ढोरपाटन आसपासका स्थानीयवासीको जीवनस्तर दयनीय

ढोरपाटन, बाग्लुङ, वैशाख ७ गते । नेपालको एक मात्र शिकार आरक्षका रुपमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरमै परिचित ढोरपाटन आसपासका स्थानीयवासीको जीवनस्तर भने दयनीय छ ।
यस क्षेत्रमा विस्तारै बाटाघाटा बन्ने क्रम बढ्दै गएपनि शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका अत्यावश्यकीय सेवा सुविधाको अभाव रहेको स्थानीयवासीको गुनासो छ ।
पशुपालन र कृषि नै मुख्य पेशाका रुपमा रहँदै आएको ढोरपाटनका अधिकांश सर्वसाधारण अहिले पनि खोलाकै पानी पिउन बाध्य भएको ढोरपाटन नगरपालिका वडा नं ९ का ६७ वर्षीय भद्रमणि सुनारले बताउनुभयो ।
ढोरपाटनमा बस्ने स्थानीय बासिन्दामा अधिकाँश दलित समूदायका छन् । ढोरपाटन नगरपालिका वडा नं ९ का अध्यक्ष नन्दे सुनारका अनुसार यहाँ लगभग ५०० घरपरिवार दलित छन् ।
“यहाँका स्थानीयवासीे जीवनस्तर अत्यन्त कमजोर छ,” उहाँले भन्नुभयो, “अधिकाँश अझै पनि खोलाकै पानी पिउन बाध्य छन् । घरघरमा शौचालयसमेत बन्न सकेको छैन ।”
देशी विदेशी पर्यटक आउने ढोरपाटन आसपासका बासिन्दाको जीवनस्तर उँचो बनाउन नसक्दासम्म यहाँ भएका विकासको लाभ स्थानीयवासीले लिन नसक्ने उहाँको भनाइ छ ।
नेपाली सेनाको संरक्षणमा रहेको ढोरपाटन शिकार आरक्ष पश्चिम नेपालको धवलागिरि हिमशृंखलाभित्र रुकुम, म्याग्दी र बाग्लुङ गरी तीन जिल्लामा फैलिएको छ ।
ढोरपाटन शिकार आरक्ष कार्यालयका क्याप्टेन विक्रम बस्नेतका अनुसार यसको क्षेत्रफल एक हजार ३२५ वर्ग किलोमिटर छ ।
विसं २०४० (सन् १९८३) मा स्थापित यस आरक्षले २०४४ (सन् १९८७) मा मात्र सरकारी मान्यता प्राप्त गरेको थियो ।
उत्तरी सीमामा पुथा, चुरेन र गुर्जा जस्ता हिमाल रहेको यो आरक्ष समुद्री सतहबाट दुई हजार ८५० मिटरदेखि पाँच हजार ५०० मिटरको उचाइमा अवस्थित छ ।
भदौ महिनाको अन्त्यसम्ममै वर्षात् मौसम रहने यस क्षेत्रमा हिउँदमा अत्यन्त चिसो हुने, खोलामा हिउँ जम्ने र जोडसँग हावा चल्ने स्थानीयवासी जीतबहादुर विकले जानकारी दिनुभयो ।
बाग्लुङगको पश्चिम भागस्थित ढोरपाटन बुर्तिवाङबाट लगभग पाँच घण्टाको समयमा पुग्न सकिने बुर्तिवाङका रुद्रप्रसाद पौडेलले बताउनुभयो ।
ढोरपाटन शिकार आरक्षमा नाउर रतुवा मृत जस्ता दुर्लभ वन्यजन्तु पाइने आरक्ष कार्यालयका सिनियर गेम स्काउट सागर सुवेदीले जानकारी दिनुभयो ।
पर्यटनको सम्भाव्य ठाउँ भएर पनि यहाँका जनताको हैसियत कमजोर हुनाका साथै भौतिक पूर्वाधारमा पनि कमी रहेको उहाँको भनाइ छ ।
उहाँका अनुसार पर्यटकलाई लक्ष्य गरी यहाँ होटल निर्माण हुन सकेको छैन । एउटै मात्र सामुदायिक होटलका कारण ठूलो संख्यामा पर्यटक आएमा होटल नपाउने समस्या रहेको छ ।
सामुदायिक होटलमा हाल ४० शय्या रहेका छन् । होटलका सञ्चालक सुरज पौडेलका अनुसार जम्माजम्मी एकसय जना पर्यटकसम्मलाई एक रात बास दिन सकिन्छ ।
ढोरपाटन शिकार आरक्षमा गोब्रे सल्ला, सल्ला, भोजपत्र, लालीगुराँस, ठिँग्रे सल्ला, सिंदूर, धुपी तथा देबदारु लगायतका वनस्पति पाइन्छन् ।
यस क्षेत्रमा १८५ प्रकारका दुर्लभ वनस्पति पाइन्छन् भने ३२ थरीका स्तनधारी वन्यजन्तु देख्न सकिन्छ ।
त्यस्तै, १३० प्रजातिका चराचुरुङ्गी, ८५२ नाउर, २०० झारलसहित हिउँ चितुवा, चित्तल, थारल, घोरल, भालु, बँदेल, लंगूर लगायतका जंगली जनावर र पक्षीहरू यहाँ रहेका छन् ।
आरक्षमा शिकारका लागि यस वर्ष सात वटा शिकार कम्पनीले अनुमति लिएको सिनियर गेम स्काउट सुवेदीले जानकारी दिनुभयो ।
“यहाँ शिकार गर्ने दुई याममध्ये एउटा असोज १५ देखि मंसिर १५ हो भने अर्को माघ १५ देखि वैशाख १५ हो,” उहाँले भन्नुभयो, “यस वर्ष अहिलेको सिजनका लागि १० वटा नाउर र छ वटा झारलका लागि स्वीकृति दिइएको छ ।”
शिकार गरिसकेपछि आरक्षको नियम अनुसार शिकारीले सिङ र छाला मात्र लैजान पाउने प्रावधान छ ।
शिकारका क्रममा पोथीलाई शिकार गर्न पाइँदैन । साथै घेरा हालेर, पानी खाँदै गर्दा, सूर्योदय र सूर्यास्त पछि शिकार गर्न नपाइने जस्ता नियमहरू यहाँ रहेका छन् ।
टेन्डर प्रक्रियाअनुसार शिकार गर्न लाग्ने राजस्व वर्षेनि भिन्नभिन्न हुन सक्ने जानकारी दिँदै उहाँले यस वर्षका लागि नाउरको शिकारका लागि एक लाख ५९ हजार रुपैयाँ र झारलका लागि एक लाख १५ हजार १११ रुपैयाँ राजस्व बुझाउनु पर्ने व्यवस्था भएको बताउनुभयो ।
नेपालको एक मात्र शिकार आरक्ष भएका कारण पनि यसको छुट्टै किसिमको पर्यटकीय आकर्षण रहेको नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल्स एशोसिएसन(नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सन्तोष पोखरेलले बताउनुभयो ।
यहाँको पर्यटन प्रवद्र्धनका साथै वास्तविकताको अध्ययन गर्न पर्यटन बोर्डको प्रवद्र्धन एवम् नाट्टा पश्चिमाञ्चल क्षेत्रीय संघको आयोजनामा चैतको तेस्रो साता पर्यटन व्यवसायी, सञ्चारकर्मी र जनप्रतिनिधिसहितको टोलीबाट उक्त क्षेत्रको अवलोकन भ्रमण गर्ने काम भयो ।
“विकासको लाभ लिनसक्ने गरी स्थानीयवासीको जीवनस्तर उकास्न अपरिहार्य भएको छ,” पोखरेलले भन्नुभयो – “यसतर्फ राज्यको ध्यान गम्भीर रुपमा आकृष्ट हुनुपर्छ ।”
यहाँ होटललगायतका पूर्वाधार निर्माणका लागि लगानी गर्ने उचित वातावरण सरकारले बनाइदिनुपर्ने उहाँको भनाइ छ ।
ढोरपाटनको समग्र विकासका साथै आसपासका स्थानीयसवासीको जीवनस्तर सुधार्ने कार्यक्रम ल्याउन पहल गर्ने बाग्लुङबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने सांसद डा. सूर्य पाठकले वचनबद्धता प्रकट गर्नुभयो ।  (रासस)

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds