• १६ चैत २०८०, शुक्रबार

इन्टरनेट पहुँचले बाल यौन दुर्व्यवहारका घटना बढ्दो

blog

ललितपुर, माघ २४ गते । बालबालिकामा इन्टरनेटको पहुँच बढेसँगै अनलाइनमार्फत हुने यौन दुर्व्यवहार बढेको पाइएको छ । फेसबुक, म्यासेन्जर, टिकटक, युट्युब, भाइवर, ह्वाटसअप, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल तथा अनलाइन भिडियो गेममार्फत बाल यौन दुर्व्यवहार हुने गरेको विज्ञहरूले दाबी गर्नुभएको छ । 

भ्वाइस अफ चिल्ड्रेनका निर्देशक कृष्णकुमार थापाले भन्नुभयो, “अनलाइनबाट हुने बाल यौन दुर्व्यवहारमा बालबालिकाको शारीरिक, मानसिक, शैक्षिक, नैतिक, सामाजिक विकास तथा अवस्थामा असर पर्ने गरेको विभिन्न अध्ययनले देखाएका छन् ।” सोमबार ललितपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले केही समयअघि आफूहरूले गरेको अध्ययनले इन्टरनेटको प्रयोगबाट ७५ प्रतिशत बालबालिका यौन हिंसाका सिकार हुने गरेका देखाएको जानकारी दिनुभयो । 

उहाँले भ्वाइस अफ चिल्ड्रेन र बाल यौन शोषण अन्त्यका लागि विश्वव्यापी संस्था (इपिक्याट लक्जम्वर्ग) ले सन् २०१७ मा उपत्यकाका पाँचदेखि १२ वर्ष उमेर समूहका ४५२ बालबालिकामा गरिएको सर्वेक्षणअनुसार ७५ प्रतिशत बालबालिकाले अनलाइनबाट हुने यौन दुर्व्यवहारबाट सुरक्षित हुने उपाय बारे आफूलाई थाहा नभएको बताएको बताउनुभयो । 

उहाँले बालिका मात्र यौन दुर्व्यवहारका सिकार हुन्छन् भन्ने सामाजिक सोच गलत भएको उल्लेख गर्दै २०५२÷५३ सालमा पहिलो पटक नेपालमा बालकहरू पनि यौन दुर्व्यवहारमा पर्छन् भन्ने कुरा स्थापित गर्न आफूहरू सफल भएको बताउनुभयो । उहाँले पछिल्लो समय बालिकालाई जस्तै बालक पनि यौन हिंसाका सिकार बन्ने गरेकोले अभिभावकलाई यसतर्फ सचेत रहन आग्रह गर्नुभयो । 

विज्ञहरूका अनुसार सामाजिक सञ्जालबाट बालबालिकालाई आफ्नो फाइदाको लागि फकाउनु र प्रलोभनमा पार्न, अनलाइनबाट बालबालिकासँग यौनजन्य कुराकानी गर्न तथा उनीहरूलाई यौनजन्य सन्देश, भिडियो र फोटो पठाउनु, बालबालिकालाई नग्न फोटो खिच्न र भिडियो बनाउन लगाउनु वा अनलाइनमा आफैले फोटो वा भिडियो खिच्नु, अरू व्यक्तिको नग्न तस्बिरमा बालबालिकाको अनुहार र शरीर जोडेर फोटो तथा भिडियो बनाउनु र सामाजिक सञ्जालमा राख्नु, अश्लील साइटमा बालबालिकालाई नग्न फोटो र भिडियो पोस्ट गर्न तथा त्यस्ता साइटहरू हेर्न लगाउनु लगायतका कुरा अनलाइनबाट हुने बाल यौन दुर्व्यवहारका स्वरूप हुन् । 

पत्रकार कपिल काफ्ले नेपालमा १० देखि १८ वर्ष उमेर समूहका बालबालिका अनलाइन दुराचारीको फन्दामा पर्ने गरेको बताउनभयो । उहाँले अनलाइन दुराचारीले बालबालिकालाई पहिला साथी बनाउने र त्यसपछि उनीहरूका यौनजन्य सन्देश, भिडियो, नग्न फोटो, भिडियो माग्ने र त्यही कुरा प्रयोग गरेर धम्क्याउने, फकाउने, लोभ देखाउने लगायतका विभिन्न तरिकाबाट दुर्व्यवहार गर्ने गरेको जानकारी दिनुभयो । 

उहाँले बालबालिकालाई इन्टरनेट र स्मार्ट उपकरणको सुविधा मात्र दिने गरेको तर उनीहरूले के—कस्ता सामाग्री हेर्ने गरेका छन् भनेर निरीक्षण नगर्ने गरेकोले यसतर्फ अभिभावक सचेत रहनुपर्ने बताउनुभयो । “इन्टरनेट र स्मार्ट ग्याजेट्सले बच्चा स्मार्ट भएका त छन् तर के त्यो स्मार्ट ग्याजेट्सको प्रयोग स्मार्ट तरिकाले भइरहेको छ भन्ने विषयमा सचेत हुनुपर्ने बेला आइसकेको छ” उहाँले भन्नुभयो, “तपाईँको बच्चा तपाई नजिकै छन् तर उनीमाथि अनलाइन दुव्र्यवहारको सिकार त भइरहेको छैन भन्नेतर्फ पनि ध्यान दिन जरुरी छ ।” उहाँले पछिल्लो समय अनलाइनको माध्यमबाट अन्य समूहका व्यक्तिहरू सबैभन्दा बढी बालबालिका यौन दुर्व्यवहार र शोषणमा पर्ने गरेको बताउनुभयो ।