• १२ वैशाख २०८१, बुधबार

नेपाल–जापानबीचको राजनीतिक विश्लेषण

blog

काठमाडौँ, माघ २४ गते । जापान र नेपालको राजनीति र विकासबारे विश्लेषण गरिएको छ। त्रिभुवन विश्वविद्यालयअन्तर्गतको नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) तथा जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका)को संयुक्त आयोजनामा सोमबार आयोजित गोष्ठीमा दुई देशको राजनीतिक परिवर्तन र आर्थिक वृद्धिको प्रवृत्तिगत विश्लेषण विज्ञहरूले गर्नुभयो। 

त्रिभुवन विश्वविद्यालयमा उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाले जापानले नेपालको विकासका लागि गरेको सहयोग र शिक्षा क्षेत्रमा लामो समयदेखि पु-याएको सहकार्यको सराहना गर्नुभयो। उहाँले जापानको स्थिर विकासको अध्ययन गरेर नेपालको विकास गर्न सकिने औँल्याउनुभयो। 

नेपालस्थित जापानको दूतावासका उपप्रमुख तामुरा ताकाहिरोले नेपाल–जापान सम्बन्धमा भएका विभिन्न सहकार्य आगामी दिनमा पनि जारी रहने प्रस्ट पार्नुभयो।

नेपालका लागि जाइकाको प्रमुख प्रतिनिधि ओकुबो अकिमित्सुले जापान–नेपालको आपसी सम्बन्धमा राजनीतिक, आर्थिक र विकास सम्बन्ध अघि बढाउन जाइकाले भूमिका निर्वाह गरेको धारणा व्यक्त गर्नुभयो। 

सिनासका कार्यकारी निर्देशक मृगेन्द्रबहादुर कार्कीले जापानको राजनीति र आर्थिक विकासबाट धेरै कुरा सिक्न सकिने बताउँदै भन्नुभयो, “दोस्रो विश्वयुद्धपछि विश्वमै जापानले आर्थिक विकास हासिल गर्न सफल भयो। जब कि त्यो बेलासम्म पश्चिमा मुलुकको तुलनामा जापान निकै गरिब थियो। जापानको यो सफलतामा मानव पुँजीको पहिचानसम्बन्धी ज्ञान महत्वपूर्ण रहेको छ। राजनीतिक अस्थिरताबीच पनि जापानको आर्थिक विकास लोभलाग्दो र दूरगामी छ।”

जापानको दलीय राजनीतिको इतिहास र अनुभवका विषयमा विज्ञ आयोकिबे काओरूले कार्यपत्र प्रस्तुत गर्नुभयो। त्यस्तै नेपालका विद्यार्थीले तयार पारेको ज्येष्ठ नागरिक र मतदानमा पहुँच शीर्षकमा जेनिक अर्याल र सान्नोन तामाङ, अपाङ्गता भएका व्यक्तिले निर्वाचनका दिन सामना गर्नुपरेको चुनौती शीर्षकमा मनीषा विष्ट र निशा धमलाले कार्यपत्र प्रस्तुत गर्नुभयो।