• १६ चैत २०८०, शुक्रबार

तरकारी बिक्री वितरणमा संलग्न बिचौलियलाई जेल चलान गर्न सांसद शाहीको माग

blog

प्रतिनिधि सभा बैठकमा आफ्नो धारणा राख्नुहुँदै सांसद ज्ञानेन्द्रबहादुर शाही । फाइल तस्बिर

काठमाडौं, माघ २२ गते । सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले तरकारीको बिक्री वितरणमा संलग्न बिचौलियाहरुलाई तत्काल जेल चलान गर्न सरकारसँग माग गर्नुभएको छ ।

प्रमुख सचेतक शाहीले नेपाली किसानहरुलाई आत्महत्या हुनबाट जोगाउन भन्दै उनीहरुलाई तत्काल हत्कडी लगाएर जेल चलान गर्न कृषिमन्त्री ज्वालाकुमारी साहसँग माग गर्नुभएको हो ।

‘‘नेपाल सरकारले बैंक तथा वित्तिय संस्थासम्बन्धी हस्तक्षेपकारी नियमन गर्नुपर्‍यो । जुन अनियन्त्रित ब्याजदर छ । त्यसलाई रोक्नुप¥यो जीवन सहजताका लागि अनेकौं कोसिस गर्दागर्दै विषय परिस्थिति, कमजोर आर्थिक नीति, नियम, भ्रष्टाचारयुक्त राज्य संयन्त्र, व्यापार व्यवसायमा कालोबजारीकरणको कारण मान्छेहरु आज आत्मदाह र आत्महत्याको बाटो रोज्न बाध्य छन । आत्मदाह र आत्महत्या गर्न बाध्य पार्नुमा राज्य प्रणालीको हात छ ।,’’ सांसद शाहीले भन्नुभयो, ‘‘यसलाई तत्काल परिमार्जन गर्न आवश्यक छ । होइन भने अझै प्रेमप्रसाद आचार्यहरु उत्पन्न हुनेछन । यहाँ हजारौंले झुण्डिएर मनुपर्ने अवस्था आउन सक्छ । मैले हिजो एउटा किसान चितवनमा रोइरहेको देखेको छु । हजारौं किसानहरु आज सडकमा आएका छन । तर हामी रोष्टममा बसेर खोक्रा भाषण ठोकिरहेका छौं । हाम्रो नीति कहाँ छ ? माननीय कृषिमन्त्रीलाई आग्रह गर्दछु–भारतबाट आउने तरकारी बन्द गर्नुस् । बारीमा जाउँ भविष्य छैन । खाडी जाउँ उमेर छैन । आज नेपाली किसानले आत्महत्या गर्न बाध्य भएका छन ।’’

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद शाहीले भारतबाट आयात हुने तरकारीमा प्रतिबन्ध लगाउन पनि सरकारलाई दबाब दिनुभयो । नेपालमा व्यापार नभएर आत्महत्या गर्न बाध्य भएका किसानहरुलाई राहत दिन पनि सरकारले भारतबाट आयात हुने तरकारीमा प्रतिबन्ध गराउनुपर्ने उहाँको तर्क थियो ।

चालू आर्थिक वर्षको ६ महिनामा १० अर्ब ११ करोड २२ लाख रुपियाँको हरियो तरकारी आयात गरिएको उल्लेख गर्दै प्रमुख सचेतक शाहीले नेपालको ठूलो धनराशी यसरी खेर गइरहेको बताउनुभयो । उहाँले एसियामा नै कहलिएका ४४ वटा उद्योग कहाँ गयो भनी सरकारलाई प्रश्न गर्नुभयो ।

‘‘झण्डै अघिल्लो वर्ष १७ अर्ब, ८० लाख ९० हजार र यो वर्षको ६ महिनामा १० अर्ब ११ करोड २२ लाख रुपियाँ हरियो तरकारी आयात गरिएको छ । विदेश पैसा पठाइएको छ । नेपाली किसान बजार मूल्य नपाएर आत्महत्या गरिरहेका छन् । चितवनको यो काठमाडौंको रोष्टमभन्दा १३७ किलोमिटर टाढा छ ।,’’ उहाँले भन्नुभयो, ‘‘तर, आज चितवनमा टमाटरको मूल्य ८ रुपियाँ किलोमा बिक्री हुन्छ । त्यही टमाटर आज हामी काठमाडौंमा ६० रुपियाँ किलोमा खान बाध्य छौं । एक किलो टमाटर बराबर ६५० प्रतिशत महँगो छ । यो संसारको कुन देशमा छ सभामुख महोदय ? तत्काल कृषिमन्त्रीज्यूलाई मेरो अनुरोध छ, आग्रह छ–यी बिचौलियालाई हत्कडी लगाएर थुनियोस् र यिनलाई बन्द गरियोस् । अनिमात्रै नेपाली किसानलाई आत्महत्या गर्न बाध्य बनाउने बाटो बन्द हुन्छ । नेपालका किसानले भारतमा तरकारी बेच्न नपाउने अवस्था छ । त्यसको अन्त्य गरियोस् ।’’

सरकारले चर्को ब्याजदर असुली गरेका कारण साना किसानहरुले आत्महत्या र आत्मदाहको बाटो रोज्नुपरेको उल्लेख गर्दै प्रमुख सचेतक शाहीले यस्तो अवस्था आउन नदिने गरी सरकारले ब्याजदर निर्धारण गर्नुपर्ने पनि बताउनुभयो ।

सांसद शाहीले नेपालका किसानहरुले भारतमा तरकारी बेच्न नसक्ने अवस्था रहेको उल्लेख गर्दै त्यसको पनि अन्त्य गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।