पाँच हजार विद्यालयको जग खन्ने साइत जुरेन

काठमाडौँ, वैशाख १० गते । भूकम्पबाट क्षतिग्रस्त विद्यालयमध्ये भारत र चीन सरकारले पुनःनिर्माण गरिदिने भनिएका ७७ वटा विद्यालयको जग खन्ने साइतको अझै अत्तोपत्तो छैन । 

भारत सरकारले ७० र चीन सरकारले सातवटा विद्यालय भवन पुनःनिर्माण गर्ने सम्झौता भएको थियो । दुवै देशले तीन वर्षअघिको भूकम्पबाट बढी क्षति भएकामध्ये ठूला विद्यालय भवन आफूले निर्माण गर्नका लागि छनोट गरेका थिए । ती विद्यालय भवनको पुनःनिर्माणको साइतको टुङ्गो नहुँदा त्यहाँका विद्यार्थी अस्थायी कक्षाकोठामा कष्टकर रूपमा अध्ययन गर्दै आएका छन् ।
शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आइतबार आयोजना गरेको अन्तरक्रियामा शिक्षा मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले ती विद्यालयका पदाधिकारीहरूले भारत र चीन सरकारले बनाउँदैनन् भने हामी आफैँले स्रोत खोजी गरी भवन पुनःनिर्माण गर्छाैं भन्न थालिसकेको जानकारी दिनुभयो । प्रवक्ता अर्यालले भन्नुभयो, “हरेक बैठकमा हामीले भारत र चीनलाई जिम्मा लिएका विद्यालयको पुनःनिर्माण छिटो सुरु गरिदिन भन्दै आएका छौँ । उनीहरू छिटो गर्छाैं भन्छन् तर गरिरहेका छैनन् । ” भारतले गोरखा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, दोलखा र काभ्रेमा प्रतिजिल्ला १० वटाका दरले पाँच अर्ब रुपियाँबराबरको र चीनले काठमाडौँमा एउटा (दरबार हाइस्कुल) तथा सिन्धुपाल्चोक, रसुवा र दोलखामा प्रतिजिल्ला दुईवटाका दरले दुई अर्ब रुपियाँबराबरको विद्यालय भवन पुनःनिर्माण गर्न नेपाल सरकारसँग सम्झौता सम्पन्न भएको छ । भूकम्पले नौ हजार विद्यालय भवनलाई क्षति पु¥याएको थियो । तीमध्ये हालसम्म तीन हजार ६१३ वटा भवन निर्माण सम्पन्न भइसकेको छ । बाँकी भवन आगामी दुई वर्षमा निर्माण गरिसक्ने भनिएको छ ।
केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा)का आयोजना निर्देशक इमनारायण श्रेष्ठले विद्यालय भवन पुनःनिर्माणमा ढिलाइ गर्ने दातृ निकायलाई जिम्मेवारीबाट हटाउन आफूहरूसँग अधिकार नभएको बताउँदै भन्नुभयो, “दुई सरकारबीच भएको सम्झौता रद्द गर्ने अधिकार छैन । छिटो बनाइदिन आग्रह गरिरहेका छौँ । ” सम्पूर्ण विद्यालय भवन निर्माण गरिसक्न अझै ३० अर्ब रुपियाँ आवश्यक रहेको बताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds