• ११ वैशाख २०८१, मङ्गलबार

समाजवादीको बैठकमा राष्ट्रिय महाधिवेशन तयारी सम्बन्धमा छलफल

blog

बैठकपछि पत्रकारलाई प्रतिक्रिया दिनुहुँदै एकीकृत समाजवादीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा ।

काठमाडौं, माघ २१ गते। नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशन तयारी सम्बन्धमा छलफल भएको छ। 

बालकुमारीमा हिजो शनिबारदेखि बसेको बैठकमा गएको निर्वाचनमा प्राप्त मत परिणाम र त्यसमा पार्टीले लिएको नीति के कति राम्रा वा गल्ती थिए भन्नेबारे पनि बृहत छलफल भएको उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै खतिवडाले भन्नुभयो, “देशको राजनीतिक अवस्थालाई मध्यनजर गर्दै शान्ति, स्थिरता, विकास सुशासनका लागि हामीले नै मद्दत गर्नुपर्छ भन्ने निष्कर्ष निकालेका छौं। अबको जेठसम्म स्थानीय कमिटीलाई एउटा कार्ययोजना पठाएका छौं। संगठन सुदृढीकरण गर्ने, प्रदेश अधिवेशनको काम सम्पन्न गर्ने, पार्टी गठन, पुनर्गठनको काम।”

आउँदो वर्षको फागुन महिनाभित्र पार्टी राष्ट्रिय महाधिवेशन गर्ने सम्बन्धमा उहाँले भन्नुभयो, “अर्को वर्षको फागुन महिनाभित्र राष्ट्रिय महाधिवेशन गर्छौ भनेर सम्पूर्ण ध्यान त्यतातिर केन्द्रीत गर्छौं। देशको वामपन्थी आन्दोलनलाई एकजुट बनाउन हामीले पहलकदमी गर्ने।”

उहाँले स्थानीय निर्वाचन सम्पन्न भएकै नौ, दश महिना बितिसकेको अवस्थामा आगामी निर्वाचनलाई समेत मध्यनजर राखेर सबै वडामा आफनो चुनाव चिह्न लिएर जाने गरी अगाडि बढ्नुपर्ने बताउनुभयो।

अहिलेको सरकारको सन्दर्भमा उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय राजनीतिको शक्ति केन्द्रको खेल मैदानका रुपमा नेपाललाई प्रयोग गर्न खोजेको प्रयास सफल हुन नदिन, संविधान, राष्ट्रियता यी सबैको पक्षमा हाम्रो पार्टी लाग्छ।”

राष्ट्रपति निर्वाचन सन्दर्भमा विपक्षी गठबन्धनको पक्षमा आफूहरु रहने उहाँको भनाइ छ। “एमालेसँग अहिले कुनै एकताको सम्भावना छैन। राष्ट्रपतिको चुनावको विषयमा विपक्षी गठबन्धन जहाँ हुन्छ, हामी त्यही हुन्छौं”, उहाँले भन्नुभयो।