• ७ वैशाख २०८१, शुक्रबार

व्यावसायिक किवी खेतीमा आकर्षण

blog

रमेश विश्वकर्मा 

गुल्मी, माघ २४ गते । गुल्मीको सत्यवती गाउँपालिकाका कृषकले जिल्लामै सबभन्दा बढी किवी खेती गर्ने गरेका छन् । 

गाउँपालिकाको भार्सेमा हाल २२ हेक्टर क्षेत्रफलमा व्यावसायिक रूपमा गरिँदै आएकोे किवी खेतीबाट किसानले ३८ टन किवी उत्पादन गरेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । यहाँ उत्पादन गरिएको किवी स्थानीय बजारदेखि पाल्पा, बुटवल र काठमाडौँसम्म पुग्ने गरेको छ । 

भार्से गाउँलाई गाउँपालिकाले किवीको पकेट क्षेत्र घोषणा गरेको छ । किवी खेतीबाट किसानको आय वृद्धि गर्न गाउँपालिकाले सहयोग गरेको सत्यवती गाउँपालिका अध्यक्ष टीकाराम पाण्डेले बताउनुभयो ।

किवी खेतीका लागि कृषि ज्ञान केन्द्र गुल्मीले पोल, बिरुवा र सिँचाइमा सहयोग गर्दै आएको छ । किसानलाई किवी खेती गर्न प्रोत्साहन गर्न ज्ञान केन्द्रले किवीको पकेट क्षेत्र निर्धारण गर्ने कार्यालय प्रमुख नवराज भण्डारीले बताउनुभयो । अहिले व्यावसायिक किवी खेतीमा किसानको रुचि बढेको उहाँले जानकारी दिनुभयो । 

किवी खेती गरेर वार्षिक तीन लाख रुपियाँभन्दा बढी आम्दानी गरेको बताउँदै भार्सेका शिवलाल थापाले अन्य खेतीको तुलनामा किवी खेतीबाट राम्रो आम्दानी हुने जानकारी दिनुभयो । बाँदर, बँदेल र चराचुरुङ्गीबाट अन्य बाली जोगाउन मुस्किल परिरहेको अवस्थामा किवी खेती वरदान बनेको स्थानीय कृषकले बताएका छन् । 

यस जिल्लाको सत्यवती गाउँपालिकालगायत कालीगण्डकी, मदाने, मालिका र धुर्कोट गाउँपालिकामा किसानले किवीको व्यावसायिक खेती गर्न सुरु गरेका छन् ।