• ६ चैत २०८०, मङ्गलबार

वीरेन्द्रनगरलाई आधुनिक शहर बनाउने

blog

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलमा सहभागी मुख्यमन्त्री तथा मन्त्री।

नवीन सुवेदी

सुर्खेत, माघ २२ गते।  कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगर नगरपालिका, संघीय सरकार समेतको सहकार्यमा प्रदेश मुख्यालय रहेको वीरेन्द्रनगरलाई आधुनिक एवम् व्यवस्थित शहर बनाउने तयारी सुरु गरेको छ। 

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आइतबार आयोजना गरिएको  वीरेन्द्रनगर नगरपालिकाको स्थानगत एकीकृत विकास योजना अवधारणा सार्वजनिक कार्यक्रममा प्रदेश प्रमुख सचिव डा. गोपीकृष्ण खनालले आगामी जेठ मसान्तसम्म वीरेन्द्रनगर कस्तो बनाउने भन्ने विवरण आइसक्ने बताउनुभयो। 

उहाँले वीरेन्द्रनगरलाई सभ्य, सुन्दर, हरित, व्यवस्थित, समृद्ध शहरको रुपमा विकास गर्न यो अवधारणा ल्याइएको बताउनुभएको छ। कर्णाली प्रदेशको राजधानीको रुपमा २०७४ साल फागुन १२ गते प्रदेश सभाको बैठकले निर्णय गरिसकेको हुँदा यो शहरलाई आधुनिक र व्यवस्थित बनाउन आवश्यक देखिएको उहाँको भनाइ छ। 

मुख्यमन्त्री राजकुमार शर्माले योजना बनेपछि लागतदेखि सबै कुरा आउने बताउँदै तीनै तहका सरकारको सहकार्यमा वीरेन्द्रनगर बनाइने बताउनुभयो। हामी कुरा गर्न होइन, काम गर्न आएका हौं। उहाँले भन्नुभयो, ‘‘विकास रातारात हुँदैन, प्रदेश मुख्यालय भएका कारण हामी सुरुमा वीरेन्द्रनगर बनाउँछौं, त्यसपछि अन्य शहर निर्माण गर्छौं।’’