• १६ चैत २०८०, शुक्रबार

‘दमक भ्युटावर’को आसपासमा एकीकृत जग्गा व्यवस्थापनको काम सुरु

blog

दमक समाचारदाता

दमक, माघ २३ गते । झापाको दमकमा निर्माणाधीन ‘दमक भ्युटावर’को आसपासमा एकीकृत जग्गा व्यवस्थापनको काम सुरु भएको छ। नेपालकै सबभन्दा अग्लो हुने भनिएको भ्युटावरसँगै ‘स्मार्ट सिटी’ अर्थात् नयाँ सहर विकासका लागि एकीकृत जग्गा व्यवस्थापनको प्रक्रिया सुरु भएको हो।

यसका लागि चालू आर्थिक वर्षमा दमक नगरपालिकाले एक करोड रुपियाँ बजेट विनियोजन गरेको छ। दमकभित्र अब ‘नयाँ दमक’ बन्ने वडाध्यक्ष नवीन बरालले बताउनुभएको छ। “दमक भन्नेबित्तिकै बजार क्षेत्र र घना बस्तीलाई बुझिने गरेकाले यो ग्रामीण क्षेत्रमा अब ‘नयाँ दमक’ बनाउने कामको थालनी भएको छ,” बरालले भन्नुभयो।

जग्गा एकीकरणका लागि स्थानीयले नगरपालिकालाई जमिन उपलब्ध गराउनुपर्ने सर्त राखिएको छ। नगरपालिकाले उक्त जमिनमा तोकिएको मापदण्डमा रहेर सडक, विद्युत्, खानेपानी, ढल, बगैँचा, विद्यालय, स्वास्थ्य चौकीलगायतका संरचना बनाउनका लागि प्राविधिक सहयोग गर्नेछ।

“हामीले परामर्शदाता नियुक्त गरेर काम अघि बढाएका छौँ,” वडाध्यक्ष बरालले भन्नुभयो। प्रारम्भिक चरणमा ‘ल्यान्ड पुलिङ’को काम सकिएको छ। अहिले धमाधम एकीकृत जग्गा व्यवस्थापनको काम सुरु भएको बरालले बताउनुभएको छ। स्थानीयस्तरमा यसका लागि सहयोग समिति बनेर उसैले परामर्शदातालाई सहयोग पनि गरिरहेको छ।

जग्गा एकीकरण तथा व्यवस्थापन सहयोग समितिका अध्यक्ष शान्तिराम गौतमका अनुसार प्रारम्भिक चरणमा ५९ बिघा जमिनमा काम सुरु भएको छ। स्थानीयवासीले कम्तीमा १२ धुरदेखि तीन बिघासम्म जग्गा दिएको पनि उहाँले बताउनुभयो। 

एक अर्ब ५० करोडभन्दा बढीको लागतमा निर्माणाधीन भ्युटावरको ७५ प्रतिशतभन्दा बढी काम भइसकेको छ। सम्झौताअनुसार वि.सं. २०८० असार मसान्तसम्ममा भ्युटावरको काम सम्पन्न भइसक्नुपर्नेछ। भ्युटावर बनाउनका लागि स्थानीयवासीले निःशुल्क रूपमा पाँच बिघा जमिन उपलब्ध गराएका थिए।

१८ तलाको क्रङ्क्रिट ढलान कार्य सकिएर त्यहाँभन्दा माथिको २८ मिटर अग्लो स्टिल टावर निर्माणको काम अन्तिम चरणमा पुगेको छ। यो नेपाल सरकारको आफ्नै लगानीमा गौरवको योजनाका रूपमा निर्माण भइरहेको छ।