• ८ वैशाख २०८१, शनिबार

देवशिला : सम्बन्धको ‘सेतु’

blog

१९ माघको बिहान बाक्लो हुस्सुमा ठण्डीको पर्वाह नगरी अयोध्याको रामसेवकपुरमा श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका अधिकारीहरू, नेपालबाट ठूलो सङ्ख्यामा गएको प्रतिनिधिमण्डलका सदस्यहरू, साधुसन्त र सर्वसाधारण दर्शनार्थीसँगै ठूलो सङ्ख्यामा सञ्चारकर्मीको घुइँचो लागेको थियो । रामसेवकपुरमा लागेको त्यो घुइँचो नेपालको जानकी मन्दिरका तर्फबाट अयोध्यामा उपहारका रूपमा पठाइएको देवशिलाको दर्शनका साथै शिला हस्तान्तरण कार्यक्रम हेर्नका लागि थियो । कालीगण्डकीबाट उत्खनन गरी ल्याइएको यो त्यही शिला हो; जसबाट भगवान् रामको बालस्वरूप मूर्ति बनाइँदै छ ।

राम जन्मभूमि अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने रामको बालस्वरूप मूर्ति बनाउन कालीगण्डकीबाट ल्याइएको शिला हिन्दु परम्पराअनुसार त्यस दिन पूजाआजा गरी राम मन्दिर निर्माण ट्रस्टलाई हस्तान्तरण गरियो । एक भव्य समारोहबीच पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधि र जनकपुरको जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले उक्त शिला श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चम्पत रायलाई हस्तान्तरण गर्नुभयो । मन्दिरका लागि कलात्मक मूर्तिलगायतका सामग्री निर्माण स्थल रामसेवकपुरमा कालिगडहरूले शिला कुँदेर रामको बालस्वरूप मूर्ति तयार पार्नेछन् । यसबाट राममन्दिरको गर्भगृहमा राखिने मूर्तिको अनन्तकालसम्म महìव त रहने छ नै, साथै नेपाल–भारतबीच सदियौँ पुरानो सम्बन्धको इतिहासमा युगान्तकारी काम भएको विश्लेषण गरिएको छ । 

शिला हस्तान्तरण कार्यक्रममा कांग्रेस नेता निधिले अयोध्या आएर शिला हस्तान्तरण गर्न पाउनु आफ्नो लागि गौरवको काम भएको भन्दै कालीगण्डकी क्षेत्र र गलेश्वरधामको दर्शनका लागि नेपालमा जान भारतीयलाई आह्वान गर्नुभयो । उहाँले नेपाल–भारतबीच रामायण सर्किट निर्माणले पूर्णता पाउनुपर्नेसमेत औँल्याउनुभयो । निधिका अनुसार तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको समयमा नेपाल र भारतबीच भारतीय सहयोगमा रामायण सर्किट निर्माण गर्ने सहमति भएको थियो ।

शिला हस्तान्तरण कार्यक्रममा राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पङ्कजले पवित्र देवभूमि नेपालको कालीगण्डकी नदीबाट शिला ल्याउनु एक ऐतिहासिक र पुण्य काम भएको भन्दै यसबाट दुवै देशले लाभ उठाउने विश्वास व्यक्त गर्नुभयो । यसैगरी जानकी मन्दिरका महन्थ दासले नेपालबाट त्रेतायुगमा सीता पठाइएको र कलियुगमा रामको प्रतिमा पठाइएकोमा खुसी प्रकट गर्नुभयो । नेपाल र जानकी मन्दिरका तर्फबाट कोसेलीका रूपमा देवशिला पठाइएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “दुई देश र मिथिला–अबध सम्बन्ध अझै बलियो हुनेछ, हाम्रो सम्बन्ध अनन्तकालसम्म रहन्छ ।” 

यसरी सम्भव भयो

९ नोभेम्बर, २०१९ मा भारतको सर्वोच्च अदालतले राम मन्दिरका पक्षमा फैसला गरेसँगै नेपालबाट अयोध्यामा शिला र धनुष पठाउने कामका लागि कांग्रेस नेता निधिले नै अग्रसरता लिनुभएको हो । त्यसका लागि उहाँले गत साउन २४ गते ट्रस्टका महासचिव चम्पक राय, जनकपुरका महन्थ रामतपेश्वर दाससँग अयोध्यामै पुगेर सरसल्लाह गरी नेपाल सरकारसँग आवश्यक समन्वय गर्नुभएको थियो । त्यसलगत्तै निधि, अयोध्या राममन्दिर निर्माण समितिका अध्यक्ष नृपेन्द्र मिश्र तथा भारतको सत्तारूढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच नयाँदिल्लीमा बृहत् छलफल भएको थियो । 

छलफलमा राम जन्मभूमि ट्रस्टले राम मन्दिरको गर्भगृहमा राखिने पवित्र मूर्ति कालीगण्डकीको शिलाबाट बनाउनुपर्ने निष्कर्ष निकालेपछि यो प्रक्रिया अघि बढेको हो । यसको पहल गर्न ट्रस्टका महासचिव रायले आग्रह गरेपछि शिला उत्खनन गरी नेपालबाट भारत लैजाने सबै चाँजोपाँजो मिलेको हो । दुई देशबीच औपचारिक रूपमा पत्राचार भएपछि पुस ३ गते शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को बैठकले रामको प्रतिमा निर्माण गर्न प्रयोग गरिने शालिग्राम शिलाको खोजी गर्ने र भारत पठाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णय र खानी तथा भूगर्भ विभागको अनुमतिपछि नदीबाहिर रहेको शिला छनोट गरिएको हो । 

शिला छनोट गरिसकेपछि यही माघ १ गतेका दिन कालीगण्डकी किनारमा कांग्रेस नेता निधि र राममन्दिर निर्माण समितिका अध्यक्ष मिश्रसहितको उपस्थितिमा क्षमापूजा र भूमिपूजा गरियो । सो कार्यक्रममा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली, म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, बेनी नगरप्रमुख सुरत केसीलगायतको उपस्थिति थियो । पूजा गरिएको ११ दिनपछि १२ माघमा वसन्त पञ्चमीका दिन म्याग्दीबाट जनकपुरका लागि शिला प्रस्थान गरेको थियो । अयोध्यासम्म शिला पु-याउने काममा गण्डकी प्रदेश सरकारले सहयोग गरेको थियो ।

म्याग्दीको बेनी नगरपालिका–६, ठूलो पहिरोस्थित कालीगण्डकी नदी किनारबाट क्रेनमार्फत निकालिएका सात फिट लम्बाइ, पाँच फिट चौडाइ र ३.५ फिट मोटाइका दुईवटा शिला लहरीमा राखेर माघ १८ गते राति अयोध्या पु-याइएको थियो । १८ र १६ मेट्रिकटन तौल भएका दुई शिला पोखरा, चितवन, हेटौँडा, जनकपुर, दरभङ्गा, मुजफ्फरपुर, गोरखपुर हुँदै अयोध्यासम्म पु-याउन आठ दिन लागेको थियो । यो आठ दिनमा शिलाले करिब ११ सय किलोमिटरको दूरी पार गरेको थियो । 

म्याग्दीदेखि अयोध्यासम्म पुग्दा बाटोमा हजारौँ भक्तजनले शिलालाई रामको स्वरूप मानी पूजाआजा गरेका थिए । जनकपुरबाट माघ १६ गते बिहान ११ बजे प्रस्थान गरेको शिला मुजफ्फरपुर पुग्दा रातिको २ बजेको थियो । त्यतिबेलासम्म पनि बालबालिकादेखि महिला शिला दर्शनका लागि सडकमा पर्खेर बसेका थिए । २८ अगस्ट, २०२० देखि निर्माण सुरु गरिएको १६१ फिट अग्लो मन्दिर सन् २०२४ को जनवरीमा उद्घाटन गरिसक्ने श्रीराम जन्मभूमि तीर्थक्षेत्रका महामन्त्री रायले जानकारी दिनुभयो । उहाँका अनुसार सो समयभित्र मन्दिर निर्माण कार्य सम्पन्न नभए पनि कम्तीमा पहिलो तला निर्माण गर्ने योजनाअनुसार कामलाई गति दिइएको छ । 

राममन्दिर ट्रस्टका सदस्य डा. अनिल मिश्रका अनुसार ३६५ फिट लम्बाइ, २६५ फिट चौडाइ र १७० फिटको मन्दिर निर्माणका लागि दैनिक ५५० जना कामदार खटिएका छन् । मन्दिरको पहिलो तलामा १६८ पिलर, दोस्रो तलामा १३० र तेस्रो तलामा ७८ वटा पिलर राखिनेछ । मन्दिरको एउटा प्रमुख विशेषता भनेको यसमा फलाम र सिमेन्ट प्रयोग गरिएको छैन । जसका कारण कम्तीमा एक हजार वर्षसम्म टिक्ने अपेक्षा गरिएको छ । 

अयोध्या विवाद

राम जन्मभूमिस्थल अयोध्या लामो समयदेखि विवादित बन्दै आएको थियो । एउटै जमिनलाई हिन्दुले राम जन्मभूमि र मुसलमानले आफ्नो पवित्र मस्जिद भएको दाबी गर्दै आएकोमा भारतको सर्वोच्च अदालतले ९ नोभेम्बर, २०१९ मा राम जन्मभूमिको पक्षमा फैसला सुनाएपछि मन्दिर निर्माणको काम अघि बढेको हो । अयोध्याको रामजन्मभूमि बाबरी मस्जिद विवादका क्रममा भएको हिन्दु–मुस्लिम दङ्गामा दुई हजारभन्दा धेरै मानिसले ज्यान गुमाएका थिए । अदालतबाट विवादित स्थलमा राममन्दिर निर्माण गर्न बाटो खुलाएको फैसलासँगै राममन्दिर निर्माणका लागि ट्रस्ट बनाउने आदेश पनि भएको थियो । सोही आदेशअनुसार केन्द्र संसद्ले ट्रस्ट बनाएर काम अघि बढाएको हो । जसअनुसार ५ अगस्ट, २०२० मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राममन्दिरको भूमिपूजाका अवसरमा सन् २०२४ भित्र निर्माण कार्य पूरा गरिसक्न निर्देशन दिनुभएको थियो । 

हिन्दु धर्मको पक्षपाती रहेको सत्तारूढ भारतीय जनता पार्टीले उक्त विवादित ठाउँमा राममन्दिर बनाउने विषयलाई आफ्नो प्रमुख मुद्दा बनाउँदै आएको थियो । अयोध्या भूमि रहेको उत्तरप्रदेश सत्तारूढ भाजपाको सबैभन्दा बलियो क्षेत्र हो । जहाँ पछिल्लो दुई कार्यकालदेखि योगी आदित्य मुख्यमन्त्री छन् । 

भारतको अयोध्या र नेपालको जनकपुरधामबीच त्रेतायुगदेखि सम्बन्ध रहिआएको छ । अयोध्यामा निर्माणाधीन राम मन्दिरमा रामको बालस्वरूप मूर्ति बनाउन कालीगण्डकीबाट पठाइएको देवशिलाले नेपाल–भारत सम्बन्धमा नयाँ ‘सेतु’को काम गर्ने अपेक्षा गरिएको छ । यति मात्र होइन, युगौँदेखि चलिआएको नेपाल–भारतबीचको सामाजिक, धार्मिक, सांस्कृतिक, राजनीतिक, व्यापारिक र नागरिक सम्बन्धलाई देवशिलाले थप उचाइमा पु-याउने विश्वास शिला हस्तान्तरण कार्यक्रममा दुवै देशका अधिकारीहरूले व्यक्त गरेका छन् ।