• १६ चैत २०८०, शुक्रबार

प्रमुख प्रतिपक्षीले सरकारको समर्थन गर्दैन : नारायणमान बिजुक्छें

blog

नारायणमान बिजुक्छें ।

काठमाडौं, माघ २३ गते । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले प्रमुख प्रतिपक्षी दलले सरकारको समर्थन गर्ने परम्परा कहिल्यै नभएको बताउनुभएको छ । 

भक्तपुरमा सोमबार आयोजित एक कार्यक्रममा उहाँले बेलायती प्रजातन्त्रको प्रणाली अनुरूप यसो गर्न नहुने बताउनुभयो । बिजुक्छेंले भन्नुभयो, “त्यसको एउटा कारण छ, राम्रो गर्छु भन्दा भन्दै कहिलेकाहीँ परिणाम ठ्याक्कै उल्टो हुन जान्छ । यसका धेरै उदाहरण छन्, अहिलेको सरकार असफल भयो भने त्यसलाई सच्याउने, जोगाउने भनेको प्रमुख प्रतिपक्षीले नै हो ।”

प्रतिपक्षी दलले अहिलेको सरकार कुनै पनि बेला भङ्ग हुन्छ या असफल हुन्छ, त्यो बेला छाया सरकारको काम गर्नुपर्नेमा कांग्रेसले त्यो कुरा छोडेको आरोप उहाँले लगाउनुभयो । “बेलायती प्रजातन्त्रलाई छोडेको घोषणा नै गर्नुपर्छ । बरु, चीनको जस्तो चिनियाँ कम्युनिष्ट पार्टीबाहेक अरू पार्टी छन्, जसले जापानविरुद्धको लडाइमा सरकारलाई सहयोग गरेका छन् । पश्चिमको प्रजातान्त्रिक शैलीमा होइन कि, पूर्वको प्रजातान्त्रिक शैलीमा जाने भनेर घोषणा गर्नुपर्ने हो”, उहाँले भन्नुभयो ।

राप्रपालाई सदनमा बोल्न नदिइएको सन्दर्भमा पनि उहाँले जोड्नुभयो, “राप्रपालाई बोल्न दिने हो कि नदिने हो ? सदनमै बोल्न नपाउने कस्तो किसिमको प्रजातन्त्र ? एक जना सदस्य उठेर हिन्दु राज्यको पक्षमा बोल्दैमा सब हामी भत्किन्छौँ ? हामीसँग त्यसको उत्तर नहोला । राजा हुँदैमा मात्र देश हुन्छ ? यसको जवाफ त फेरी उहाँहरूले दिनुपर्ने होला नि ।”