• १६ चैत २०८०, शुक्रबार

संसद्लाई प्रभावकारी बनाउन तीन शीर्ष नेताहरुबीच छलफल

blog

काठमाडौँ, माघ २४ गते । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग पछिल्लो राजनीतिक घटना क्रमका सन्दर्भमा छलफल गर्नुभएको छ । 

प्रधानमन्त्री प्रचण्डले संसद्को पहिलो दल कांग्रेस सभापति देउवा र प्रमुख सत्ता साझेदार एमालेका अध्यक्ष ओलीसँग सिंहदरबारस्थित  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार सरकार र संसद्को कामकारबाही प्रभावकारी बनाउने विषयमा छलफल गर्नुभएको हो । 

प्रमुख तीन दलका शीर्ष नेताहरूबीचको छलफल मुख्यतः संसद्लाई प्रभावकारी बनाउने विषयमा केन्द्रित थियो । 

शीर्ष नेताहरूको बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री प्रचण्डले सरकारका कामकारबाहीसहित संसद्लाई गतिशील बनाउने विषयमा सुझाव लिनुभएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “प्रधानमन्त्रीजीले संसद्का प्रमुख दलका नेताहरूसँग छलफल गर्नुभएको हो । प्रतिपक्षी दलको नेतासँग छलफल गरेर अघि बढ्ने उहाँको सोच देखिन्छ । राष्ट्रपतिको निर्वाचनसँग संसद्लाई बिजनेस दिनेदेखि अन्य कयौँ विषय छन्, उहाँहरूबीच यिनै विषयमा छलफल भएको छ ।”

एमाले पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली र सभापति देउवाबीच संसद्, सरकार सञ्चालन र राष्ट्रिय सुरक्षासहितका विषयमा छलफल भएको बताउनुभयो । उहाँका अनुसार शीर्ष नेताहरूबीच जनतालाई ‘डेलिभरि’ दिने गरी काम अघि बढाउने गरी परामर्श भएको छ ।