पत्रकारिता दिवस भव्य रूपले मनाइने

काठमाडौँ, वैशाख ४ गते । यस वर्षको तेस्रो पत्रकारिता दिवस ‘समृद्धि र सुशासन ः आमसञ्चारको अभियान’ भन्ने मूल नारासहित यही वैशाख २३ देखि २५ सम्म विविध कार्यक्रमका साथ मनाइने भएको छ । विसं १९८५ वैशाख २४ गते गोरखापत्र प्रकाशन सुरु भएको दिनलाई पत्रकारिता दिवस मनाउन थालिएको छ । 

सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाको अध्यक्षतामा गठन भएको तेस्रो राष्ट्रिय पत्रकारिता दिवस–२०७५ मूल समारोह समितिको दोस्रो बैठकले २०७५ वैशाख २३ देखि २५ सम्म राष्ट्रिय पत्रकारिता दिवसलाई भव्य रूपमा मनाउने निर्णय गरेको हो ।
समितिको बैठकले ‘समृद्धि र सुशासन ः आम सञ्चारको अभियान’ भन्ने नारा तय गरेको जानकारी मन्त्रालयले दिएको छ । समितिको निर्णयअनुसार वैशाख २३ गते ‘छापा माध्यमदेखि डिजिटल मिडियासम्म’ विषयमा गोष्ठी आयोजना गरिने, वैशाख २४ गते राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मान पुरस्कार प्रदान गरिने कार्यक्रम तय भएको छ ।
सोही दिन आआफ्नो प्रकाशनमा विशेष सम्पादकीय, लेख, विशेषाङ्क समावेश गर्ने, प्रसारण संस्थाहरूले पत्रकारिता सम्बन्धमा अन्तरक्रिया र अन्तर्वार्ताहरू प्रसारण गर्ने तथा तीन दिन सबै सञ्चारगृहले दीपावली गर्ने निर्णय भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र ढकालका अनुसार २०७५ वैशाख महिनाभर सबै सञ्चारगृहले आआफ्नो प्रकाशन र प्रसारणमा यस वर्ष तय गरिएको नारालाई प्राथमिकताका साथ प्रकाशन र प्रसारण गरिने भएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds