• ८ वैशाख २०८१, शनिबार

गोल्डेन एथलेटिक्स मिट : तेज र निशा सर्वोत्कृष्ट

blog

गोल्डेन एथलेटिक्सका सर्वोत्कृष्ट खेलाडी तेजबहादुर कार्की र निशा चौधरी । तस्बिर : गोरखापत्र

काठमाडौं, माघ २३ गते । गोल्डेन एथलेटिक्स मिटमा पुलिसका तेजबहादुर कार्की र लुम्बिनी प्रदेशकी निशा चौधरी सर्वोत्कृष्ट खेलाडी चुनिनु भएको छ । एथलेटिक्स परिवार नेपालद्वारा आयोजित प्रतियोगितामा कार्की र चौधरी सर्वोत्कृष्ट खेलाडी चुनिनु भएको हो । 

दशरथ रङ्गशालामा सोमबार सम्पन्न प्रतियोगिताको ५ हजार मिटर पुरुष दौडमा एपीएफका सञ्जीव नेपाली पहिलो हुनुभयो । उहाँले निर्धारित दुरी १५ मिनेट ५३.०३ सेकेन्डमा पुरा गर्नुभयो । पुलिसका सन्तोष नाथ योगी १५ मिनेट ५६.०६ सेकेन्डको समय निकाल्दै दोस्रो र पुलिसकै प्रकाश सिंह १६ मिनेट ०२ सेकेन्डको समयको साथ तेस्रो हुनुभयो । 

महिला ५ हजार मिटरमा धादिङकी सन्तोषी श्रेष्ठ पहिलो हुनुभयो । उनले निर्धारित दुरी १७ मिनेट ३७ सेकेन्डमा पार पार्नुभयो । पुलिसकी राममाया बुढा १८ मिनेट ४४ सेकेन्डको समय निकाल्दै दोस्रो र पुलिसकै रेखा विष्ट १८ मिनेट ४५ सेकेन्डको समय निकाल्दै तेस्रो बन्नुभयो । 

पुरुष दुई समय मिटर दौडमा एपीएफका शिवराज पार्कीले २२.३७ सेकेन्डको समय निकाल्दै पहिलो हुनुभयो । एपीएफकै निर प्रताप महतोले २२.८१ सेकेन्डको समयमा दोस्रो र काठमाडौंका अरुण महतो २३.०५ सेकेन्डको समय निकाल्दै तेस्रो बन्नुभयो । 

महिला स्पर्धामा दाङकी निशा चौधरी २५.७१ सेकेन्डको समय निकाल्दै पहिलो, एपीएफकी रमिताकुमारी थारु दोस्रो र पुलिसकी लक्ष्मी साउद तेस्रो बन्नुभयो । पुरुष ८ सय मिटर दौडमा पुलिसका तेजबहादुर कार्की पहिलो, पुलिसका नागेश्वर ऐर दोस्रो र सुदूरपश्चिमका कुशल जैसी तेस्रो हुनुभयो । सोही स्पर्धाको महिलामा एपीएफकी फुलमती राना पहिलो, एपीएफकै आशा रावत दोस्रो र सीमा चौधरी तेस्रो हुनुभयो । 

पुरुष ट्रिपल जम्पमा एपीएफका सलिम देवान १३.४८ सेन्टिमिटरको दुरी पार गर्दै पहिलो हुनुभयो । महिलामा पुलिसकी सीमा चौधरीले बाजी मार्नुभयो । ज्याभलिन थ्रो पुरुषमा एपीएफका रमेश पोखरे र महिलामा चन्द्रकला लाम्घादे पहिलो हुनुभयो । पुरुष सटपुटमा पुलिसका पुष्कल खड्का र महिलामा पुलिसकी चन्द्रकला लाम्घादे पहिलो हुनुभयो । 

चार बाई चार सय मिटर मिक्स रिलेमा एपीएफको टिम च्याम्पियन बन्यो । लुम्बिनी प्रदेशको टिम दोस्रो र नेपाल पुलिस क्लबको टिम तेस्रो भयो । प्रतियोगितामा विभागीय सहित तीन सय खेलाडीले सहभागिता रहेको थियो ।