दरमखोला जलविद्युत् निर्माण सुरू

daram kholaबाग्लुङ, वैशाख ४ गते । मध्य बाग्लुङको दरमखोलामा साढे नौ मेगावाटको गलकोट दरमखोला जलविद्युत् आयोजनाको निर्माण सुरु भएको छ । दरमखोला हाइड्रो इनर्जी कम्पनी प्रालिले स्थानीय रिघा मनेवा दरमखोला जलविद्युत् सहकारी संस्था लिमिटेडको सहकार्यमा आयोजना निर्माणको काम सुरु गरेको हो । 

२० वर्ष अगाडि नै निर्माणको चर्चा चलेको उक्त आयोजना २०७६ भित्रै निर्माण सम्पन्न गर्नेगरी ठेक्का प्रक्रिया पूरा गरी भौतिक संरचना निर्माणको काम सुरु गरिएको आयोजनाका इन्जिनियर विकास श्रेष्ठले बताउनुभयो । करिब एक अर्ब ५० करोड रुपियाँ लागत अनुमान गरिएको उक्त आयोजनाबाट ९.६ मेगावाट विद्युत् उत्पादन हुनेछ ।
आयोजना निर्माणका लागि २० वर्ष अगाडि नै द–गोर्खा हाइड्रो पावर कम्पनीले अनुमति पाएको थियो । कम्पनीले काम गर्न नसकेपछि २०६७ सालमा निर्माणको अग्रसरता लिएको रिघा मनेवा दरमखोला जलविद्युत् सहकारी संस्था लिमिटेडबाट काम हुन नसकेपछि दरमखोला हाइड्रो इनर्जी कम्पनी प्रालिले आयोजना निर्माणको जिम्मा लिएको थियो । आयोजना निर्माणका लागि दरमखोला हाइड्रो इनर्जी प्रालिको ८० प्रतिशत सेयर र सहकारीको २० प्रतिशत सेयर रहनेछ ।
सहकारीमार्फत ठूलो रकम सङ्कलन गरेर जलविद्युत् आयोजना निर्माण गर्न केही समया भएकाले सहकारीमै आबद्ध व्यक्तिहरूको अग्रसरतामा कम्पनी स्थापना गरेर आयोजना निर्माणको काम सुरु गरिएको गलकोट नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष डम्बर श्रीसले बताउनुभयो । सहकारीमार्फत धेरै काम भएका थिए, तर ठूलो रकम जुटाउन समस्या हुने भएकाले कम्पनीमार्फत् काम अगाडि बढाएका छौँ, आयोजनामा कम्पनीको ८० प्रतिशत र सहकारीमा आबद्ध एक हजार तीन सय सेयर सदस्यको २० प्रतिशत सेयर रहनेछ श्रीसले भन्नुभयो ।
साढे एक वर्षकै अवधिमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) र विद्युत् विकास विभागसँग निर्माण अनुमति लिएर काम सुरु गरेको आयोजनाका सदस्य डिलबहादुर बुढाथोकीले बताउनुभयो ।
हामीले ऊर्जाको पर्याप्त सम्भावना भएको दरमखोलामा जलविद्युत् आयोजना निर्माण गर्ने ठूलो सपना बोकेर काम गरिरहेका थियौँ, ठूलो रकम सङ्कलन गरेर काम गर्नु आफैँमा चुनौतीपूर्ण रहेकाले स्थानीय स्तरमै सहकारी, इन्भेस्टमेन्ट कम्पनी स्थापना गरेर लगानी जुटाइरहेका छौँ, बुढाथोकीले भन्नुभयो ।
उहाँका अनुसार जलविद्युत् आयोजनाको प्रभावित क्षेत्र बाग्लुङका साविक गाविसहरू मल्म, रिघा, काँडेवास, पाण्डवखानी, गुल्मीका वामीटक्सार र अर्लाङकोटमा इन्भेस्टमेन्ट कम्पनी स्थापना गरी ती कम्पनीको सहभागितामा हाइड्रो पावर कम्पनी स्थापना गरिएको छ ।
गलकोट नगरपालिकाको हटियास्थित दरमखोला र गौदी खोलाको सङ्गमस्थलमा बाँध र मल्मको बामियाँमा पावरहाउस निर्माण गर्नेगरी काम सुरु गरिएको छ । मध्यपहाडी लोकमार्गमा नियमित सडक सञ्चालन हुन थालेपछि बढ्दो सहरीकरण, ढुवानीमा सहजता आउने भएकाले समयमै आयोजना सम्पन्न गर्न सकिने आयोजनाले जनाएको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना