• ४ वैशाख २०८१, मङ्गलबार

हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने अभियान सञ्चालन हुँदै

blog

यादवराज पुरी
रौतहट, माघ २३ गते ।
जिल्ला स्वास्थ्य कार्यालय रौतहटले हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान चलाउने भएको छ । अघिल्लो पटक यस रोगविरुद्धको औषधि बहुसङ्ख्यक मानिसले नखाएका कारण यसपटक अभियान नै सञ्चालन गरी औषधि खुवाउन थालिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुरेश यादवका अनुसार जिल्लामा आगामी फागुन ११ देखि २५ गते भित्र नागरिकको घरघरै पुगी औषधि खुवाइने छ । स्वास्थ्य कार्यालयको आयोजनामा आइतबार बसेको जिल्ला स्तरीय योजना तर्जुमा गोष्ठीले हात्तीपाइलेको औषधि खुवाउन अभियान सञ्चालन गर्ने जनाएको थियो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रामकुमार महतो र आरटीआई प्रमुख धर्मपाल रमणका अनुसार जिल्लामा करिब आठ लाख ४८ हजार जनसङ्ख्यामध्ये दुई वर्षभन्दा कम उमेर समूहका बालबालिका, सिकिस्त बिरामी, गर्भवती महिला, सात दिने सुत्केरी र गम्भीर प्रकृतिका रोग लागेका व्यक्तिबाहेक सबैलाई औषधि खुवाइने छ । हात्तीपाइले रोगलाग्नबाट बच्न औषधि खानु नै सर्वोत्तम उपाय हो ।

“हात्तीपाइले (फाइलेरिया) सरुवा रोग हो । यो लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । यो रोग लाग्दा विशेषगरी मानिसको खुट्टा साधारणभन्दा मोटो हुने तथा हात्तीको जस्तो देखिने भएकोले यसलाई हात्तीपाइले रोग भनिएको हो ।,’’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत महतोले भन्नुभयो, ‘‘लामखुट्टेले हात्तीपाइले रोग भएको मानिसलाई टोकेर उसमा भएको परजीवी आफूमा लिन्छ र अन्य स्वस्थ मान्छेलाई टोकेर ती परजीवी सारीदिन्छ । यसरी नै हात्तीपाइले रोग एक व्यक्तिबाट अर्कोमा सर्छ ।”