग छलफल गरेको छु, मलाई विश्वास छ छिटै पार्टी एकताको अर्को एउटा प्रक्रिया अघि आउनेछ । त्यसले आम माओवादी नेता कार्यकर्ता मात्र नभ आम जनतालाई पनि एक पटक उत्साहित गर्नेछ । कम्युनिष्ट र समाजवादी आन्दोलनका शक्तिहरुसँग पनि समाजवादी मोर्चा बनाएर जाने सैद्धान्तिक सहमति बनेको छ । छिटै एउटा समाजवादी मोर्चा नेपालको भोलिको नेतृत्व निर्माणमा आउने विश्वास लिएको छु ।’’


प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिममा विकासको नयाँ फड्को आजबाट शुरु गर्ने पनि बताउनुभयो । उहाँले नेपालमा पहिलो राष्ट्रिय स्वास्थ्यविज्ञान विश्वविद्यालय सुदूरपश्चिममा स्थापना गर्ने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले जनयुद्ध दिवसका दिन नै विकासमा फड्को मार्दै गर्दा आफ्नो इच्छा, आकांक्षा, देश विकास र सुशासनमा लाग्न प्रेरित गरेको बताउनुभयो ।