• ८ वैशाख २०८१, शनिबार

जिल्ला प्रशासन कार्यालय रौतहटले हटायो बिचौलिया

blog

जिल्ला प्रशासन कार्यालय रौतहट

यादवराज पुरी
रौतहट, माघ २३ गते ।
 बिचौलियाको चलखेलको कारण सेवाग्राही मर्कामा परेको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय रौतहटले कार्यालय वरपरबाट उनीहरूलाई हटाइएको छ ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले सेवा प्रवाहमा बिचौलियाको चलखेल रोक्न कार्यालय आसपास बस्दै आएका बिचौलियाको भीड हटाउन लगाउनुभएको हो ।

प्रजिअ मिश्रले कार्यालय वरपर टेबुल कुर्सी राखेर, बोरा बिच्छ्याएर, दुईचार वटा फाइल राखेर सेवाग्राहीका कामको समेत जिम्मेवारी लिने बिचौलियालाई हटाइएको बताउनुभयो । उहाँका अनुसार वडा कार्यालयले नै अनुसूची सिफारिस गरी पठाउने भएकोले सेवाग्राहीलाई बिचौलियाको आवश्यक नै पर्दैन । बिचौलियाको कारण सेवाग्राहीको पहुँच कार्यालयसँग नहुने र कर्मचारी समेत कार्यालयको कामप्रति उदासीन हुने भएकोले पनि बिचौलिया विस्थापित गर्नु आवश्यक परेको हो ।

बिचौलिया हटेपछि सेवाग्राहीको काममा कार्यालयका तलका कर्मचारीले सहजीकरण गर्छन्, उहाँले भन्नुभयो “कार्यालय हाताभित्र कुनै व्यक्तिले आर्थिक लाभ लिन सेवाग्राहीको काममा चासो राखेको पाइएमा तुरुन्त पक्राउ गर्न आदेश दिएको छु । जनताको काम छिटोछरितो र समय मै सम्पन्न गर्न यथाशीघ्र ‘टाइम कार्ड’ प्रयोगको व्यवस्थासमेत हुँदैछ ।”

जिल्ला प्रशासन कार्यालय अगाडि पसल नै सजाएर यहाँ ई–पासपोर्ट, राष्ट्रिय परिचयपत्रलगायतका फारम भरिन्छ भनी सेवाग्राहीसँग अनधिकृत लाभ लिने व्यवसायी विस्थापित भएका छन् । यसरी बिचौलियाको चलखेल रोकिएपछि सेवाग्राहीको काम सहज, सरल र निःस्वार्थ ढङ्गबाट सम्पादन हुने सेवाग्राहीको विश्वास छ ।