• ८ वैशाख २०८१, शनिबार

सङ्कल्प प्रस्ताव कार्यान्वयन गर्ने व्यवस्था मिलाउन सांसदहरू सहमत

blog

सिंहदरबारमा बसेको प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठक । तस्बिर : न्यूज एजेन्सी

काठमाडौं, माघ २३ गते । संसदमा पेश गरिएका संकल्प प्रस्ताव कार्यान्वयनका लागि सरकार बाध्य हुनेगरी नियमावलीमा व्यवस्था मिलाउन प्रतिनिधिसभाका सांसदहरु सहमत भएका छन् ।

सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा बोल्नुहुँदै नेकपा (एमाले)का उपाध्यक्ष एवम् सांसद सुवास नेम्वाङ, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, जनता समाजवादी पार्टी (जसपा), नेपालका सांसद प्रदीप यादवले संसदमा पेश गरिएको सङ्कल्प प्रस्ताव कार्यान्वयनका लागि सरकार बाध्य हुने गरी नियमावलीमा व्यवस्था गर्न उपयुक्त हुने बताउनुभएको हो ।

पूर्वसभामुख समेत रहनुभएका एमाले सांसद नेम्वाङले सङ्कल्प प्रस्ताव संसदबाट पास गर्नुपर्ने कुरालाई पनि नियमावलीमा बाध्यकारी व्यवस्थाको रुपमा राख्नुपर्ने आवश्यकता औंल्याउनुभयो । सांसद नेम्वाङले भन्नुभयो, ‘‘किन हामी सङ्कल्प प्रस्ताव विचार गरेर पास गर्छौ भने त्यसलाई कार्यान्वयन गर्नुपर्छ भनेर हो । कार्यान्वयन गर्ने कुरा मात्रै सङ्कल्प प्रस्तावमा राख्छौं भन्ने कुरालाई सुनिश्चित गरौं । त्यसो गरियो भने अलि बाध्यकारी हुन्छ कि ।’’

नेपाली कांग्रेसका प्रमुख सचेतक लेखकले मन्त्रीले संसदमा सङ्कल्प प्रस्ताव ल्याउन आवश्यक नरहेको धारणा राख्नु भयो । उहाँले सरकारलाई निर्देशन दिने काम संसदको भएकाले सांसदहरुले मात्रै सङ्कल्प प्रस्ताव संसदमा राख्न उपयुक्त हुने तर्कसमेत गर्नुभयो ।

‘‘मन्त्रीले संसदमा सङ्कल्प प्रस्ताव राख्न पर्दैन । क्याबिनेटबाट पास गरेर संसदमा गर्छौं भन्नु सङ्कल्प नै होइन र । सरकारलाई निर्देशित गर्ने सङ्कल्प भएकाले त्यसलाई सरकारले नै ल्याउनुपर्छ भन्ने छैन । प्रायजसो सङ्कल्प भनेको के हो भने सरकारलाई कुनै राय व्यक्त गर्ने, सिफारिस गर्ने, सरकारको कुनै कुरामा असन्तुष्टि व्यक्त गर्ने र यसलाई यसरी गर भनेर सरकारलाई निर्देशन दिने उद्देश्य हो संकल्पको ।,’’ प्रमुख सचेतक लेखकले भन्नु भयो, ‘‘त्यसकारण यो सबै कुरा संसदले सरकारलाई गर भन्ने भएको हुनाले सरकारले आफैँ सङ्कल्प ल्याएर पार्लियामेन्टबाट पास गराएर अघि बढनुपर्छ भन्ने कुराले खासै अर्थ राख्दैन । त्यसकारण यो नराख्दा पनि हुन्छ ।’’

जसपाका सांसदका प्रदीप यादवले २०७४ सालको प्रतिनिधिसभा बैठकमा पेश गरिएको एउटा संकल्प प्रस्तावको सूचना सङ्घीय संसद् सचिवालयमा ४ महिनासम्म अड्किएको स्मरण गराउँदै त्यसलाई पास गराउने र कार्यान्वयन हुने सुनिश्चितता नियमावलीमै व्यवस्था गर्नुपर्ने धारणा औंल्याउनुभयो । उहाँले सङ्कल्प प्रस्ताव अघि बढाउने कुरामा सभामुखको आदेश मात्रै पर्खेर बस्ने अवस्थाको अन्त्य हुन आवश्यक रहेको बताउनुभयो ।

‘‘२०७४ सालको प्रतिनिधिसभा बैठकमा मलाई सम्झना छ । माननीय खगराज अधिकारीकाे सङ्कल्प प्रस्ताव दर्ता भएको थियो । त्यो सङ्कल्प प्रस्ताव सचिवालयमा दिनुभएको थियो । यसमा ७ दिनभित्र भन्ने लेखिएको छ । तर ४ महिनासम्म सो सूचना सचिवालयमा नै अड्कियो । त्यो सूचना जब संसदमा पेश भयो ।,’’ सांसद यादवले भन्नुभयो, ‘‘सभामुखको अनुमतिले पटकपटक छलफलको क्रममा चाहिँ आउँथ्यो । तर त्यो हटाइन्थ्यो । फेरि आउँथ्यो, फेरि हटाइन्थ्यो । यसरी कति दिन हटाउन सक्ने ? सभामुखको आदेश मात्रै चल्ने हो भने माननीयहरुको के काम ?’’

सांसद यादवले सङ्कल्प प्रस्तावलाई संसदमा पेश गरेपछि त्यसको कार्यान्वयन सरकारले गर्नैपर्ने पनि बताउनुभयो । गत माघ १० गते गठन गरिएको २१ सदस्यीय मस्यौदा समितिलाई १५ दिनभित्र मस्यौदा तयारी पारी प्रतिनिधिसभा बैठकमा पेश गर्ने कार्यादेश दिइएको छ ।