• १५ चैत २०८०, बिहिबार

मधेस प्रदेश सरकारले पायो पूर्णता

blog

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव समक्ष पद तथा गोपनीयताको शपथ लिनुहुँदै मधेश प्रदेशको नवनियुक्त उद्योग, पर्यटन तथा वन राज्यमन्त्री रहबर अन्सारी । उहाँले भोजपुरी भाषामा शपथ लिनु भएको छ । तस्बिरः निरञ्जन कुमार साह/रासस

जनकपुरधाम, माघ २४ गते। मधेस प्रदेश सरकारले पूर्णता पाएको छ। मङ्गलबार नेकपा (माओवादी केन्द्र) का तर्फबाट मन्त्रिपरिषद्‍मा सहभागी भएपछि प्रदेश सरकारले पूर्णता पाएको हो। 

माओवादीको तर्फबाट पठाइएका एक मन्त्री र एक राज्यमन्त्रीलाई मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा मङ्गलबार दिउँसो पद तथा गोपनीयताको शपथग्रहण गराइएको थियो। 

प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष नेकपा (माओवादी केन्द्र)का तर्फबाट उद्योग, पर्यटन तथा वनमन्त्री सुनिता यादव र मुख्यमन्त्री यादवसमक्ष सोही मन्त्रालयको राज्यमन्त्रीमा रहबर अन्सारीले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभयो। यादवले मैथिली भाषामा र राज्यमन्त्री अन्सारीले भोजपुरी भाषामा शपथग्रहण गर्नुभएको थियो। 

गत मङ्सिर ४ गतेको निर्वाचनमा मन्त्री यादव समानुपातिकतर्फ र राज्यमन्त्री अन्सारी प्रत्यक्षतर्फ पर्सा क्षेत्र नं १ (१) बाट निर्वाचित हुनुभएको थियो। 

यसअघि मुख्यमन्त्री यादवले २९ पुसमा तीन जना मन्त्रीसँगै शपथग्रहण गर्नुभएको थियो भने २० माघमा छ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गर्नुभएको थियो। योसँगै मुख्यमन्त्रीसहित १० मन्त्री र चार राज्यमन्त्री गरी १५ सदस्यीय मधेस प्रदेश सरकारले पूर्णता पाएको छ। रासस