काँग्रेस बैठकमा विशेष महाधिवेशन माग

Nepali-congress-750ललितपुर, वैशाख १० गते । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको चुनावी समीक्षा बैठकमा केन्द्रीय सदस्यले विधान संशोधन गरेर महाधिवेशनमा बोलाउन माग गरेका छन् । अघिल्लो महिना सुरु भएर लामो समय स्थगित भएपछि आइतबार बसेको बैठकमा केन्द्रीय सदस्य कुलबहादुर गुरुङले विशेष महाधिवेशनको माग गर्नुभयो । 

काँग्रेसले आफ्नो स्थापनाकालीन नीति र सिद्धान्त तथा नेता बीपी कोइरालाले अवलम्बन गर्नुभएको विचार र चिन्तनलाई छाडेका कारण निर्वाचनमा पराजय भोग्नु परेको विश्लेषणसमेत उहाँले गर्नुभयो ।
चारबुँदे लिखित धारणा प्रस्तुत गर्नुहुँदै नेता गुरुङले पार्टीको नीति, सिद्धान्त र कार्यक्रमभन्दा सत्तालाई प्राथमिकता दिँदा पार्टीको अवस्था कमजोर भएको बताउनुभयो ।
विधानविपरीत बनेको संसदीय बोर्डका सबै सदस्यले निर्वाचनमा टिकट लिए पनि चार जनाले मात्र मुस्किलले विजय हासिल गर्नु निकै लज्जाको विषय भएको विश्लेषणसमेत नेता गुरुङले गर्नुभयो ।
उहाँले भन्नुभयो, “पराजयको जिम्मेवारी संसदीय बोर्डका सबै सदस्य र केन्द्रीय कार्यसमितिले लिनुपर्छ । ” नेता गुरुङले पार्टी सभापति देउवाले पार्टी सभापति हुँदा र प्रधानमन्त्री हुँदा निर्वाह गरेका भूमिका सन्तोषजनक नभएको गुनासोसमेत गर्नुभयो । उहाँले भन्नुभयो, “काँँग्रेसको १३आँैं महाधिवेशनका क्रममा मैले सभापतिमा देउवालाई समर्थन गरेको थिएँ, आजैका मितिबाट त्यो समर्थन फिर्ता लिएको घोषणा गर्छु । ”
पार्टीका मौलिक सिद्धान्त, बीपी कोइरालाको विचार, सुवर्णजी (सुवर्णशमशेर राणा)को त्याग, गणेशमानजी (गणेशमान सिंह)को वीरता र किसुनजी (कृष्णप्रसाद भट्टराई)को आदर्शको बाटोबाट पार्टीलाई अगाडि लैजाने जाँगर र आँट आफूमा रहेको जिकिरसमेत उहाँले गर्नुभयो । उहाँले छ महिनाभित्र निर्वाचनको माध्यमबाट नयाँ नेतृत्व चयन गर्ने गरी महाधिवेशन बोलाउन मागसमेत गर्नुभयो । उहाँले त्यसका लागि केन्द्रदेखि स्थानीय तहसम्मका पार्टीका मौजुदा संरचना भङ्ग गरी अधिवेशन प्रयोजनका लागि तदर्थ समिति बनाउनसमेत माग गर्नुभयो ।
अन्य केन्द्रीय सदस्यहरूले निर्वाचनमा पराजयको कारण विश्लेषण गर्दै पार्टीमा नयाँ दिशा प्रदान गर्न माग गर्नुभएको थियो । केन्द्रीय सदस्य बहादुरसिंह लामाले स्थानीय तहमा पार्टी संरचना निर्माण हुन नसकेको, पार्टीभित्र गुटबन्दी हावी भएको जस्ता कारणले निर्वाचनमा पराजय भोग्नु परेको धारणा राख्नुभयो ।
उहाँले निर्वाचनमा पराजयको दोष पार्टी सभापतिलाई मात्र थुपारेर नहुने भन्दै पार्टीको विधान संशोधन गरेर राज्यको संरचनाअनुसार अगाडि बढ्न सुझाव दिनुभयो ।
केन्द्रीय सदस्य मीन विश्वकर्माले पार्टीभित्र गुटबन्दी र आन्तरिक झगडाका कारण काँग्रेसले उठाएका राष्ट्रिय मुद्दाहरूसमेत असफल हुन पुगेको धारणा राख्नुभयो ।
उहाँले पार्टीभित्र व्यक्तिगत स्वार्थ हावी हुने प्रवृत्ति मौलाएका कारण पार्टीले नसोचेको पराजय भोग्नु परेको धारणा राख्नुभयो । उहाँले चार वर्षका लागि छानिनुभएका पार्टी सभापतिले आधा कार्यकाल बितिसक्दा पनि पदाधिकारी मनोनयन गर्न नसकेको भन्दै आलोचना गर्नुभयो ।
युवानेता प्रदीप पौडेलले विभिन्न स्वार्थी गिरोहले पार्टी कब्जा गर्न थालेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले तत्काल पार्टी महाधिवेशन बोलाउन र सम्पूर्ण क्रियाशील सदस्यले मतदान गरेर पार्टी सभापति चयन गर्ने व्यवस्था गर्न पनि माग गर्नुभयो । बैठकमा ईश्वरी न्यौपाने, देवेन्द्रराज कँडेल लगायतले पनि आआफ्ना धारणा राख्नुभएको बताइएको छ । पार्टी केन्द्रीय कार्यालयका अनुसार अर्को बैठक मङ्गलबार बस्नेछ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds