• १६ चैत २०८०, शुक्रबार

मिडिया विधेयकलाई तत्काल अगाडि बढाउने तयारीमा छौंः सञ्चारमन्त्री शर्मा

blog

प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघको भेटघाट कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा । तस्बिर : न्यूज एजेन्सी

काठमाडौं, माघ २३ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले संसदमा पेस गर्न बाँकी मिडिया विधेयकलाई तत्काल अगाडि बढाउने कार्ययोजनासहित अघि बढेको बताउनुभएको छ ।

सोमबार प्रेस काउन्सिल र नेपाल पत्रकार महासङ्घको भेटघाट कार्यक्रममा बोल्नुहुँदै सञ्चार मन्त्री शर्माले संसदमा पेस गर्न बाँकी मिडिया विधेयकहरूलाई सरकारले तत्काल अगाडि बढाउने कार्ययोजनामा रहेको बताउनुभएको हो ।

उहाँले त्यसका लागि तत्काल सरोकारवाला निकायहरूले आवश्यक सल्लाह सुझावहरू मन्त्रालयलाई दिन पनि आग्रह गर्नुभयो । मन्त्री शर्माले आमसञ्चार क्षेत्रका लागि बनेका कानुनहरू अधिकांश पुराना भएकाले वर्तमान अवस्थाका आधारमा कानुनहरू परिमार्जन गर्न आवश्यक रहेको र सरकार सकारात्मक रहेको बताउनुभयो ।


सञ्चारमन्त्री शर्माले भन्नुभयो, ‘‘आमसञ्चार क्षेत्रका विज्ञहरूको समेत सुझाव लिएर सरकारलाई मिडिया विधेयकका बारेमा तत्काल सल्लाह सुझाव दिन आग्रह गर्दछु । सरकारले संसदमा पेस भएर बसेको मिडिया विधेयकहरू अगाडि बढाउने कार्ययोजना बनाएर अगाडि बढ्ने तयारीमा छौँ । मिडिया र आम सञ्चारको क्षेत्रलाई आवश्यक ऐन कानुन र अन्य काम गर्दा सरकार र सरोकारवाला निकायहरू सहकार्यमा अगाडि बढ्न सरकार तयार रहेको छ ।’’

मन्त्री शर्माले आमसञ्चार क्षेत्रलाई आवश्यक ऐन, कानुन बनाउँदा सरोकारवाला निकायहरूसँग सहकार्य गरेर अगाडि बढ्न सरकार तयार रहेको बताउनुभयो । उहाँले आमसञ्चार क्षेत्रको विकास, समृद्धि र सबलीकरण हुनु भनेको राज्यको सबलीकरण हुनु सरह रहेको जानकारी दिनुभयो । मन्त्री शर्माले देशको राजनीतिक परिवर्तन र पत्रकारिता अभिन्नअंगका रूपमा जोडिएको भन्दै राजनीति र पत्रकारिता सहकार्यले मात्रै मुलुकमा ठूला–ठूला राजनीतिक परिवर्तन सम्भव भएको धारणा राख्नुभयो ।


‘‘आमसञ्चारको क्षेत्र एउटा महत्त्वपूर्ण क्षेत्र हो । यो क्षेत्रको विकास, समृद्धि र सबलीकरण हुने राज्यको सबलीकरण हुनु हो । देशको राजनीतिक परिवर्तन राजनीति र पत्रकारिता अभिन्नअंगका रूपले जोडिएको छ । राजनीति र पत्रकारिता जोडिएको थिएन भने ठूला–ठूला राजनीतिक परिवर्तन सम्भव थिएन ।,’’ उहाँले भन्नुभयो, ‘‘राजनीतिक परिवर्तनमा काँधमा काँध मिलाएर मिडिया सकारात्मक नहुँदा के हुन्छ र नकारात्मक रूपमा रोल गर्दा कस्तो असर पर्छ भन्ने कुरा हामीले भोग्दै आएको कुरा हो । त्यसैले मिडिया र सरकार सकारात्मक रूपमा जोडिएर अगाडि बढ्नुपर्छ । नकारात्मक विषयमा आलोचनात्मक रूपमा लेख्ने र सकारात्मक विषयलाई सकारात्मक भएर लेख्ने विषयमा सहकार्य गरेर अगाडि बढ्दा सरकारकालाई कुनै बेफाइदा गर्दैन । आलोचनाले कसैलाई पनि बेफाइदा गर्दैन ।’’

सञ्चारमन्त्री शर्माले मिडिया सकारात्मक हुँदा मात्रै परिवर्तन सम्भव रहेको भन्दै मिडिया र सरकार सकारात्मक रूपमा जोडिएर अगाडि बढ्नुपर्ने आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले नकारात्मक विषयमा आलोचना गर्दा कसैलाई बेफाइदा नहुने बताउनुभयो ।