• १५ चैत २०८०, बिहिबार

पाठेघरको मुखको क्यान्सर उच्च जोखिम

blog

दमक अस्पतालकी स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. दीप्ति कुँवर

विष्णुप्रसाद पोखरेल

दमक, माघ २३ गते । झापाको दमकमा महिलामा पाठेघरको मुखको क्यान्सर उच्च जोखिम भएको पाइएको छ । नगरपालिकाले दमकस्थित सरकारी अस्पतालमा क्यान्सर तथा सम्भावित क्यान्सर पत्ता लगाउन निःशुल्क सेवा दिन सुरु गरेपछि यहाँ आएका शङ्कास्पद बिरामीहरूको जाँच गर्दा उच्च जोखिम भएको पाइएको छ ।

सामान्य रूपमा पानी बगेको, असहज अनुभूतिका लक्षणहरू लिएर आएका दुई सयको जाँच गर्दा २५ जनामा सम्भावित क्यान्सरको जोखिम रहेको पाइएको दमक अस्पतालकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. दीप्ति कुँवरले बताउनुभयो । उहाँका अनुसार एक जनामा दोस्रो चरणको क्यान्सर समेत भएको पाइएको छ ।

महिनावारी गडबढी हुनु, बीच–बीचमा पनि रगत बग्नु, यौन सम्पर्कपछि रगत बग्नु, फोहोर गन्हाउने पानी बग्नुजस्ता लक्षणहरू लिएर आएकाको जाँच गर्दा क्यान्सरको जोखिम रहेको पाइएको पनि उहाँको भनाइ छ । यो यहीँ उपचार तथा रोकथाम सम्भव हुने र खर्चिलो नहुने पनि उहाँले जानकारी दिनुभएको छ ।

पाठेघरको मुखको पानीको जाँच (प्याप स्मेयर) गरेर पाठेघरको मुखको क्यान्सरबारे थाहा पाउन सकिने बताइएको छ । स्थानीय स्वास्थ्य केन्द्र तथा सहजै रूपमा पनि सम्भावित क्यान्सर पत्ता लगाउन सकिने स्वास्थ्यकर्मीहरूको भनाइ  छ । भिजुअल इन्स्पेक्सन विथ एसिटिक एसिड (भिआइए) स्थानीय स्वास्थ्य चौकीमा नै हुने गर्छ ।

दमकमा महिलामा पाठेघरको क्यान्सरको जोखिम उच्च रहेको पाइएकाले नै महिलाको पाठेघरको मुखको क्यान्सर र स्तनक्यान्सरको सुरुवाती उपचारका लागि सरकारी दमक अस्पतालमा क्रायोथेरापी सेवा सुरु भएको दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराईले बताउनु भयो ।

विभिन्न लक्षण देखिएपछि आएका बिरामीको जाँच गर्दा १२ प्रतिशतभन्दा बढीमा क्यान्सरको जोखिम देखिनुलाई गम्भीर रूपमा लिएको पनि उहाँले बताउनुभयो । सरकारी अस्पतालमा कम आय भएका तथा ग्रामीण महिला आउने जनाउँदै यो सङ्ख्या धेरै नै हुनसक्ने पनि उहाँले जनाउनुभएको छ ।