सलहेस फुलबारीमा भव्य मेला

सन्तोष सुवेदी

 

salhesh 1सिरहा, वैशाख २ गते । नयाँ वर्षको आगमनसँगै राजा सलहेसको ऐतिहासिक गाथा स्मरण गर्न स्थानीय बासीहरुले लहान–१२ स्थित सलहेश फुलबारीमा मेला भर्न हजारौंको जनमानस ओर्लिएका छन् ।
वि.स. १३२५ ताकाका प्रतापी राजा सलहेशको शौर्य, पराक्रम, वीरता, साहस र प्रेमसँग गाँसिएका गाथाहरुको सम्झनास्वरुप यहाँका बासिन्दाहरुले प्रत्येक वैशाख १ गते यहाँ परम्परागत मेला आयोजना गर्दै आएका हुन् ।
स्थानीयबासीहरुले राजा सलहेसको गाथासँगै जोडिएका स्थलहरु फुलबारी, सिरहा सदरमुकामस्थित सलहेशको राजधानी महिसोथा गढ, पकडिया गढ, स्नानस्थल कमल दह, पत्तार पोखरी लगायतको स्थानहरुमा पनि मेला लागिरहेको छ ।
ती स्थानहरुमा रहेका मन्दिर, तलाउ, वनवाटिकाको सरसफाई तथा पुरातात्विक स्थलमा फोहोर हुन नदिन ती स्थलहरुभन्दा केही पर मात्र पसल सञ्चालन गर्ने स्टल निर्धारण गरिएको छ । यसबाहेक खानेपानी, विश्रामस्थल तथा शौचालयको पनि प्रबन्ध गरिएको आयोजकहरुले जानकारी दिएका छन् ।
राजा सलहेश र उहाँकी प्रेमिका मालिनीको प्रेमगाथाको रुपमा लहानदेखि चार किलोमिटर पश्चिममा रहेको करीब १० विगाहाको प्राचीन फुलबारीको दुई वटा रुखको मध्य भागमा प्रत्येक वर्षको वैशाख १ गते हारमको रुखमा एक जोडी माला देखिने गरेको छ । ती माला र मेला हेर्न सिरहा, सप्तरी, उदयपुर, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही तथा भारतका निकटवर्ती गाउँहरुबाट लाखौंको सँख्यामा सर्वसाधारणहरु यहाँ आएका छन् ।
मालाको अवशेष उक्त रुखमा वर्षको अन्तिम दिन पनि नदेखिने तर वैशाख १ गते विहानीमै आश्चर्यजनक रुपमा माला फुल्ने गरेको फुलबारीस्थित मालिनी मन्दिरका पुजारी जितेन्द्र धामीले जानकारी दिनुभयो । यसबाहेक फूल फल्ने स्थान र राजा सलहेश तथा उनका प्रेमी मालिनीको मन्दिर र मुर्तिहरु विशेष रुपले सजाइएको छ ।
पुजारी धामीका अनुसार राजा सलहेश प्रत्येक दिन सिरहा सदरमुकामस्थित आफ्नो राजधानी महिसोथा गढबाट कमल दहमा स्नान गरी फुलबारीमा आफ्ना साथीहरुसँग कुस्ती लडेपछि प्रेमिका मालिनीसँग वनविहार गर्ने किम्बदन्तीको स्मरण गर्न आजको दिनमा यहाँ लाखौं मानिसहरुको उपस्थिती रहने गरेको छ ।
उक्त फुलबारीमा आई गरेको भाकल पुरा हुने विश्वास यस क्षेत्रका सर्वसाधारणको छ । राजा सलहेस तथा मालिनीको प्रेम दिवसको रुपमा मनाइने वैशाख १ गतेका दिन सोही फुलबारीमा रहेको मालिनी मन्दिर अगाडी कैयौं जोडीहरुले धुमधामका साथ विवाह पनि गर्ने गर्दछन् । salheshवैशाख १ गते मात्र फुल्ने फूल :– प्रत्येक वर्षको वैशाख १ गतेका दिनमा मात्र फुल्ने सलहेस फुलबारीभित्रको जोडी रुखको माला । यो मालाले राजा सलहेस र उनकी प्रेमिका मालिनीको प्रेमगाथाको झल्को दिने गरेको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds